एसियाली शेयर बजारमा भारी गिरावट

एपी
सिंगापुर, २५ असोज । अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ ।

चीनको शाङ्घाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेको छ, र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । जापानको निक्की २२५ अङ्कले घटेको छ । दक्षिण पूर्वी एसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ ।

लगानीकर्ताहरु अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन् । यसले कर्पोरेट ऋणको माग बढ्ने तथा आर्थिक वृद्धिमा प्रभाव ल्याउने विश्लेषकहरुको भनाइ छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर गल्ती गरिरहेको आरोप लगाउनुभएको थियो ।

जेपी मोर्गनमा कार्यरत विश्व बजार रणनीतिकार मार्सेला चाउले नियमित ब्याजदर वृद्धिले लगानीकर्तालाई आश्चर्यचकित बनाइरहेको बताउनुभयो ।

अमेरिकी–चिनीया करवृद्धिको लडाइँले पनि विश्व व्यापार प्रणालीमा असर पारेको छ ।

टोकियोको निक्की बिहीबार ३.९ प्रतिशतले घट्दै २२,५९०.८६ पुगेको छ भने शाङ्घाई इन्डेक्स २,५८३ मा बन्द भएको छ । हङकङको हाङसेङ २५,२२०.६७, दक्षिण कोरियाको कोस्पी २,१२९.६७ तथा अस्ट्रेलियाको एसएन्डपी ५,८८३.८० मा बन्द भएको छ । ताइवान समेतका अन्य मुलुकको शेयर बजारमा पनि मन्दी आएको छ ।

प्रतिक्रिया दिनुहोस्