संविधान दिवस : फोरम विभाजित, राजपाको विरोध


३ आश्विन २०७५, बुधबार
Upendra Yadav and Mahanta Thakur

काठमाडौं, ३ असोज । असोज ३ मा संविधान दिवस मनाउने कि कालो दिवस भन्ने विषय तराई मधेसमा यतिबेला चर्चामा छ। मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रूपमा मनाउने घोषणा गरेको छ । मधेसबाट पहाड उक्लिन लागेको अर्को दल संघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ता त्यस विषयमा विभाजित देखिएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

फोरमको प्रदेश २ कार्यसमितिले बन्दुकको बलमा जबरजस्ती संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा मनाउने औपचारिक निर्णय नै सार्वजनिक गरिसकेको छ । फोरमकै नेतृत्वमा रहेको प्रदेश २ सरकारले भने पार्टीको उक्त निर्णय कार्यान्वयन गर्न नसकिने प्रतिक्रिया दिएको छ।

यसैबीच प्रदेश पार्टीले घोषणा गरेको कालो दिन मनाउने निर्णयविरुद्ध सोमबार केन्द्रीय कार्यालयले अर्को विज्ञप्ति जारी गरेको छ । संघीय समाजवादी फोरमका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधन गर्न सरकार सहमत भइसकेको वर्तमान अवस्थामा पार्टीले कालो दिवस मनाउने कार्यक्रममा सहभागी हुन पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यस्ता खाले कार्यक्रममा सहभागी नहुने र यस सम्बन्धमा अन्य कुनै भ्रममा नरहन समेत पार्टी आग्रह गर्दछ।’

यसअघि आइतबार पार्टीकी उपाध्यक्ष एवं प्रदेश अध्यक्ष रेणु यादवले विज्ञप्ति जारी गर्दै प्रदेशभित्रका पार्टीसम्बद्ध सम्पूर्ण जनप्रतिनिधिलाई संविधान दिवसका अवसरमा आयोजना हुने कुनै कार्यक्रममा सहभागी नहुन आग्रह गरेकी थिइन् ।

‘२०७२ असोज ३ गते तत्कालीन सरकारले बन्दुकको दम्भमा जबरजस्ती संविधान जारी गरेको घटना शोषित, उत्पीडित एवं विभेदमा परेका जनताले बिर्सेका छैनन्,’ यादवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अधिकार प्राप्तिका लागि भएका आन्दोलनमा अबोध बालकदेखि वृद्धसम्मले दमनका क्रममा ज्यानकै बलिदानी दिएकाले कदापि बिर्सन सकिन्न । बलपूर्वक संविधान लागू गरिएको दिन असोज ३ लाई कालो दिनकै रूपमा मनाउने प्रदेश कार्यसम्पादन समितिको निर्णय छ।’

संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को कार्यसम्पादन समितिको बैठकले संविधान दिवसका दिन पार्टी कार्यकर्ताले हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानमा कालो झन्डा झुन्ड्याउने र साँझ सात बजेदेखि १५ मिनेटसम्म बत्ती निभाउने निर्णय गरेको छ । साथै प्रदेशभित्रका पार्टीनिकट सम्पूर्ण जनप्रतिनिधिलाई संविधान दिवस मनाउने कुनै कार्यक्रममा भाग नलिन पनि सचेत गराइएको छ।

प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेका पार्टी उपाध्यक्ष एवं मुख्यमन्त्री लालबाबु राउतले प्रदेश पार्टीले संविधान दिवसको विरोधसम्बन्धी गरेको निर्णयबारे आपूmलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘पार्टीको प्रदेश कार्यसमितिले संविधान दिवसबारे के निर्णय गरेको मलाई थाहा भएन । केन्द्रीय कार्यालयबाट जारी हुने निर्देशनको कार्यान्वयन गर्नेछु,’ उनले भने । अहिलेसम्म असोज ३ गते कुनै पनि विरोधका कार्यक्रम गर्न पार्टीबाट आपूmलाई निर्देशन नआएको उनले जिकिर गरे।

प्रदेश पार्टीले असोज ३ गते कालो दिन मनाउने निर्णय सार्वजनिक गरेको दोस्रो दिन पार्टीको केन्द्रीय कार्यालयले त्यसविपरीत सन्देश दिने विज्ञप्ति जारी गरे पनि पार्टी अध्यक्ष उपेन्द्र यादव भने अझै मौन छन् । सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरू संविधानको विपक्षमा भए पनि कालो दिन मनाउने समय नरहेको बताए । ‘संविधान जारी भइरहँदा हामीले विरोध गर्यौं ।

त्यसपश्चात् पनि निरन्तर संविधानको विपक्षमै उभिरह्यौं,’ उनले नागरिकसँग भने, ‘आजको दिन फेरिएको छ । फोरम सदनमा पनि छ, सरकारमा पनि ।’ यस्तो अवस्थामा संविधान संशोधनका लागि निरन्तर दबाब दिइरहने हुँदा कालो दिन मनाउनुको कुनै तुक नरहेको उनको कथन थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७