दरबन्दी यकिन नहुँदा लोकसेवा आयोगको विज्ञापन रोकियो


२८ आश्विन २०७५, आईतवार
Loksewa Aayog 1

काठमाडौं, २८ असोज । विज्ञापन गर्नुपर्ने कर्मचारी संख्या यकिन हुन नसक्दा असोज अन्तिम प्रकाशित गर्नुपर्ने लोकसेवा आयोगको विज्ञापन रोकिएको छ ।

Loksewa Aayog 1

कर्मचारीको रिक्त दरबन्दी संख्या यकिन नहुँदा असोज अन्तिम साता निकाल्नु पर्ने नियमित विज्ञापन निकाल्न नसकिने लोकसेवा आयोगले जनाएको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया नै अगाडि नबढेकोले रिक्त दरबन्दी यकिन हुन नसक्दा आयोगको नियमित विज्ञापन रोक्नु परेको हो ।

आयोगले हरेक वर्ष असोजको अन्तिम हप्ता बुधबार विभिन्न सेवा समूह अन्तर्गत रिक्त पदपूर्तिका लागि विज्ञापन प्रकाशित गर्दै आएको थियो । यस पटक भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगलाई अहिलेसम्म रिक्त दरबन्दीको विवरण दिन सकेको छैन ।

प्रदेश र स्थानीय तहमा समायोजन नहुँदा कति कर्मचारी रिक्त भए भन्ने टुङ्गो नलागेर अन्योल भएको हो । प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाका लागि कानूनी आधार पनि पर्याप्त नभएर अन्योल बनेको छ ।

संघीय मन्त्रालय स्रोतका अनुसार दुई महिनाभित्र समायोजन प्रक्रिया अगाडि बढाउने गरी समायोजन ऐनलाई संसोधन गरेर अध्यादेश ल्याउने सरकारको तयारी छ । अध्यादेश आए लगत्तै रिक्त दरबन्दीको अध्ययन गरेर कर्मचारी पदपूर्तिको विज्ञापन गर्ने योजना छ ।

विशेष गरी प्रशासन, प्राविधिक, शिक्षा र स्वास्थ्य समूहको विज्ञापन कम्तिमा अबको दुई महिना रोकिने छ । तर, परराष्ट्र, लेखा, संसद र न्याय सेवा समूहको विज्ञापन भने नियमित कार्यतालिका अनुसार नै आयोगले विज्ञापन गर्न सक्ने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७