नेपाललार्इ टी–२० विश्वकप छनौटको उपाधि


२६ आश्विन २०७५, शुक्रबार
criket nepal 1

काठमाडौं, २६ असोज  । टी-२० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि नेपालले जितेको छ । सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाका कारण रद्ध भएपछि रनरेटका आधारमा नेपाल च्याम्पियन बनेको हो ।

 आफूले खेलेका पाँच खेल जितेको नेपालको नेट रनरेट ७.७८२ रहेको छ भने पाँचै खेल जितेको सिंगापुरको नेट रनरेट ४.७७२ रहेको छ ।

नेपाल र सिंगापुर दुवै टोली यसअघि पाँच खेलसम्म अपराजित थिए । यस प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया टी–२० विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् ।

अब एसिया उपक्षेत्रीय छनोट ए अन्तर्गतका तीन टोलीहरु यूएई। कुवेत र कतारसहित ६ टोलीबीच एसिया छनोट अन्तर्गत प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन बनाएका थिए । अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ४ विकेट हात लिए । उनले ३ दशमलब ३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । यस्तै सोमपाल कामी र करण केसीले २–२ तथा बसन्त रेग्मी र ललित राजवंशीले १–१ विकेट लिए ।

जवाफमा ब्याटिङ थालेको नेपालले २ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा वर्षाका कारण खेल रोकियो । त्यसपछि खेल हुन सकेन र रद्ध गरियो ।

प्रतियोगितामा नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन र भुटानविरुद्ध सहज जित निकालेको थियो भने सिंगापुरले पनि सबै प्रतिद्वन्द्वीलाई हराएको थियो ।

प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २४ विकेट लिए । जुन, कुनै पनि नेपाली बलरले एकै प्रतियोगितामा लिएको सर्वाधिक विकेट हो । यसअघि प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र विनोद दासको नाममा थियो । रेग्मीले सन् २०१२ को डिभिजन–४ प्रतियोगितामा तथा विनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा २१-२१ विकेट लिएका थिए ।

सन्दीपले पहिलो खेलमा म्यानमारविरुद्ध ४, दोस्रो र तेस्रो खेलमा मलेसिया र थाइल्याण्डविरुद्ध ५–५ तथा चौथो र पाँचौँ खेलमा भुटान र चीनविरुद्ध ३–३ विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७