नेपाली कामदार कातिक १२ देखि निःशुल्क मलेसिया जान पाउने

अब कामदारको करार अवधि दुई वर्ष मात्र


२८ आश्विन २०७५, आईतवार
malesiya

काठमाडौं, २८ असोज । नेपाली कामदार आउँदो कात्तिक १२ गतेदेखि निःशुल्क रुपमा मलेसियाको रोजगारीका लागि जान पाउने भएका छन् ।

malesiya

मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन कात्तिक ११ गते काठमाडौं आउने र १२ गते नेपाल र मलेसियाबीच सरकारीस्तरबाटै कामदार लैजाने समझदारी पत्र एमओयूमा हस्ताक्षर हुने श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिएका छन् । एमओयूको मस्यौदमा गएको असोज १२ गते नै दुई देशबीच सहमति जुटेको थियो ।

विभिन्न बहानामा कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेको थियो । नेपाल र मलेसियाबीच एमओयूमा हस्ताक्षर भएपछि कामदारको करार अवधि २ वर्षको मात्रै हुनेछ ।

अब समझदारी पत्रमा हस्ताक्ष भएपछि नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने भएका छन् । स्वास्थ्य परीक्षणदेखि लेबीसम्म र टिकटदेखि सेवा शुल्कसम्मका सबै प्रक्रिया सक्दा मलेसिया जाने नेपाली कामदारले ठूलो आर्थिक भार बोक्नु परिरहेको थियो ।

सम्झौता भएपछि बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षणमा यसअघि २९ वटा मात्र मेडिकलले चलाएको सिण्डिकेट समाप्त हुनेछ भने कामदारले सरकारबाट मान्यता प्राप्त र पूर्वाधार पूरा भएको स्वास्थ्य संस्थाबाट मेडिकल गर्न सक्ने छन् ।

पठाउने म्यानपावरले सेवा शुल्क वापत कामदारको आधा महिनाको तलब बराबरको पैसा पाउने छन् । तर त्यो पैसा रोजगारदाताले नै तिर्नु पर्नेछ । कामदारको तलबबाट काट्न नपाउने कुरा एमओयूमा उल्लेख छ ।

मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले पनि नेपालको इच्छा अनुसार नै नेपाली कामदार लैजाने बताएका थिए । केही समय लागे पनि श्रम मन्त्री गोकर्ण विष्टको पहलमा मलेसियाको रोजगारी कामदारकै पक्षमा हुने गरी खुल्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७