निर्मला,न्याय र देश !


१० आश्विन २०७५, बुधबार
Nirmala panta 11

कविता

अाेम प्रकाश घिमिरे

यो तिम्रो पनि देश थियो निर्मला !
सत्य यही हो
ती निरीह बुबा आमाले यही देशमा तिमीलाई
जन्माएका थिए
र तिमि सानो छँदै
भनेका थिए यो तिम्रो देश हो छोरी


तिम्रो सर्टको टाँक झर्‍यो भने पनि
यही धर्तीमा भेटिन्छ
तिम्रो केशबाट काट्या झर्‍यो भने पनि
खोज्नु यही देश भित्र भेटिन्छ
तर संयोग भन्नुपर्छ निर्मला
नक्साबाट लिम्पियाधुरा र
देश बाट तिम्रो न्याय सङ्ग सङ्गै
हरायो निर्मला
झर्‍यो सर्टबाट टाँक
खस्यो केशबाट काट्या
खोज्न हिँडे तिमीलाई अर्ती दिने बाबुआमा आफै
तर भेटिएन तिम्रो देशमा तिम्रै लागी न्याय ।

कसले फाल्यो
उखुबारीमा लास ?
कसले लडायो
छेउमै साइकल ?
कसले ढाल्यो
अम्बाको बोट ?
कसले बनायो तिम्रो जीवन
लय नभएको गीत ?
कसले फ्याँकिदियो तिम्रो हात बाट
सुन्दर भविष्य लेख्ने कलम ?
कसले च्यातिदियो उज्यालो देखाउने
तिम्रो पुस्तक ?
कसले मेटिदियो जीवन को सुनौलो सपना ।
कसले ?
कसले ?
यी निरुतरीत प्रश्नै
प्रश्न बोकेर घुमिरहेको
छ तिम्रो आत्मा आज यो देश भित्र ।

निर्मला तिम्रो मृत्यु पछि,
मेरी छिमेकी बहिनी मेरो आवाज देखी
तर्सने भएकी छे
मेरी छोरी स्कुलका सरहरू देख्दै काँप्ने भएकी छे
मेरी बहिनी ले बुद्ध पुरुष हुन
भन्ने थाहा पाएपछि
आफ्नो कोठाको भित्ता बाट
तस्बिर हटाएकी छे ।
यस्पाली तिज मा दिदीले
पुजिनन् शिबलिङ्ग ।
सायद पुरुषत्व देखी आतङ्कित भएर
विचलित भएका हुनुपर्छ नारीहरू ।

निर्मला
तिमि देशको एउटा
धुन नभेटिएको सङ्गीत बन्यौ
लय नभएको गीत बन्यौ
टुङ्गिन नसकेको कविता बन्यौ
कुनै दिन नछुट्ने समाचार भयौ
निर्मला यो देशको
सडकमा तिमि एउटा स्थायी नारा भएकी छ्यौ
तर राज्य चुपचाप छ निर्मला
तिम्रा बा आमा कति महिनाका अनिदो छन्
त्यो मलाइ थाहा छैन ,
तर म देखिरहेको छु बालुवाटार तिम्रो मृत्यु कै दिन देखी निदाइरहेको
तिम्रा बा आमाको भोक कति दिन को छ
त्यो पनि मलाइ थाहा छैन
म देखिरहेको छु सिंहदरबार डिनर मै अलमलिएको ,
मैदानमा हात्ती हराइसक्यो सियो खोजेर बसेको
छ अदालत
चौर भरी नाङ्गो आँखाले देखिरहेका छन्
काँडाहरू
तर खुट्टा के ले घोच्यो ?
अनुत्तरीत छ प्रश्न ?
पर …दुबो तीर
खोजिदैछ अभियुक्त ।

निर्मला तिम्रा बा आमा
न्याय खोज्न सहर आइपुगेका छन्
पिडाले पिल्सिएर थङ्थिलो बनेको मुटु
आशु नओबाएका आँखाहरू
वियोगले बिछ्याएका
करुण यादहरू
बोक्नै नसक्ने यो भारी बोकेर
समयको विवशता पछ्याउँदै
सडकमा उभिएर ,
नारा लगाउदैछ्न हेर ।
निर्मला बा भएर सहनुपर्छ
आमा भएर दुख्नै पर्छ
झन् गरिब भएर
सत्ताको पहुँच बाट टाढा भएर
निरीह आँखा टुलुटुलु हेर्नेले त
बिछट्टै भोग्नुपर्छ
कोलाहल रुनुपर्छ
कहाँ त्यति सजिलो छ र
निर्मला ,
यो अँध्यारो देशमा हास्नलाइ
मैसासुरको देशमा बाच्न लाइ ।

निर्मला अब तिमीले
सपनीमा आएर सुटुक्कै बा लाई
सम्झाउदिनु
बा ,
कुनै दिन
श्रीमान् को अदालत ले
निर्मलाको नियतै बाङ्गो ,
हत्या हैन आत्महत्या हो
भन्ने फैसलाको कागज थमायो भनेपनी
फर्कनु लुरे लुरू घर
हामी जस्ता निरीहहरूले
अदालतलाई गाली गर्नु हुँदैन
हामी पहुँच नहुनेले सरकार सङ्ग
जुध्नु हुँदैन
आज भोलि पर्सि गर्दै तिमीले टेकेको
धर्ती शत्रु हुन्छ
ढुङ्गा ,माटो, वायु तिमि देखी टाढा भाग्छ
राज्यको बैरी भइन्छ बा ,
त्यसैले बा अब मलाइ धेरै नखोज्नु ।
अनि आमालाई पनि सम्झाउनु तिमीले
आमा,
मेरो याद मेटाउन भुलेर पनि बहिनी नजन्माउनु
जानी जानी सडकलाई फेरी अर्को नारा नबोकाउनु ।
हो यही भन्नु ,अब सम्झाउनु तिमीले
यो तिम्रो पनि देश थियो निर्मला ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७