लघुवित्त परियोजनामा चिनियाँ सहयोग


७ आश्विन २०७५, आईतवार
Nepal China

काठमाडौं, ७ असोज । नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए) नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ ।

Nepal China

स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।

सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि उक्त संस्थाको सहयोगमा कार्यक्रम शुरु गरिएको हो । सिएफपिए नेपालमा काम गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था हो ।

देवचुली नगरपालिका सिएफपिए नेपालको देशीय निर्देशक जाउ, सफा सुनौलो नेपाल संस्थाका सचिव राकेश हमाल र सहकारीका अध्यक्ष मीना सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भइ सो रकम हस्तान्तरण गरिएको हो ।

गिभ टु एसिया नामक अन्तर्राष्ट्रिय दातृ संस्थाको आर्थिक सहयोगमा सञ्चालित सो नेपाली महिला उद्यमशिलता सहयोग कार्यक्रमबाट देवचुली नगरपालिकाका विपन्न दलित तथा जनजाति समुदायका करीब ४ सय घरधुरीले प्रत्यक्ष लाभ लिन सक्ने उक्त संस्थाले बताएको छ ।

कार्यक्रमबाट चिनियाँ लघुवित्त नमूना नेपालमा पहिलो प्रयोग हुनेछ भने स्थानीय महिलाको आर्थिक अवस्था सुधार्न कार्यक्रम महत्वपूर्ण हुने सीएफपीए नेपालका प्रमुख जाउले विश्वास व्यक्त गरे ।

चीनको गरिबी निवारणमा २० वर्षदेखि निरन्तर सञ्चालित यस प्रकारको कार्यक्रमले चीनमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ । नेपालमा पनि यसको सफलताको अनुभव प्रयोग गरी कार्यक्रमको तर्जुमा, व्यवस्थापन र कार्यान्वयन गरिएको हो ।

यस कार्यक्रमबाट विपन्न र बैंकबाट कर्जा प्राप्त गर्न नसक्ने महिलाको उद्यमशिलता क्षमता विकास गरी आर्थिक अवस्था सुधार हुनेछ । कार्यक्रमले गरीब तथा विपन्न महिलालाई कर्जा प्रवाह गर्न मात्र नभएर निजी साझेदारीमार्फत समाज विकासको लक्ष्य प्राप्तिका लागि व्यवहारिक ज्ञान, सीप तथा प्रविधि पनि प्रदान गर्ने छ ।

व्यावसायिक तरकारीखेती, पशुपालन, माछापालनलाई प्राथमिकता दिने र यसमा आधारित व्यवसाय, मासु पसल, तरकारी पसल खोल्न मद्दत गर्ने र भविष्यमा आर्थिक रुपले आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७