उपाधी जितेर फर्कियो क्रिकेट टोली, कप्तान भन्छन्,‘ट्रेनिङ मेथड स्तारोन्नति गरौँ’


२७ आश्विन २०७५, शनिबार
parash khadka

काठमाडौँ, २७ असोज । विश्व टी–२० एशिया छनोट समूह ‘बी’को उपाधि लिएर नेपाली राष्ट्रिय क्रिकेट फर्किएको छ । मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोली शनिबार फर्किएको हो ।


टोलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए । शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्व भएपछि रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो ।

खेलमा ८२ रनको लक्ष्य पक्ष्याएको नेपाल ०.३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल खेल पुनः हुन नसके पछि नेपाल विजेता बनेको हो । यस्तै नेपालले म्यानमार र मलेसियालाई समान ८–८ विकेट, थाइल्यान्डलाई १ सय ४० रन र भुटानलाई १ सय १७ रनले पराजिवत गरेको थियो भने चीनलाई १० विकेटले हराएको थियो ।

उपाधिसँगै नेपाल विश्व टी–२० एशिया छनोट समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसँगै सिंगापुर उपविजेता र मलेशिया पनि शीर्ष तीनमा रहँदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।

एसिया छनोटमा छ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यस अघि नै स्थान बनाइसकेको छ । एसिया छनौटमा पनि अंकतालिकामा उत्कृस्ट २ हुने टिम अर्थात विजेता र उपविजेता तेश्रो र अन्तिम छनौट चरण खेल्न छानिनेछन् ।

ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका ६ टिम र बिभिन्न क्षेत्रबाट उत्कृष्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनौटमा एसिया, अफ्रीका र अमेरिकाबाट २ र २ टिम तथा यूरोप र इस्ट एसिया प्यासिफिकबाट १ टिम गरि ८ टिम पुग्नेछन् ।

ग्लोबल टि–२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि(२० बिश्वकप खेल्ने छन्। यस्तै आईसीसीको टि–२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि–२० बिश्वकप खेल्न स्वतः छनौट हुनेछन् ।

विश्वकप फेरी खेल्ने सपना

त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फेरी विश्वकप खेल्ने सपना रहेको बताए ।

‘फेरी विश्वकप खेल्ने सपना छ, पहिलो चरण पार गरेका छाैँ, अब दुई चरण बाँकी छ, त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै फेरि विश्वकपमा छनोट हुने छौँ, उनले भने ।

उनले अर्को चरणको खेल अहिलेको जस्तो सजिलो नहुने बताउँदै कप्तान खड्काले त्यसका लागि अहिलेदेखिनै तयारी अघि बढाउनुपर्ने बताए । ‘अब बलिङ, फिल्डिङ र ब्याटिङमा विशेषज्ञ प्रशिक्षक ल्याएर तयारी अघि बढाउन सकेनौ भने अगाडिको छनोट प्रतियोगिता निकै कठिन हुनेछ’, खड्काको भनाइ थियो ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालको लक्ष्य टी–२० विश्वकप भएको बताउँदै पहिलो खुड्किलोका रुपमा पार गरेको बताए ।

उनले नेपालले मलेसियामा अपेक्षाअनुसार खेलेको र राम्रो टिम गेम प्रदर्शन गरेको भन्दै कप्तान पारस खड्काले सन्तुष्टि व्यक्त गरे ।

‘एसिया छनोट ‘बी’ तुलानात्मक रुपमा कमजोर टिमहरु भएकाले नेपालको जित अपेक्षित थियो । तर, टी–२० क्रिकेटमा कुनै पनि बेला अनपेक्षित रिजल्ट आउन सक्छ ।’, उनले भने,‘भुटान भन्नासाथ ३५० हान्ने कुरा आउँदैन । उनीहरुले पनि एउटा स्तर बनाएर आएका हुन्छन् ।’

उनले मलेसियामा राम्रो प्रर्दशन गरेपनि अबको चरण सजिलो नहुने उनले बताए । अब नेपालले राम्रो तयारी गर्नु पर्ने र त्यसका लागि नेपालको प्रशिक्षण शैलीमै परिर्वतन आवश्यक रहेको उनले बताए ।

‘नेपालको प्रदर्शन एक ठाउँमा अड्एिको छ । शायद हामीले ट्रेनिङ मेथड र कोचिङ स्टाफमा स्तारोन्नति गर्नुपर्छ, ब्याटिङ, बलिङ र फिल्डिङ कन्सलट्यान्टलाई चाँडो ल्याएर’ कप्तान पारसले अघि भने, ‘यो नगर्ने हो भने गाह्रो छ ।’

नेपालले अहिले प्रतियोगिताको दुई साता अघि कहिले ब्याटिङ त कहिले बलिङ कोच ल्याउने गरेको छ । तर, समयका कारण उनीहरुको प्रभावकारी देखिएका छैनन् । कम्तिमा २–३ महिनाका लागि कन्सलट्यान्ट ल्याउनु पर्ने नेपाली टोलीको जोड छ ।

टोलीसँग फर्किएनन् सन्दीप

नेपाली टोलीका सदस्य सन्दीप लामिछाने भने राष्ट्रिय टोलीसँग फर्किएनन् । प्रतियोगिताका म्यान अफ दि सिरिज सन्दीप लामिछाने मलेसियाबाटै युएई जाने भएका छन् ।

नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सन्दीप युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्न मलेसियाबाटै युईए जाने भएका हुन्।


उनले प्रतियोगिता उत्कृष्ट प्रदर्शन बापत २ वटा अवार्ड पाए ।  प्रतियोगितामा अद्भुत प्रदर्शन गर्दै २४ विकेट लिए बापत सन्दिप प्रतियोगिताकै उत्कृस्ट बलर तथा प्रतियोगिताकै उत्कृस्ट खेलाडी समेत घोषित भएका छन् । उत्कृस्ट ब्याट्सम्यान भने सिंगापुरका सुरेन्दरन चन्द्रमोहन घोषित भए जसले ६ खेलमा १४८ रन बनाएका थिए ।

प्रतियोगितामा अद्भुत प्रदर्शन गर्दै २४ विकेट लिए बापत सन्दिप प्रतियोगिताकै उत्कृस्ट बलर तथा प्रतियोगिताकै उत्कृस्ट खेलाडी समेत घोषित भएका छन् । उत्कृस्ट ब्याट्सम्यान भने सिंगापुरका सुरेन्दरन चन्द्रमोहन घोषित भए जसले ६ खेलमा १४८ रन बनाएका थिए ।

सन्दिपले प्रतियोगिताको ६ वटै खेलमा बलिङ्ग गर्दै कुल २४ विकेट लिंदै एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने रेकर्ड आफ्नो नाम गरेका छन्।

उनले ६ खेलमा कुल २०.३ ओभर बलिङ्ग गर्दै ५७ रन खर्चेर २.३७ को एभरेज र ५.१ को स्ट्राइक रेटमा उक्त विकेट लिएका हुन्। यस अघि यो रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो। रेग्मीले सन् २०१२ को डिभिजन(४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७