बालुवा घुस लिने प्रहरी


७ आश्विन २०७५, आईतवार

काठमाडौं, ७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ भदौ ३० मा कोटेश्वर प्रभागका असई गोपाल श्रेष्ठसहित ९ जना प्रहरीलाई पैसा सहित नियन्त्रणमा लिए पनि घुसखोरी रोकिएको छैन ।

आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार घुस रकमसहित कोटेश्वरको मुनिभैरव मन्दिर नजिकै रहेको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको थियो ।

साँखु, मनोहरा, बालुवा ओसापसार गर्नेहरुसँग प्रहरीले दररेट तोकेर घुस लिने गरेका थिए । बालुवा कारोबारी र प्रहरीको सहमति अनुसार घुस लेनदेन हुँदैआएको थियो । तर दशैंको बहानामा प्रहरीले बढी घुस मागेपछि औंलो दिंदा डुँडुलो निल्ने भन्दै बालुवा कारोबारीहरुले अख्तियार गुहारेर घुससहित पक्राउ गराएका थिए ।

घुसप्रकरणमा पक्राउ परेपछि महानगरीय प्रहरी आयुक्त कार्यालयले कोटेश्वर प्रभागका इन्चार्ज राजु लामालाई तानेर भदौ ३१ मै एलिजा गिरीलाई खटायो । इन्चार्जसहित प्रहरीको सेट नै परिवर्तन भयो । इन्चार्जसहितको टोली परिवर्तन भए पनि बालुवा कारोबारीहरुलाई दुःख दिने क्रम रोकिएको छैन ।

बालुवा बोकेर आएका ट्रिपर र मिनीट्रकलाई रोकर ओभरलोड भन्दै प्रभागको टोलीले बालुवा झिकेर राख्ने गरेको छ । र, राति राति बिक्री गर्ने गरेको आरोप प्रहरीमाथि छ । दैनिक दसौं ट्रकबाट यसरी झारिएको बालुवा अर्कैलाई बेचेर प्रहरीले भागशान्ति जयनेपाल गर्न थालेको आरोप छ ।

साँखु लगायतका स्थानबाट ल्याएको बालुवा एक मिनीट्रकको ९ हजार रुपैयाँ भन्दा बढी पर्नजान्छ । तर कोटेश्वर प्रभागबाट ५ हजारमै प्रहरीले बालुवा दिने गरेकाले केही बालुवा डिपोहरु त्यो बालुवा किन्न प्रतिक्षारत हुन थालेका छन् ।

नयाँ इन्चार्ज गिरी आएको ८ दिनमात्र भएको छ । प्रहरीले बालुवा झार्दै बिक्री गर्दैआएको एक ब्यवसायीले नै साँघुलाई बताएका छन् ।

पैसा घुस लिंदा अख्तियार लागेपछि अहिले ओभरलोडको बहाना बनाएर ट्रक रोक्ने र बालुवा भित्र खसाल्न लगाउने र त्यो बालुवा बिक्री गरेको गुनासो ती ब्यवसायीले गरे । यो भ्रष्टाचार हो, यसमा प्रहरीको नेतृत्वको ध्यान जानुपर्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अप्रेशन गरेर ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिए पनि प्रहरीले चेत्न नसकेको बालुवा झार्दै बिक्री गरेपछि देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७