प्रधानमन्त्रीले स्याउ फार्म उद्घाटन गर्दे भने,‘कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गर्नुपर्छ’


२५ आश्विन २०७५, बिहीबार
kp sharma oli

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए ।

स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे ।

उनले सरकारले यो वर्ष स्याउ कृषकका लागि रु १० करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको बताए ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए ।

मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले स्थापना गर्नुभएको स्याउ बगैँचामा ६८ हजार स्याउका बिरुवा छन् । आगामी वर्ष १० हजार बिरुवा थप्ने उनले बताए । ७३५ रोपनी क्षेत्रफलमा स्याउ लगाइएकामा ४२५ रोपनी क्षेत्रफलबाट उत्पादन भएको छ ।

स्याउ बगैँचा मा रु ३० करोडको लगानी रहेको छ । प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार ५५ जना कर्मचारी रहेका छन् । उनका अनुसार अत्याधुनिक चिस्याङ केन्द्रमा जुस उद्योगको समेत स्थापना गरिएको छ ।
रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७