वामदेवको चुनावी चाहनामा ‘ब्रेक’


२५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता बामदेव गौतम संसद छिर्ने खबरले हिजो नेपाली राजनीति क्षेत्र निर्कै गर्मायो ।

Bamdev Gautam

अप्रत्यासित रुपमा सतहमा आएको वामदेवको चुनाव लड्ने चाहनाले एक दिनपछि नै सेलाउने संकेत देखाउन थालेको छ । स्वयम् नेकपाभित्रका शीर्ष नेताहरुको प्रतिक्रिया र वामदेव गौतमले चुनाव उठ्ने भनेको काठमाडौं–७ को जनमतको अवस्थाका कारण पनि गौतमको रहर रहरमै सीमित हुने हो कि भन्ने संकेत देखिन थालेको छ ।

वामदेवलाई उपनिर्वाचनमार्फत संसदमा ल्याउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ग्रिन सिग्नल, काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरको साथ हुँदाहुँदै पनि वर्तमान राजनीतिक परिस्थितिका कारण वामदेव संसद बन्ने वातावरण बन्न नसकेको स्पष्ट देखिन थालेको छ । यहि राजनीतिक पहेलीका आधारमा पनि बामदेव गौतमको सांसद बन्ने चाहना लगभग ‘ब्रेक’ लागेको छ ।

गौतमको उम्मेद्वारीलाई लिएर नेकपाभित्र बढ्दो अन्तरविरोध र पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको हालसम्मको ‘असहयोगी’ भूमिकाका कारण पनि गौतमको चुनाव लड्ने चाहनामा पूर्णविराम लाग्ने देखिएको हो ।

 नेकपाका महासचिव विष्णु पौडेलले समेत गौतमलाई संसदमा ल्याउने आफूहरुको चाहना भए पनि अहिलेको अवस्था र स्वयम् गौतमका लागि पनि यो समय अनुकूल नदेखिएको बताएका छन् ।

गौतमको चुनाव लड्ने चाहना र रामवीरको राजीनामा घोषणाको बारेमा सचिवालयमा जानकारी आएको भए पनि यसलाई निष्कर्षमा पुर्‍याउनका लागि कुनै निर्णय नभएको महासचिव विष्णु पौडेलले बताएका छन् ।

उनले स्वयम् नेता गौतम विगतको निर्वाचन, काठमाडौं–७ को राजनीति जोडघटाउ र जनमतबारे जानकार रहेको बताउँदै गौतम यी सबै विषयमा जानकार रहेको आफूमा विश्वास रहेको बताएका छन् । यस्तै नेकपा नेता इश्वर पोखरेलले पनि अहिलेको अवस्था गौतमका लागि अनुकूल नभएको बताइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७