नेपाल म्यानमारसँग ११–१ गोलले पराजित


५ आश्विन २०७५, शुक्रबार
nepal u16 football team

काठमाडौँ, ५ असोज  । म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ ।

समूह चरणको दोस्रो खेलअन्तर्गत आज म्यानमारसँग भएको खेलमा नेपाल ११–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा १० गोल खाएको थियो । दोस्रो हाफमा भने केही सम्हालिएर खेलेको नेपालले एक मात्र गोल खायो । खेलको शुरुआती छ मिनेटमा तीन गोल गर्दै म्यानमारले नेपाललाई पहिलो हाफमा निकै दबाबमा राख्यो । ७४औँ मिनेटमा नेपालका लागि निकिता थोकरले एक गोल गर्न सफल भइन् ।

म्यानमारका लागि सुई और माङले एक्लैले पाँच गोल गरिन् । यस्तै म्यात नाउ हिनले ह्याट्रिक पूरा गर्न सफल भइन् । हिन मार तोई, ह्वाई पो इयान र पोन्ट पोन्टले एक÷एक गोल गरे ।

समूह ‘इ’बाट फिलिपिन्स र म्यानमारले समान ६ अङ्क जोड्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् ।

आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणका लागि यसअघि नै छनोट भइसकेका छन् ।

समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । आइतबारको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७