६ महिनाभित्रै भैरहवा विमानस्थलबाट उडान


१८ आश्विन २०७५, बिहीबार
Gautam Buddha International Airport 4

काठमाडौं, १८ असोज । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे) बाट अबको ६ महिनाभित्र विमान उड्ने भएको छ ।

Gautam Buddha International Airport 4

सन् २०१९ को १६ जुलाईअघि नै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको रनवेको अहिले कालोपत्र गर्ने काम भइरहेको छ । करीब चार महिनाभित्र कालोपत्र सकेपछि नयाँ रनवेबाट विमान उडाउन सकिने आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चाप न्यूनीकरणका लागि केही हदसम्म यो विमानस्थलले सहयोग पुग्ने अपेक्षा गरिएको छ । गौतमबुद्ध विमानस्थलको हाल भौतिकतर्फ ५५ प्रतिशत प्रगति भएको उक्त आयोजना हेर्ने क्यानका निर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

धावनमार्गको काम ६ महिनामा सकिए पनि विमानस्थललाई पूर्णरुपमा सञ्चालनका लागि भने झण्डै एक वर्ष लाग्ने छ । धावनमार्ग बनेपछि महत्वपूर्ण पाटो ‘कम्युनिकेसन नेभिगेसन’ उपकरण जडानको कामलाई तीव्रता दिइनेछ । सो कार्यका लागि अहिले बोलपत्र आह्वान भइसकेको छ ।

‘६ महिनाभित्र धावनमार्गमा विमान उडाउन सकिनेछ, अरु महत्वपूर्ण सञ्चार प्रणाली जडान र भवनको भित्री कामका लागि थप समय लाग्न सक्छ, त्यसैले सिभिल निर्माणसहित सबै प्राविधिक पक्षको काम सकेपछि सन् २०१९ भित्र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउछौं’, निर्देशक अधिकारीले भने । विमानस्थलको टर्मिनल भवनको छानो हाल्ने बाँकी काम दुई महिनाभित्र सकिने छ ।

विमानस्थल परिसरमै एक अर्ब लागतको कार्गो भवन निर्माण गरिनेछ, त्यसका लागि प्रक्रिया अघि बढाइएको क्यानले जनाएको छ । आयोजनाका लागि करीब ५०० बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । अहिलेसम्म अधिग्रहण गर्न १० अर्ब खर्च भइसकेको छ ।

बाँकी अधिग्रहणका लागि ११ अर्ब चाहिने अधिकारीले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध विमानस्थलको ६ महिनाभित्रै नयाँ धावनमार्गबाट उडान शुरु गर्ने तथा सन् २०१९ सम्ममा त्यहाँबाट अन्य उडान गरिने बताए ।

उक्त आयोजनासम्बन्धी हालैको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई जानकारी गराउदै मन्त्री अधिकारीले भने, ‘भैरहवा विमानस्थलको सबै कामलाई सँगसँगै अघि बढाएका छौँ, ६ महिनामा अन्तर्राष्ट्रिय रनवेबाट नै विमान उडाउन सक्र्छौं आपत् पर्दा त्यहा विमान लैजान सक्छौँ ।’

भैरहवा विनमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालनमा आउनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ७० लाख यात्रु क्षमता रहेको छ ।

विमानस्थल निर्माणका लागि २३ अर्ब मुआब्जा वितरणमा खर्चनुपर्नेछ । विमानस्थलको पूर्वाधारका लागि मात्रै लागि करीब आठ अर्ब लाग्ने जनाइएको छ । धावनमार्ग जम्मा तीन हजार मिटर लामो र ६० मिटर चौडाइको हुनेछ ।

बहुप्रतिक्षित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेमा ६ करोड यात्रु क्षमता धान्नेछ ।
क्यानका महानिर्देशक सञ्जीव गौतमले विमानस्थल निर्माणको काम प्रभावकारीरुपमा अघि बढेको जानकारी दिँदै अबको ६ महिनामा अन्तर्राष्ट्रिय विमानस्थल चलाउँछौँ भनेर अन्तर्राष्ट्रिय रुपमा जानकारी गराइने उल्लेख गरे ।

‘गौतमबुद्धको काम रफ्तारमा भौतिक तथा प्राविधिक सँगसँगै अघि बढेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय जगतमा जानकारी गराउनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्न चाहेमा पनि तीनदेखि ६ महिनाअघि नै उनीहरुलाई खबर गर्नुपर्ने भएकाले त्यसैअनुरुपको तयारी गरेका छौं’, उनले भने ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन महत्वपूर्ण पूर्वाधारका रुपमा पनि काठमाडौँपछि भैरहवा विमानस्थललाई लिइएको छ ।

एक वर्षभित्र भैरहवा सञ्चलानमा आउने र हाल २२ घण्टा सञ्चालनमा रहेको त्रिभुवन विमानस्थललाई निकट भविष्यमै २४ घण्टा सञ्चालन अवधि पुर्‍याइनेछ । यसैबीच राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही असोज १५ गतेको बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको एक वर्षभित्रै सम्पन्न गर्ने गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७