एनआरएन दिवस : पूँजी र सीप भित्र्याउनमा केन्द्रित


२५ आश्विन २०७५, बिहीबार
nrn day

काठमाडौं, २५ असोज । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

nrn day

गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीको समेत उत्तिकै भूमिका रहेको उल्लेख गरे ।

आज गैरआवासीय नेपाली दिवस हो । दिवस मनाउन विज्ञसहित गैरआवासीय नेपाली नेपाल आएका छन् । यसपटक भने फरकरुपमा दिवस मनाउन लागिएको छ ।

सन् २००३ मा स्थापना भएको संघले सन् २००४ देखि दिवस मनाउन थालेको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का महासचिव डा. बद्री केसी यस पटकको दिवस पूँजी र सीप भित्र्याउनमै केन्द्रित गरेको बताउँछन् । शुक्रबारदेखि विज्ञको विश्व सम्मेलनमा राजधानीमा हुँदैछ ।

एनआरएनएका प्रवक्ता भूषण घिमिरे सीमित व्यवसायी रहेकाले उनीहरुले मात्रै लगानी गरेर सम्भव नहुने भएकाले विदेशमा सिकेका ज्ञान सीपलाई समेत देशको विकासमा प्रयोग गर्नु जरुरी रहेको औँल्याए । ‘यसपालि ‘ब्रेन गेन’ गर्ने गरी कार्यक्रम हुँदैछ, यसले नेपालको समृद्धिमा टेवा पुग्छ’, उनले भने ।

विश्वका ७९ देशमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् छ । यसमा करीब एक लाख नेपाली आबद्ध छन् । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । उनीहरुले नेपालको आर्थिक समृद्धिमा टेवा पु¥याएका छन् ।

मेडीसिटी अस्पतालमा डा. उपेन्द्र महतोको लगानी छ भने अध्यक्ष भवन भट्टको धुलिखेल रिसोर्टमा लगानी छ । शेष घलेले पाँच तारे होटल तथा जीवा लामिछाने चारतारे होटल खोल्ने तयारीमा छन् ।

एनआरएनएले व्यक्तिगत रुपमा गैरआवासीय नेपालीको लगानीको अवस्थाबारे अहिले अध्ययन गर्न थालेको छ । सामूहिक लगानीका परियोजना समेत अघि बढेको एनआरएनएले जनाएको छ । सामुहिक लगानीमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणकै चरणमा छन् ।

अहिले १० अर्बको कोष स्थापना गरेर सरकार, एनआरएनए र सर्वसाधारणको संयुक्त लगानीमा विभिन्न परियोजना सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष भट्ट बताउँछन् । दिवसको अवसरमा गैरआवासी नेपालीले आज स्वयम्भूमा एक लाख बत्ती प्रज्वलन गरेका छन् । आजै बिहान पशुपतिमा पूजा गरी दिवसको औपचारिक शुरुवात गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७