स्वास्थ्य सचिव कि ठेकेदारका बीचौलिया ?


८ आश्विन २०७५, सोमबार
Dr Puspa Chaudhary and bishal pandit 1 1

काठमाडौ, ८ असोज  । महालेखा परीक्षकको कार्यालयले दिएको प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशभरका क्षेत्रीय र जिल्ला अस्पतालका उपकरण मर्मतमा १४ करोड रुपैयाँ भ्रष्टाचार भएकोबारेमा छानबिन सुरु गरेपछि ठेकेदार विशाल पण्डितको योजनाअनुसार स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले ब्यवस्थापन महाशाखाको प्रमुखमा रातारात रमेश अधिकारीलाई तानेर मोहमम्मद दाउदलाई पठाएकी छन् ।

Dr Puspa Chaudhary and bishal pandit 1 1
मन्त्री उपेन्द्र यादव, सचिव डा. पुष्पा चौधरी र ठेकेदार विशाल पण्डित

अख्तियारले उपकरण खरिदमा भएको भ्रष्टाचार छानबिन गरेमा सचिव चौधरी पनि तानिने भएपछि उनले एक महिनाअघि स्वास्थ्य मन्त्री उपेन्द्र यादव दिल्लीमै भएको बेला सरकारको अनुमतिविना नै ठेकेदार पण्डितलाई लिएर उतै पुगेकी थिइन् । सचिवले विदेश जान सरकारको अनुमति लिनुपर्छ । तर उनी विनाअनुमति ठेकेदारलाई लिएर मन्त्री भेट्न दिल्ली गएकी थिइन् ।

अख्तियारले छानबिन अगाडि बढाए आफू पनि डुब्ने भएपछि सचिव चौधरी रातारात ठेकेदार लिएर दिल्ली पुगेकी थिइन् । सचिव चौधरीले मन्त्री यादवसँग पण्डितलाई राखेर प्याकेजमै डिल गराएको स्रोतको दाबी छ । स्रोतका अनुसार पण्डितले बार्षिक १० करोड सहयोग गर्नेगरी डिल गरेका छन् । त्यसबापत ठेकेदार पण्डितले भनेअनुसार महानिर्देशक र निर्देशकदेखि जिल्लाका हाकिम बनाउनुपर्ने छ ।


सचिव चौधरीसँगको सेटिङमा बार्षिक ५० करोड रुपैयाँको उपकरण मर्मतको ठेक्का पण्डितकै दुईवटा संस्था हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन टे«ड इन्टरनेशनले ठेक्का पाउँदैआएको छ । त्यसमा बार्षिक १० करोड भन्दा बढी फाइदा पण्डितले लिने गरेका छन् । उपकरण आपूर्तिको अरबौंको ठेक्का पनि उनैले सेटिङमा लिने गरेका छन्, आजको साँघु साप्ताहिकमा समाचार छ । अख्तियारले छानबिन गरेर हस्पिटेक र लाइफलाइन कालोसूचीमा राखेमा देशभित्र कुनै काम पनि गर्न नपाउने र अन्तर्राष्ट्रिय रुपमा पनि उपकरण आयात गर्न बन्देज लाग्ने भएपछि उनले मन्त्री यादवको पार्टीलाई सहयोग गर्न तयार भएको स्रोतको दाबी छ । दिल्ली जानुअघि सचिव हटाउने पक्षमा रहेका मन्त्री यादव अहिले ब्याक भएका छन् ।

दिल्लीमा सचिव चौधरीले फोरमको पार्टी कार्यालय निर्माणका लागि २ करोड सहयोग गर्ने सहमति गरेपछि मन्त्री यादव एकाएक सचिव परिवर्तन गर्नबाट पछि हटेको उनकै पार्टीका एक नेताले बताएका छन् ।
दिल्लीबाट फर्किनासाथ ठेकेदार पण्डितको डिजाइनमा सचिव चौधरीले मोहम्मद दाउदलाई ब्यवस्थापन महाशाखामा सरुवा गरेकी छन् । दाउदलाई २०७५ साउन १ मा मन्त्रालयको समन्वय महाशाखाको प्रमुखमा उनै सचिवले ल्याएकी थिइन् । तर २ महिना नबित्दै उनलाई यसैहप्ता पुनः ब्यवस्थापन महाशाखाको प्रमुखमा लग्नुको कारण उपकरण मर्मतको बजेटमा अख्तियारको छानबिनलाई प्रभावित पार्नका लागि हो भन्ने दाबी मन्त्रालयका कर्मचारीको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७