एमालेको महाधिवेशनलाई फर्केर हेर्दा

जनस्वतन्त्रता, सुख, समृद्धि र प्रजातान्त्रिक व्यवस्था परिवर्तनका लागि नेपालमा समय–समयमा ठूल्ठूला आन्दोलनहरु भए । नेताले अगुवाइ गरे, कार्यकर्ता पछाडि लागे । कति आन्दोलनहरु सफल भए कति असफल । तर, देश आफ्नै गतिमा अगाडि बढि नै रह्यो ।

पार्टीका महाधिवेशनहरु धेरै भए । कुनै नेताले कसैले हारे तर, पार्टी चलि नै रह्यो । यी सबै विषयसँग नेताहरुको नाम विभिन्न कारणले जोडियो । केपी ओलीलाई काम नगर्ने अल्छी नेता मात्र होइन निर्वाचन हारेर घमण्ड पनि गर्न नछाड्ने नेता भन्दै आलोचना गरियो ।

राजनीतिमा शायद केपी ओली माधव नेपाल र झलनाथ खनाल भन्दा सिनियर नै मानिन्छन् । तर, मेरो बुझाई तथा हेराइमा भने यी तीन नेता बराबरी लाइनमा छन् । तर, पद प्राप्तीमा यी तीन जनलाई हेर्दा केपी ओली नै पछाडि छन् ।

आजभोलिको अध्यक्ष जतिकै पावरफुल महासचिव भएर माधव नेपालले १५ बर्ष पार्टीको नेतृत्वमा गरे । पटक–पटक पार्टी प्रमुखको भूमिकामा झलनाथ खनालले पनि लामै समय बिताए । पार्टीको प्रमुख कार्यकारी बन्ने पालो उनीहरुपछि यसरी आएको हो केपी ओलीलाई । म केपी ओलीको अन्धभक्त होइन ।

कार्यक्रममा धेरै पटक आमने–सामने भइयो होला । तर, यो पार्टी जीवनमा दुई पटक उनको घरमा पुगेको छु बधाई दिन । यसो त झलनाथ खनालकोमा पनि पुगेको छु दुई पटक बधाई दिन नै । बरु अलिक धेरैपल्ट गएँ होला माधव नेपालको घरमा । तर, प्रसङ्ग खै के के थिए ।

पार्टीको सातौ महाधिवेशनमा नेतृत्वको बारेमा खासै चासो रहेन मलाई । किनभने मेरो सहभागिता पहिलो थियो । दोस्रो पटक अर्थात आठौं महाधिवेशनमा झलनाथ खनाल नै अध्यक्ष हुन् भन्ने मान्यता थियो । तर, मेरा आफ्नै साथीहरुको ब्यबहारका कारण मेरो मन उनी नहुन् भन्ने अवस्थामा पुग्योे ।

त्यो बेला अहिले कार्यबाहक महासचिव भएको समयमा त साथीहरुको यस्तो पेलाहा प्रवृत्ति छ भने साँच्चै जितेर अध्यक्ष नै भए यिनीहरुले के गर्छन् होला भन्ने आशंका मनमा पैदा भयो । सन्दर्भ यस्तो थियो । महाधिवेशनस्थलमा टहलबहादुर खड्काले जिल्ला कमिटीको निर्णय भनेर महाधिवेशन मुल कमिटीलाई एउटा कागज बुझाउनु भएछ । जुन ठूलो चर्चाको विषय बन्यो त्यसबेला ।

जिल्ला कमिटीका अरु पनि धेरै थियौं त्यहाँ । तर, मसँग मात्र होइन अरु पनि धेरैसँग सरसल्लाह भएको रहेन छ । केहि साथीहरुले मलाई यसबारेमा सोध्नु भयो । के यहाँ गाइँगुइँ चलेको विषयमा तपाईलाई केहि थाहा छ ? कुरा भएको थियो जिल्ला कमिटीका हामीलाई त थाहा नै थिएन त । साथीहरुले यसो भनेपछि मैले जिल्ला कमिटीको सचिव टहल दाइलाई सोधे, ‘दाइ तपाईले यहाँ जे बुझाउनु भयो यो विषयमा जिल्ला कमिटीमा छलफल कहिले भयो र हामीले निर्णय कहिले गर्‍यौं । के हो कुरा बुझिएन नि ?’

टहल दाइले भन्नु भयो, ‘त्यो क्या त सभागृहमा कार्यक्रम भएको थियो नि । हो त्यहि कार्यक्रमको निर्णय हो मैले बुझाएको सुझाव ।’ म फेरि छक्क परे । त्यो त पेशागत जिल्ला कमिटी मातहतको स्थानीय निकाय एउटा इलाकाले महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि चलाएको सुझाव संकलनको कार्यक्रम थियो ।

त्यसको निष्कर्ष त स्थानीय निकाय इलाकाको सुझाव पो हुने होला त । त्यो नै जिल्लाको कार्यक्रम भनेर भनेको सुनेपछि म छक्क परें । मैले भने, ‘दाइ अर्काले गरेको कुरालाई जिल्लाको हो भन्न कसरी सकेको । बरु एउटा कार्यक्रम आफैले राखेको भए हुँदैनथ्यो ?’ मैले यसो भनेपछि उहा“ पनि बोल्नु भएन र मसँग टाढा–टाढा हुन थाल्नु भयो ।

महाधिवेशनमा दस्तावेजमाथि छलफलको समय थियो । हामी आ–आफ्नै हिसावले छलफलमा सहभागी भयौं समूह–समूहमा । एउटै जिल्ला कमिटीबाट गएका बुद्धिजीवि भनिएका हामीबीच कुनै समन्वय भएन दस्तावेज छलफलका क्रममा ।

तर, अब नेतृत्वको छनौट गर्नु पर्ने बेला आएछ । हामी उपत्यकाका सबै प्रतिनिधिहरु एउटै समूहमा परेका थियौं । छलफल शुरु भयो । केदार सञ्जेल जो मेरो जिल्ला कमिटीमा उप–सचिव हुनुहुन्थ्यो । उहाँले अबको नेतृत्व कस्तो बनाउने भन्दै विषय शुरु गर्नु भयो ।

१५-१५ बर्षसम्म माधव नेपालले पार्टी प्रमुख बनेर चलाउनु भयो आज पार्टी कहाँ पुग्यो हामीले देखिरहेका छौ । थोरै समय पार्टीको कार्यबाहक महासचिव बन्नु भएका झलनाथ खनालको समयमा पार्टीले कति विकास गरेको छ । पार्टी कति स्फूर्ति र उर्जाका साथ अगाडि बढेको छ । आज पार्टी कार्यकर्तामा पनि नयाँ उर्जा आएको छ । हामीले महसुस गरिरहेका छौ ।

यसर्थ अबको ५ बर्षे नेतृत्व एक उर्जावान नेतालाई नै पूरा गर्न दिनु पर्दछ भन्ने बुद्धिजीवि जिल्ला कमिटीको ठहर छ । पेशागत बुद्धिजीवि जिल्ला कमिटीको निर्णय छ अबको पार्टी अध्यक्ष झलनाथ खनाललाई बनाउनु पर्छ । फेरि निर्णय गरेकै कुरा आयो । होइन यो निर्णय चाँही कहिले, कहा“, को–को बसेर गर्छन् । म छक्क परे ।

अबको ५ बर्ष नेकपा एमाले कसरी चल्ने कस्ता–कस्ता योजना बनाउने कस्तो नीति अख्तियार गर्ने भनेर जतिखेर काम देखाउन पर्ने थियो त्यो बेलामा सबै चुपचाप हुने । कसैलाई कोही नचाहिने । अनि आज चाँही केको छलफल गर्नुपर्ने । मैले बुझ्न सकिनँ । तर, केदार सञ्जेल एकोहोरो भनिरहनु भएको थियो–महासचिव भईरहेको पार्टीको नेताले अध्यक्ष हुन्छु भन्दा के नराम्रो हो र ? यो त राम्रै हो । हामीले झलनाथ खनाललाई अध्यक्ष पदमा जिताउनु पर्छ ।

कमिटीका सबै बैठकमा त म पनि छु तर, कहिल्यै कतै कुनै बैठकमा छलफलमै नआएको विषय कसरी निर्णय भएछ जिल्ला कमिटीमा यो कुरा बुझ्न नसकेपछि मैले कुरा राखिरहनु भएका केदार सञ्जेललाई भने, ‘केदारजी झलनाथ खनाललाई अध्यक्ष पदमा जिताउनु पर्छ भनेर त जिल्लाको कुनै बैठकमा छलफल नै भएको थिएन । अनि कसरी निर्णय गरेका छौे्र भनेको हौं । यो बिचार तपाईको ब्यक्तिगत हो मेरो राय यस्तो छ भन्नुस न भइहाल्छ नि ।

होइन जिल्ला कमिटीको निर्णय भनेर केहि बुंदा कोरिएको एउटा कागज कता बुझाइएको छ रे । जिल्ला कमिटीको सदस्य म, मैले नै थाहा पाएको छैन । बैठकमा कहिल्यै कतै छलफल नै नभएको कुरा कसरी मेरो पनि सहमतिको विषय हो भनेर प्रस्तुत गर्नु भयो हौ तपाईहरुले । यो कस्तो परिपाटी हो । यहि हो कमिटीमा प्राप्त उर्जा ?’

मैले थपे, ‘यहि हो पार्टी सञ्चालनको नयाँ स्फूर्तिपन । बुझिएन हौं ।’ यसैले होला म आठौं महाधिवेशनको बेला म अब यो ठाउँमा यी साथीभाइहरु भन्दा कम हुनु हुँदैन भन्ने इगो लिएर म अबको अध्यक्ष केपी ओली हुनुपर्छ भन्ने अभियानमा लागे ।

लामो समय लगाएर पार्टीको आठौ महाधिवेशन बुटवलमा सम्पन्न भयो । केपी ओलीले चुनाव हारे । झलनाथ खनालले चुनाव जितेर पार्टीको अध्यक्ष भए । तर, निर्वाचन निष्पक्ष भएन । बक्सा साटियो । धाँधली भयो भन्ने कुरा चल्यो । बेलैमा महाधिवेशनस्थल छाडेर हिंडेको मलाई यी सबै कुराले खासै अर्थ राखेन ।

तर, पछि कमरेड काँशीनाथ अधिकारीमाथि भएको ज्यादती र पार्टीको निर्णय हेर्दा चाँही मैले सुनेको कुरा ठिकै हो रहेछ की भन्ने भयो । जे होस महाधिवेशन सकियो । पार्टीले नया नेतृत्व पायो । अब युद्धस्तरमा पार्टी अगाडि बढने भयो भन्ने खुशी नै लाग्यो । तर, पार्टीको कार्यकर्ता भएर बुटवल गएको म केपी ओलीको कार्यकर्ता भएर काठमाडौं फर्के ।

काठमाडौं फर्केर आएपछि काम गर्न केहि समय असजिलो महसुस भयो । तर काममा निरन्तरता हुनुपर्छ भन्ने मान्यताले मलाई हिर्काइ रह्यो । चलायमान जीन्दगीका लागि काम नै प्रमुख कुरा हो भन्ने मलाई लाग्यो । जसलाई कुनै सम्झौता र शर्तको विषय बनाइनु हुन्न भन्ने पनि लाग्यो । काम गर्नेलाई हेप्न गाह्रै हुन्छ भन्ने रह्यो ।

‘नबिराउनु नडराउनु’ जे हुन्छ आफ्नो काम लुरुलुरु गर्नु तलाई कसैले केहि गर्न सक्दैन । त सँधै अगाडि नै हुन्छस् मलाई मेरी आमाले यस्तै–यस्तै कुराहरु सिकाउनु भएको थियो । झुटो नबोल्नु । सत्य कुरा गर्न कहिल्यै कतै नडराउनु । लागेको कुरा जे हुन्छ स्पष्टसँग भन्नु । बुबाले भन्नु हुन्थ्यो । यसर्थ मैले मेरो दिनचर्यामा कुनै कमी आउन दिइनँ ।

लागेका कुरा स्पष्टसँग राख्ने । समयमा आउने आफ्नो काम सम्पन्न गर्ने अनि निस्कने पार्टीको आठौं महाधिवेशनबाट फर्केपछि पनि मेरो नियमित कामको बहाबमा कुनै परिवर्तन आएन पार्टी २÷३ महिनासम्म खास खास साथीभाइहरुसँग नबोली नबोली भए पनि काममा निरन्तरता रहि नै रह्यो ।

यसरी नै वित्न थाल्यो पेशागत जिल्ला कमिटीमा मेरो दिनचर्या । २-३ महिनादेखि नबोली बसेका साथीहरुलाई पनि नसकिने भो भन्ने भएछ क्यार । साथीहरु विस्तारै–विस्तारै कुरा गर्न आउन थाल्नु भयो । कराउन पनि कराउँछ आफ्ना कुरा पनि स्पष्ट राख्छ काम पनि गर्छ । मैले आफ्नाे परिचय यसरी बनाएको रहेछु । पछि थाहा भयो ।

आठौं महाधिवेशनपछि पार्टीका तल्ला तहसम्म गुटको चरम विवाद थियो । समानान्तर जस्तो ढङ्गबाट कमिटीहरु सञ्चालन हुने क्रम चल्न थाल्यो । काठमाडौं जिल्ला कमिटी पनि यसबाट अछुतो थिएन । एउटाले कार्यक्रम राख्यो नाचघरमा प्रमुख अतिथी झलनाथ खनाल । अर्कोले कार्यक्रम राख्यो डिल्लीबजार देवकोटा साँस्कृतिक सदनमा प्रमुख अतिथी माधव नेपाल ।

नाचघरमा गए अध्यक्ष झलनाथ । भाषण गरे अब पार्टी हिजोको तालमा चल्दैन गल्ती गर्नेहरुलाई, विधान विपरीत कार्य गर्नेहरुलाई कार्बाही गरिन्छ र पार्टीलाई मजबुद बनाउँदै अगाडि बढिन्छ । परर ताली बज्यो रे नाचघर नै जुरुक्कै पारौला जस्तो गरेर । यो सुनेपछि मैले भने, ‘यो कार्यक्रममा अध्यक्ष आफै चाँही नजानु भएको भए हुन्थ्यो ।

विवादमा रहेका कमिटीहरुको कार्यक्रममा उपाध्यक्षलाई पठाउनु भएको भए हुन्थ्यो । आखिर विवादमा अन्तिम निकास दिने मान्छे भनेको पार्टी अध्यक्ष नै हो । उहाँ नै आफै गएर बोलेपछि बोलेको कुरा त पूरा गर्नु पर्‍यो नि । बोलेको कुरा पूरा भएनन् भने कसले मान्छ । आफूले आफ्नै हाइट घटाउने काम नगरेको भए राम्रो हुन्थ्यो ।’ केपीको मान्छे यति त भन्नै पर्‍यो नि–साथीभाइले भने ।

उता नेपालगञ्जमा थिएँ केपी । दुई–तीन दिनपछि उताबाट बोलीको पर्रा छुट्यो हेरौं त मलाई कार्बाही गरेको । कसले गर्ने मलाई कार्बाही । बोलेर मात्र हुन्छ बोलेको पुर्‍याउन पनि पर्‍यो नि । मैले भने, ‘केपी ओलीलाई पनि के भएको होला अध्यक्षले उनैलाई कार्बाही गर्छु त भनेका थिएनन् ।

विधान विपरीत काम गर्ने जोकोहीलाई पनि कार्बाही हुन्छ भनेको पो त । भनेको त ठिकै हो नि पार्टीमा रहने अनि पार्टीको विधान विपरीत र पार्टी सिस्टम भन्दा बाहिर रहेर काम गर्नेलाई त कार्बाहस् हुनै पर्‍यो नि । होइन भने पार्टीको हालत के होला ।

फेरि त्यो कार्बाही चाँही उनैलाई हुन्छ त भनेको पनि छैन नि’, मैले भने । हेर हेर संस्थापन बोल्यो है । झलनाथ खनालको मान्छे यति त भन्नै पर्‍यो नि–साथीभाइले भने । विगतका धेरै आन्दोलनमा केपी ओली त्यति खुलेर आन्दोलनका कार्यक्रममा सहभागी हुनु भएन । उहाँ अल्छी नेता हुनु भयो भनेर धेरैले भन्दै गर्दा मलाई पनि हो कि हो कि लागेको थियो त्यतिखेर ।

यता आठौं महाधिवेशन सकेर आएपछि पार्टीका कार्यक्रमहरुमा निमन्त्रणा गर्दा म ईश्वर पोखरेल, शंकर पोखरेल भन्दा तल्लो बर्णानुक्रममा रहनु पर्ने भएपछि किन कार्यक्रममा आउने भनेर पार्टीका पदाधिकारीहरु उपस्थित भएका धेरै कार्यक्रमहरुमा केपी ओलीको अनुपस्थिति रहने गरेको राम्रो अनुभव पनि छ मसँग । त्यतिखेर यो केपी ओलीको अर्घेल्याइ हो भन्थे म ।

पदाधिकारीमा उठेको ब्यक्ति सो पदमा हार भएमा तर सदस्य पदका लागि आवश्यक मत प्राप्त गरेको अबस्थामा भने स्वतः सम्बन्धित तहको कमिटीको सदस्य रहने पार्टीको बैधानिक ब्यबस्था नै भएपछि त्यसो भन्न कहाँ पाइन्छ भन्ने मेरो बुझाई होे ।

मैले धेरै चोटी आफैलाई प्रश्न गरें–झलनाथ खनाल अध्यक्ष भएपछि माधव नेपाललाई बरिष्ठ नेताको पदवी दिए जस्तै केपी ओलीलाई चाँही किन नबनाएको होला आखिर शीर्ष नेता नै हो अध्यक्षमा पनि थोरै भोटले मात्र त हारेको हो । उनलाई पनि नेता स्वीकार गरेकै छन् पार्टीका पदाधिकारीदेखि कार्यकर्तासम्मले ।

आखिर उनलाई पनि बरिष्ठ नेता बनाई दिए त पार्टीभित्रका धेरै समस्याहरु समाधान हुने थिए होलान् । अनि सबै एक भएर अगाडि जान सक्दा पार्टी पनि राम्रो हुने थियोे होला । गतिशिल हुने थियो होला आठौं महाधिवेशन सकेर आएपछि धेरै वटा पार्टीका बैठकबाट यस्तो भइदिए हुन्थ्यो भन्ने ममा लागि रह्यो । म कामना गर्दै रहे । मेरो यो कामना पूरा गर्न पार्टीलाई झण्डै झण्डै दुई बर्ष लाग्योे ।

सबैतिरबाट हेर्दा सबै नेताका राम्रा–नराम्रा विषयहरु भेटिन्छन् नै । दूधले नुहाएर शुद्ध भएको नेता पाउन आजकाल पार्टीहरुमा निक्कै हम्मेहम्मे पर्छ । उपप्रधान मन्त्री, प्रधानमन्त्री, माधव नेपाल पनि हुनुभयो । प्रधानमन्त्री, झलनाथ खनाल पनि हुनु भयो । यसै गरी केपी ओली पनि प्रधानमन्त्री हुनु भयो । सबै नेताले आ–आफ्ना पालामा फरक–फरक चिनारी छाडेकै छन् भन्दा हुन्छ ।

माधव नेपाल र झलनाथ खनाललाई परिवारवादले ठहरै पारेको थियो देशको बागडोर सम्हाल्दाको बेला । २०५१ सालमा उपप्रधानमन्त्री हुँदा पनि माधव नेपाललाई यो चार्ज लागेको थियो । पछिल्लो पटक पनि यस्तै भयो । परिवार भनेपछि नियम कानून पनि हेर्नु नपर्ने के सारो हुरुक्कै गरेको हाम्रा नेताले । होइन हाम्रा नेताहरु त के सारो हौं परिवार मोहको घेराबाट धेरै नै बदनामी कमाउनु भो त । कार्यकर्ताले भन्ने गरेका थिए ।

किन होला तिनीहरुको खातिर यो पदकै बदनामी गराएको । मलाई पनि यस्तै लागेको थियो त्यस बेला । तर, फरक चिनारी भयो केपी ओलीको राष्ट्र र राष्ट्रियताका लागि शीर नझुकाउने नेता भनेर । तर, केपी ओलीलाई त परिवारवादको आरोप नै लागेन । भए पो लाग्नु । यसो पनि भन्छन् कतिले । मलाई पनि हो कि भन्ने त लागेको थियो ।

पछि बुझ्दै जादाँ त साँच्चै परिवारवादबाट घेरिनु पर्ने त अरु भन्दा बढी केपी ओली नै पो रहेछन् । उनले यो ठाउँमा पुगेपछि हेर्नुपर्ने र गर्नुपर्ने त धेरै पो रहेछन् । यति धेरै छोराछोरी छन् केपी ओलीका भन्ने त थाहा नै थिएन । तर, ती कहिल्यै केहि माग्दै उनको छेउ नै परेनछन् नि क्या हो । त्यसैले होला उनी परिवारवादको आरोप पाउनबाट टाढै रहे ।

२०७१ असार १९ बाट पार्टीको नवौं महाधिवेशन काठमाडौंमा सम्पन्न हुने भयो । नवौ महाधिवेशनमा पार्टी धेरै अगाडिबाटै दुई चिरा भयो । दुई जना नेता अध्यक्षको प्रत्यासी बने । तल–तलसम्म माधव नेपाल गुट र केपी ओली गुट भएर कार्यकर्ता जान पर्ने स्थिति आयो ।

गुटमा नलागौं कि पनि भनियो । तर, एकातर्फ लाग्नु पर्ने बाध्यता नै बन्योे । महाधिवेशनमा सहभागिता जनाउने हो भने निर्गुट बनेर रहन सक्ने अबस्था नै बनेन । माधव नेपाल कि केपी ओली यी दुईमा छनौट गर्नु पर्दा पार्टीभित्रको लगानी पार्टीबाट यिनले पाएको अवसर सबै कुरालाई हेर्नै पर्‍यो भन्ने सोचिएछ ।

अनि माधव नेपालले पहिले नै नेतृत्वमा बसेर १५ बर्षको लामो समय पार्टी चलाई सक्नु भएकै हो । त्यतिखेरको समयको महासचिव भनेको नै अहिलेको अध्यक्ष नै त थियो । केपी ओलीले पनि आप्mनो सबै उमेर पार्टी र जनतालाई दिएकै हुन् । आन्दोलनलाई दिएकै हुन् ।

विगतमा जे जस्तो भए पनि यतिखेर उनी विमारी पनि छन् आखिर मर्ने बेलामा एक पटक यो पार्टीको अध्यक्ष बन्छु भने ठिकै होे । गलत त केहि गरेनन् एक पटक उनैलाई दिंदा के बिग्रन्छ र राम्रै हुन्छ । माधव नेपालको त समय पनि त छ । पछि फेरि बने पनि भइहाल्छ । मेरो विचार यस्तो रह्यो । मैले साथीभाइहरुसँग पनि यिनै कुराहरु गरें ।

यहि कुरा भनेको कारणले होला मलाई माधव नेपाल पक्षले आप्mना कार्यक्रममा खबर नगरेको नबोलाएको । जे होस जिल्ला कमिटीको सचिव म नवौं महाधिवेशनको प्रतिनिधि छनौट प्रक्रियामा सामेल भएँ । कुनै समूहमा नलागी महाधिवेशन प्रतिनिधि जान्छु भन्नु मिथ्या थियो त्यसबेला । माधव नेपाल समूहको कार्यक्रममा त जान नपाउने गरी कित्ताकाँट गरिएको मान्छे म महाधिवेशनमा त्यो टिमबाट प्रतिनिधि जानेमा पर्छु भनेर सोच्नु पनि गलत हुन्थ्यो ।

तर, माधव नेपाल समूहबाटै भए पनि यस पटक मेरो भोट दिने अबस्था बनेको हुन्थ्यो भने मेरो भोट चाँही केपी ओलीलाई नै जानेवाला थियो । कारण थियो–समकक्षी तीनमा अहिलेसम्म नेतृत्व नपाएको मान्छे परेको । अनि विमारले च्यापेको मान्छे परेको । सबै जीवन पार्टीलाई दिएको र मर्ने बेलामा अध्यक्ष भएर मर्न सके शान्तिको सास फेर्ने थियो भन्ने लागेको मान्छे भएको ।

महाधिवेशनको प्रतिनिधि छनौट प्रक्रियामा सामेल भएपछि माधव नेपाल समूहको लिष्टमा नपरेपछि अब उभिनै पर्‍यो केपी ओलीको समूहबाट । चुनाव लडें तर, २६ भोटले हारें । समीक्षा गरें यहाँ पनि मलाई केदार सञ्जेलले पुरै धोका दिनु भयो । निर्वाचनको टिममा बसेर प्रशासनिक काम गर्नुस् भन्नु भयो अध्यक्षले । यसलाई मैले नाई भनिन् ।

यसरी दैनिक रुपमा कार्यालयमा रहेर काम गरी रहँदा उहा“ भन्नु भन्नुहुन्थ्यो–हामी पदाधिकारी सबै चुनावमा जाने अन्तमा म सबैलाई एकै ठाउमा राख्छु र पाँचै जना नेताका मान्छे पर्ने गरी सर्बसम्मत गराउँछु । उहाँले भनेका पाँच जना नेतामा केपी ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र ईश्वर पोखरेल हुनुहुन्थ्यो ।

प्रतिनिधि छनौटको निर्वाचन भयो । तर, जिल्ला अध्यक्ष केदार सञ्जेलले भने जस्तो गर्नु नै भएन । अन्तिम समयमा आएर उहा“ले भनेका ती सबै कुरा केवल गफ मात्र सावित भए । साथीहरु तीन महिना अगाडिदेखि नै बाणिज्य बैंक केन्द्रीय कार्यालयको कर्मचारी संगठनको कार्यालयलाई नै आप्mनो कार्यथलो बनाएर घनिभूत ढङ्गले योजनामा लागेका रहेछन् । त्यसमा नजानिंदो पारामा केदार सञ्जेलको पनि सहमति रहेछ । विस्तारै खुल्दै गयो रहस्य । यो कुरा मैले प्रतिनिधि छनौटको उम्मेद्वारी दर्ता गर्न जाँदै छनक पाएँ ।

उम्मेद्वारी दर्ता गर्न म कुनै समूहमा गएको थिइनँ एक्लै गएको थिएँ । अध्यक्ष केदार सञ्जेल र मेरो मात्र आवेदन पत्र बोकेर । दर्तामा गएको मलाई ब्यक्तिगत उम्मेद्वारी दर्ता गर्नबाटै रोकियो । सँगै लगेको अध्यक्षको आबेदन १ नम्बरमा दर्ताका लागि स्वीकार गरियो । तर, २ नम्बरमा मेरो उम्मेद्वारी दर्ता गर्नमा विरोध गरियो र मलाई फर्काइयो ।

बाहिर रहनु भएको साथीहरुलाई मेरो उम्मेद्वारी पनि दर्ता गरी दिन भनेर म कार्यालयतिर लागें । कार्यालय पुगेर मैले अध्यक्ष केदार सञ्जेललाई सबै बेलिबिस्तार लगाएँ । तर, उहाँ केहि बोल्नु भएन चुपचाप रहनु भयो । शंकाको बीउ रोपियो । उम्मेद्वारी निर्वाचन प्रक्रियाका बारेमा विवाद भयो । तर, त्यसको निक्र्यौल नै नगरी निर्वाचनको प्रक्रिया शुरु गरियो ।

बुद्धिजीविहरुको बीचमा भइरहेको महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रममा हाम्रै सदस्यहरुले मात्र मतदान गरे या आम बटुवाले पनि गरे यकिन गर्न सकिएन । रमाइलो थियो प्रतिनिधि छनौट कार्यक्रम मधेसको माछा बजार जस्तो थियो । त्यो माछा बजारमा कसले कसलाई चिन्ने कसले कसलाई जान्ने । उपत्यकाभित्रै भएकाहरुले त भोट हाले नै बाहिर रहेकाहरुले पनि आफ्नो नामको भोट बाक्सामा पारे ।

नाम भएकाले त भोट राखे राखे यस्तो रमाइलो भो त्यहाँ नामै नभएकाले पनि भोट हाल्ने काम गरे । महाधिवेशनमा जाने २७ जना साथीहरुले खुशीयाली मनाउँदै माला लगाए । यो अवसर आफूलाई माधव नेपाल समूह भन्नेहरुले मात्र पाए । आखिर म प्रतिनिधि जान नपाएर के भो र महाधिवेशन सम्पन्न भई हाल्यो ।

केपी ओली पार्टीको अध्यक्ष निर्वाचित भई हाल्नु भो । मेरो विचार मेरो मान्यताले पूर्णता प्राप्त गर्‍यो भन्ने मलाई लाग्यो । म यसै यसै खुशी भएँ । महाधिवेशनपछिको पहिलो बैठकमै निबर्तमान अध्यक्ष सरह नै पार्टीको बरिष्ठ नेताको पदवी प्राप्त भयो माधव नेपाललाई । अझ सम्मानले मेरो शीर ठाडो भयो ।

समय र परिस्थिति सँधै एउटै रहँदैन । कहिले तल, कहिले माथि, कहिले अगाडि त कहिले पछाडि भई नै रहन्छ । यसै क्रममा एक दिन मैले भोला पोखरेललाई प्रश्न गरें, ‘होइन कमरेड तपाई सरोज र नारायण यी तीन जनालाई चाँही मैले माने है ।

तपाईहरु मान्छे त सारै खुराफाती नै हो हगी । जाबो जिल्ला कमिटीको सचिवले महाधिवेशन प्रतिनिधि जान्छु भन्दा उसलाई हराउन पुरै खनिएर लाग्नु भयो होइन । आखिर केन्द्रमा एउटा भोटले कसैको हार–जीत त भएन क्यारे । अनि माधव नेपाललाई जिताउन पनि त सक्नु भएन क्यारे ।

होइन तीन–तीन महिनासम्म तपाईहरुले के–के काम गर्नु भयो हौं । अनि माधव नेपाललाई भोटै नदिनेलाई चाँही लिएर जानुभयो ? गुटको भएर मलाई चाँही केपी ओली गुटको भनेर निषेध नै गर्नु भयो है तपाईहरुले । मान्छे त तपाईहरु कोडीहरु नै हो जस्तो लाग्यो ।’ ‘होइन कमरेड त्यो सरोजलाई चाँही दोष नदिनुस् अरु हामी चाँही लागेकै हौं है । हा“सीहा“सी जवाफ दिनु भयो’ भोला पोखरेलले ।

मैले यो कुरालाई विश्वास गरें । अर्को एक दिन बानेश्वरको एउटा बैबाहिक कार्यक्रममा जानु पर्ने थियो संयोगबस नारायण सुबेदीसँग सँगै परियो । उहाँकै मोटरसाइकल चडेर हामी थापागाउँ पुगेका थियौं ।

बाटोमा बातचितकै क्रममा नारायणजीले आफ्नो अध्यक्षको कार्यकालका समयमा भएका कामहरुको बारेमा कुरा गर्नु भयो र भन्नु भयो–मेरो पालामा मैले सकेसम्म राम्रै राम्रा कामहरु गरें । अब नेतृत्व छाड्नु पर्छ । नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने लागेको छ । कमरेड तपाई के भन्नु हुन्छ ? राम्रै विचार गर्नु भयो–मैले जवाफ दिएँ ।

यहि मौकामा मैले नारायण सुबेदीलाई भने–होइन नारायणजी तपाईले धेरै कामहरु चाँही राम्रा–राम्रा गर्नु भयो तर एउटा काम चाँही साह्रै नराम्रो गर्नु भयो क्या । के कमरेड भन्नु न । नारायणजीले भन्नु भयो ।

जाबो जिल्ला कमिटीको सचिव एउटा ब्यक्तिले महाधिवेशन प्रतिनिधि जान्छु भन्दा पुरै खनिएर उसको विरुद्धमा लाग्नु भयो । उसलाई हराएरै छाडनु भयो । आखिर केन्द्रमा एउटा भोटले कसैको हार–जीत त भएन क्यारे । अनि माधव नेपाललाई जिताउन पनि त सक्नु भएन क्यारे ।

मैले भने त्यतिखेर खेदो खनेको ब्यक्ति आखिर आज त त्यो नै तपाईको राम्रो साथी भयो । तपाईहरु मान्छे त पापी नै हो क्या । ठूलो गुटबाज नै हो मैले हा“सीहा“सी भने । नारायाणजीले पनि हा“सी हा“सी भन्नु भयो–हो कमरेड त्यो चाँही हामीले त्यतिखेर गल्ती गरेकै हो ।

त्यसबेला आखिर त्यत्ति सारो चाँही नगरेको भए पनि हुन्थ्यो । मनमनै खुशी हुँदै भने जे भए पनि ढिलै भए पनि साथीहरुले गल्ती स्वीकार्नु भयो । म मनमनै धेरै खुशी भएँ ।

प्रतिक्रिया दिनुहोस्