प्रदर्शनीमा चार लाखको पुस्तक विक्री


७ आश्विन २०७५, आईतवार
DSC 3813

काठमाडौं, ७ असोज । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औं प्राज्ञ सभाका अवसरमा आयोजित पुस्तक प्रदर्शनीमा अहिलेसम्म करीब चार लाखको पुस्तक बिक्री भएको छ ।

DSC 3813
पुस्तक अवलोकन गर्दै प्रदर्शनीका सहभागीहरु

गत भदौ १९ देखि यही असोज १९ गतेसम्म प्रतिष्ठानको परिसरमा सञ्चालन गरिएको उक्त प्रदर्शनीमा प्रतिष्ठानद्वारा विभिन्न समयमा प्रकाशित पुस्तक बिक्री भएको हो ।

प्रदर्शनीमा दर्शन, इतिहास, कथा, निबन्ध, कविता, ज्योतिष, गणित, धार्मिकलगायत विधाका करीब ४ सय प्रकारका पुस्तक समावेश गरिएको छ । प्रतिष्ठानले विभिन्न लेखकका राम्रा कृतिलाई पछिल्लो समयमा अंग्र्रेजीमा अनुवाद गरेर बिक्रीका लागिसमेत राखेको छ ।

नेपाली, संस्कृत, अंग्र्रेजी भाषामा पुराना र नयाँ पुस्तक प्रदर्शनीमा समावेश गरिएका कारण त्यसको अध्ययनमा अभिरुचि राख्ने विभिन्न उमेर समूहका पाठकले आफूलाई चाहिएको विषयवस्तुका पुस्तकबारे जानकारी लिने र खरीद गर्ने गरेको पाइएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका विभिन्न कृति, राष्ट्रकवि माधवप्रसाद घिमिरेका कृति, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका कृति, ‘सार्क मुलुकका महिला लेखिकाको कथा’ले अधिकांश पाठकलाई आकर्षित गरेको पाइएको छ ।

प्रतिष्ठानले प्रकाशनमा ल्याएको बृहद् शब्दकोशमा रहेका शब्द र अर्थलाई अंग्रेजीमा अनुवाद गरिएको प्रज्ञा नेपाली अंग्र्रेजी शब्दकोश समेत बिक्रीका लागि राखिएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिए ।

स्वदेशी तथा विदेशी ख्यातिप्राप्त साहित्यकारका महत्वपूर्ण कृतिलाई अंग्र्रेजी र नेपाली भाषामा अनुवाद गरेर देश विदेशमा प्रवद्र्धन गर्ने नीति प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानले त्यहाँ राखिएका विभिन्न पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७