सशस्त्रभित्र भ्रष्टाचारमा पारंगतहरु मालदार ठाउँमा सरुवा


५ आश्विन २०७५, शुक्रबार
APF

काठमाडौं, ५ असोज । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले मालदार ठाउँमा विगतमा भ्रष्टाचारमा पांरंगतहरुलाई ल्याएका छन् । पदबहाली गरेकै भोलिपल्ट लेखाशाखाको प्रमुखमा इन्स्पेक्टर गणेशबहादुर मल्ललाई ल्याएका उनले सशस्त्रका मालदार शाखाहरुमा आफ्ना निकट डीएसपीहरुको सरुवा गरेका छन् ।

लामो समय कर्मचारी प्रशासन शाखामा बसेका डीएसपी होम ज्ञवालीलाई भण्डार शाखाको प्रमुखमा लगिएको छ । उनी खनालको गृहजिल्ला गुल्मीकै हुन् । डीएसपी पूर्ण साउदलाई प्रंबन्धबाट प्रशासनमा सरुवा गरिएको छ । उनलाई बजेटमा लाने तयारी छ । साउद विगत लामो समयदेखि प्रबन्धमा कार्यरत डीएसपी हुन् । सशस्त्रका खरिदमा उनी ठेकेदारसँग सेटिङ गर्ने मामलामा निपूर्ण मानिन्छन् ।
कल्याण शाखाका डीएसपी सुुरेश खतिवडालाई बर्दघाटमा सरुवा गरी आफ्ना निकट इन्स्पेक्टरलाई जिम्मा दिएका छन् । भण्डारका डीएसपी राजेन्द्र श्रेष्ठलाई लामापाटन पोखरामा लखेटेका छन् । किड्नीका बिरामी श्रेष्ठलाई मानवीय भावनाका दृष्टिले पनि काठमाडौंमा राखिनुपर्नेमा खेदेका छन् । बजेटका डीएसपी दयाराम शर्मालाई एकेडेमीमा धपाएका छन् । बजेटमा तत्काल कसैलाई नपठाए पनि केही दिनमै साउदलाई लाने तयारीमा खनाल छन् । प्रबन्धको प्रमुखमा एसपी दीपेन्द्र शाहलाई ल्याएका छन् । सि.स. २ नम्बर टोलीका एसपी हुन् शाह । शाह आइजीपी खनालका अति निकट मानिन्छन् ।
यसैगरी, बाहिनीपतिहरुलाई अंकुश लगाउन आइजीपी खनालले आन्तरिक लेखापरीक्षणमा सशस्त्र प्रहरी निरीक्षक खटाएका छन् । लेखाअधिकृत हुँदाहुँदै हरेक डीआइजी बस्ने कार्यालयहरुमा अंकुश लगाउन आन्तरिक लेखापरीक्षणमा पठाइएको अर्थ लगाइएको छ । जसका कारण सशस्त्रका डीआइजीहरु पनि उनीसँग रुष्ट भएका छन् । लेखाअधिकृत गणेशबहादुर मल्लको डिजाइनमा प्रबन्ध, भण्डार र डीआइजी कार्यालयमा लेखाको छुट्टै कर्मचारी खटाउने काम आइजीपी खनालले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७