निर्मला हत्या प्रकरण : एआईजी बस्न्यातको टोली कञ्चनपुरमा, २६ प्रहरीमाथि सुक्ष्म छानबिन


२७ आश्विन २०७५, शनिबार
Aig dhiru basnet निर्मला हत्या प्रकरण एआईजी बस्न्यातको टोली कञ्चनपुरमा २६ प्रहरीमाथि सुक्ष्म छानबिन

भीमदत्तनगर, २७ असोज । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डमा प्रहरी लापरबाहीबारे छानबिन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको छानबिन टोली महेन्द्रनगर पुगेर अनुसन्धान सुरु गरेको छ । शुक्रबार अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको छानबिन टोली महेन्द्रनगर आइपुगेको हो ।

उनको निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएका खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।

टोलीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा घटना बारे जिल्लास्थित सुरक्षा निकायसँग छलफल गरेको छ । भने एआइजी बस्न्यातले घटनास्थल र निर्मलाको घर परिवारसँग पनि भेटघाट गरे ।

गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर पुगेको हो ।

२६ प्रहरीमाथि सुक्ष्म छानबिन

गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ ।

‘अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शंकास्पद देखिए हामी कडाभन्दा कडा कारवाही गछौं’, बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातले भने,‘छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ ।’

उनले अनुसन्धानमा बदनियत र घटनामा प्रहरीको संलग्नता देखिए कार्बाही बताए । एआईजी बस्न्यातले यस अघि २६ प्रहरी अधिकृत तथा कर्मचारीसंग सोधपुछ गरिसकेको बताउँदै त्यसपछि फिल्डमै आएर अनुसन्धान थालेको बताए ।

‘बस्तुगत र तथ्यगत आधारमा छानबिनका लागि हाम्रो टिम यहाँ आएको हो । ’ उनले भने, ‘मिसिल, डकुमेण्ट्री र घटनाका विज्ञसंग विचार विमर्स गछौँ ।’ अपराध समाजबाटै घट्ने भएकाले त्यसको पहिचान र निराकरणका लागि समाजमै जानुपर्ने उनको भनाई थियो ।

संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबैपक्षसँग आग्रहसमेत गरेका छन् । शुक्रबार यहाँ पुगेलगत्तै निर्मला पन्तका पीडित परिवार, घटनास्थल, यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग समेत छानबिन समितिले भेट गरेको छ ।

त्यसैगरी आज बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ । छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरवाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारवाहीको माग समेत यहाँ गरिएको छ ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७