अमेरिकामा नेपालीमाथि गोली प्रहार, १ को मृत्यु, १ घाइते


६ आश्विन २०७५, शनिबार

अमेरिका,६ असोज । अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का एक नेपाली घाइते छन् ।

goli chalaiyo
फाइल तस्बिर

एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्यरत गिरीमाथि त्यही कार्यरत स्नोयिआ मोस्लेले गोली प्रहार गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गोली लागेर ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन् । सोही घटनामा सण्डे अगुडा र हेलेन रेइसको भने मृत्यु भएको छ । हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले बिहीबार बिहान ९ बजे गोली प्रहार गर्दा गिरीको मृत्यु भएको पुष्टि गरेका छन् ।

आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दा तीन महीना अघिदेखि त्यहाँ काम गर्न थालेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पर्वतमा जन्मिएकी वृन्दाको आमा, दुई दाजुभाइ सरोजकृष्ण र सुमन मेरिल्याण्डमा लामो समयदेखि बस्दै आइरहेका छन् ।

अमेरिकाको मूलधारको राजनीतिमा आवद्ध एचवी भण्डारीले ‘मास सुटिङ’ मा नेपाली पर्नु दुःखद् भएको भन्दै कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको जानकारी दिए ।

हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोग गरेर ३ जनाको हत्या गरेको जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७