दशैंलाई ४० अर्ब नयाँ नोट, यी बैंकले दिनेछन् नयाँ नोट


३ आश्विन २०७५, बुधबार
note for dashain

काठमाडौं, ३ असोज । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दशैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ ।

note for dashain

मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए । पोहोर दशैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो ।

उनका अनुसार अब २–३ दिनभित्र हुने छलफलले सटही सुरु हुने दिन र तौरतरिका टुंगो लगाउने छ । बैंकले दसैंलाई हेरेर नयाँ नोट छपाइसकेको छ । साना र ठूला दरका नयाँ नोट बजारमा जानेछन् ।

राष्ट्र बैंकले विगतमा जस्तै उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाउने छ । अघिल्लो बर्ष केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने व्यवस्था गरेको थियो।

यसपालि पनि मुद्रा व्यवस्थापन विभागबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँ हाराहारी नोट साट्न पाइने व्यवस्था गर्न लागिएको हो । अघिल्लो वर्ष नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको थियो।

सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न सकून् भनेर राष्ट्र बैंकको थापाथलीबाहेक अन्य तीन बैंकका शाखाबाट पनि साट्न पाउने व्यवस्था मिलाएको थियो । त्यस्तो व्यवस्थाले भीड कम भएको राष्ट्र बैंकको भनाइ छ।

अघिल्लो वर्ष नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट र कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको थियो। ती ठाउँबाट प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७