दुई सातामै आठ सय कर्मचारीको सरुवा, सरुवा माग्ने र थमाउनेको भीडले ‘टेन्सन’ मा मन्त्री पण्डित


१८ आश्विन २०७५, बिहीबार
Karmachari

काठमाडौं, १८ असोज । सरकारले दुई साताको अवधिमा आठ सय बढी कर्मचारीहरुको सरुवा गरेको छ ।

Karmachari

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो दुई सातामा प्रशासन, इन्जिनियरिङ र विभिन्न सेवा समूहका गरी आठ सय बढी कर्मचारीहरुको सरुवा गरेको हो । आकर्षक कार्यालयमा रहेकालाई प्रदेश र स्थानीय तहमा पठाइएको छ ।

यस्तै ऊर्जा, सिंचाइ र सहरी विकासअन्तर्गतका इन्जिनियरको पनि स्थानीय तह र प्रदेशमा सरुवा भएको छ । मन्त्रालयले गरेको झण्डै आठ सय सरुवामा वैदेशिक रोजगार विभागका ४३ जना परेका छन् ।

यातायात, नापी, श्रम र भौतिक पूर्वाधारका कर्मचारीलाई भने चलाइएको छैन । तर त्यहाँका कर्मचारीलाई पनि सरुवा गर्ने तयारी थालिएपछि कर्मचारीहरू आफूलाई त्यहीँ राखिदिन भन्दै दौडधुपमा लागेका छन् ।

सरुवा माग्ने र थमौती गराउन खोज्ने कर्मचारीका कारण मन्त्री लालबाबु पण्डित र सचिव दिनेशकुमार थपलियाको कार्यकक्षमा हिजोआज भीड हुने गरेको हो । सरुवा रोक्न र मालदार कार्यालयमा जान मरिहत्ते गर्नेहरूले नेतादेखि मन्त्रीको सोर्सफोर्स लगाउने गरेका छन् ।

अहिले दिनहुँजसो मन्त्रालयमा कर्मचारीको भीड बढिरहेको छ । यो भीड आकर्षक सरकारी कार्यालयमा सरुवा माग्ने र थमौती गर्न चाहने कर्मचारीको हो । केही सरकारी कार्यालय ‘मालदार’ अड्डाका रूपमा चिनिन्छन् ।

जसमा अतिरिक्त कमाइ गर्न खोज्नेहरुको आँखा पर्ने गरेको देखिन्छ । अहिले कोही पूरानै ठाउँमा थमौती गराउन त कोही पूरानो ठाउँबाट अर्को राम्रो ठाउँमा सरुवा मिलाई दिन गनगन गरिरहेको भेटिन्छन् । यसरी थमौती र सरुवा चाहने कर्मचारीहरुले शक्तिकेन्द्र तथा ट्रेड युनियन नेतालाई समेत प्रयोग गरिरहेको जानकार बताउँछन् । ।

वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, यातायात कार्यालय, श्रम कार्यालय, राजस्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय, सुगम र बढी बजेट भएका स्थानीय तह, कम्पनी रजिस्ट्रार कार्यालय, भौैतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालय र केही जिल्ला प्रशासन कार्यालय आकर्षक मानिन्छन् ।

मन्त्री पण्डितले पनि कर्मचारी सरुवा भएपछि थमौती गराउन नेतृत्वबाटै दबाब आउने गरेको स्वीकारे । सरुवा भएको स्थानमा जान छाडेर थमौती गराउन खोज्ने कर्मचारीको प्रवृत्ति गलत भएको उनको भनाइ छ ।

‘कसैको पनि थमौती हँुदैन, जहाँ खटाइएको हो, त्यहीं जानुपर्छ’, मन्त्री पण्डितले भने । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले आफूनिकटका कर्मचारीलाई छानीछानी सरुवा गरिएको आरोप लगाउँदै आएको छ ।

तर मन्त्री पण्डितले निश्चित मापदण्ड अपनाएर सरुवा गरिएकाले कसैलाई काखा र पाखा नगरिएको दाबी गरे । मन्त्रालयले युनियनका उपमहासचिव यज्ञराज अर्याललाई वैदेशिक रोजगार विभागबाट अन्यत्र सरुवा गरेपछि सिङ्गो युनियन उनलाई थमौती गराउन लागेको छ ।

युनियनका केन्द्रीय सदस्य पेशल कोइराला, आनन्द विष्टलाई पनि विभागबाट अन्यत्रै सरुवा गरिएको छ । युनियनले नेताहरूलाई उपत्यका बाहिर पठाउन नपाइने भन्दै सरुवा उल्टाउन दबाब दिँदै आएको छ । तर युनियनकै केही नेता भने उपत्यकाबाहिर कमाउ अड्डामा कार्यरत छन् ।

तत्कालीन एमाले निकट संगठन र आधिकारिक ट्रेड युनियनका नेता छत्रबहादुर शाह तथा भीष्म दाहाल, गोविन्द शिवाकोटीलगायतलाई पनि वैदेशिक रोजगार विभागबाट अन्यत्र सरुवा गरिएको छ । उनीहरूको सरुवा उल्ट्याउन तत्कालीन एमालेसम्बद्ध संगठनका सदस्य र पार्टीका नेतामार्फत मन्त्री र सचिवलाई दबाब परेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७