‘युद्ध साहित्य पहिचानको एउटा आन्दोलन हो’


२८ आश्विन २०७५, आईतवार
Naresh kangmang rai

नरेश काङमाङ, समकालीन नेपाली साहित्यका फरक विधाको अध्येताको रुपमा चिनिन्छ । भोजपुरको टेम्के मैयुङ–४ नागी स्थायी घर भएका काङमाङ अहिले बेलायतको लण्डनमा बसोबास गर्दै आएका छन । बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय काङमाङ पूर्व बेलायती सैनिक समेत हुन । बेलायती सैनिक जीवनमा रहँदा उनले युद्ध कविता लेखन शुरुवात गरेका थिए । जसबाट उनले युद्ध कविता सिर्जना गरे र युद्ध कविता विधालाई स्थापित गरे । युद्ध कवितासँगै काङमाङले वहुविधामा समेत कलम चलाउदै आएका छन् । उनले युद्ध कवितासँगै धेरै कथा, उपन्यास र लेख रचनाहरु लेखेका छन् ।
यतिबेला काङमाङ कथा लेखनमा व्यस्त छन । समसामयीक बिषयमा कलम चलाउने उनले आख्यान विधालाई विशेष महत्व दिंदै आएका छन । पहिचान पुरस्कारको जन्मदाता समेत हुन् काङमाङ । काङमाङ बेलायतस्थित विभिन्न सामाजिक कार्यहरुमा समेत उतिकै क्रियाशिल छन् ।बुहविधागत क्षेत्रमा समेत कलम चलाउँदै आएका युद्ध कवि नरेश काङमाङ युद्ध कवितालाई विश्वसामु परिचित र स्थापित गर्न लागेका छन् । यहि पेरीफेरीमा युद्ध कवि काङमाङसँग किरण राईले गरेको कुराकानी प्रस्तुत अंश :

Naresh kangmang rai
नरेश काङमाङ


हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
युद्ध कथा संग्रहको तयारी गर्दैछु र समानताको गोर्खा आन्दोलनलाई बौद्धिक रुपमा टेवा पुगोस् भन्ने आशाका साथ केहि खोजमुलक आर्टिकलहरु समय–समयमा लेखिरहेको छु ।

युद्ध साहित्यको एक अभियान्ता तपाई कविता र आख्यानमा कलम चलाईरहनु भएको छ । आफूलाई कवि भन्न मन पर्छ या लेखक ?
मेरो साहित्य लेखनको शुरुवात कविताबाट भएको हो । पछिल्ला केहि बर्षदेखि विशेष गरेर युद्धसम्बन्धी उपन्यास र कथाहरु लेख्ने प्रयासरमा छु । मैले यहि हुँ भन्दा पनि पाठक र तपाईहरुले भनि दिने विषय हो जस्तो लाग्छ ।

युद्ध साहित्यमा कलम चलाउने सोंच कसरी आयो ? र, युद्ध साहित्य भनेको के हो ? वास्तविक युद्ध साहित्यलाई कसरी परिभाषित गर्नु हुन्छ ? 
-नेपाली युद्ध साहित्यसम्बन्धी धेरै लेखक, कविहरुले अघोषित रुपमा कलम चलाउँदै आएका थिए । विशेष गरी बृटिस सेनामा आवद्ध भएका लाहुरेहरुले युद्ध साहित्य लेखनमा सक्रियता देखाईरहेको अवस्था पनि थियो । जब र अप्जसे कान्छाको लाहुर घरमा उपस्थित भयो । उहाँले युद्ध साहित्यलाई एउटा आन्दोलनको रुपमा लैजानु पर्ने धारणा राख्नु भयो ।

पटक–पटक हामीबीचमा छलफलहरु भए । मिजास तेम्बेजीको घरमा हामीले अन्तिम निचोड निकाल्यौ । रक्षा राई र उहाँ ‘नव चेतना आग्रह’ तिर लाग्नु भयो । अप्जसे र म घोषित रुपमै युद्ध साहित्यसम्बन्धी अवधारणा–पत्र र कविताहरु संकलन गरी ‘युद्धमा हराएको प्रेम’ नामक पुस्तक सार्वजानिक गर्‍यौ ।

त्यसपछि गणेश राईसँग मिलेर हामी तीन जनाले फेरि अर्को कृति प्रकाशन गर्‍यौ । यसरी सार्वजानिक रुपमा युद्ध साहित्यलाई आन्दोलनको रुपमा शुरु गर्‍यौं । युद्ध साहित्य एउटा पहिचानको आन्दोलन पनि हो । यो मानेमा कि २०३ बर्ष अघिदेखि बेलायती सेनामा कार्यरत लाहुरेहरुको पहिचान के हो ? राष्ट्रियता के हो ? जस्ता प्रश्नहरु नेपाल र बेलायत दुवै ठाउँमा उठिरहेको अवस्था पनि हो । युद्ध साहित्यको परिभाषा पूरै यहाँ अटाउन नसकिएला । युद्ध विध्वंस मात्र हैन निर्माण पनि हो ।

युद्ध सार्वभौम सम्पन्न राष्ट्रको रक्षार्थ वा राष्ट्रको अस्तित्वलाई भौगोलिक रुपले बढवा गर्न र कुनै अर्को राष्ट्रसँग लड्नु युद्ध हो । कुनै पनि विचार र सिद्धान्तको वरिपरी रहेर युद्ध लडिंदैन । छोेटकारीमा युद्ध तीन प्रकारका हुन्छन्, युद्ध अघि (प्रि–वार), युद्धमा (रियल वार), युद्ध पछि (पोस्ट वार) । युद्धले पारेका राम्रा–नराम्रा प्रभावहरुको विषयमा लेखिएका साहित्य नै युद्ध साहित्य हो ।

युद्ध आफैमा राम्रो मानिंदैन । तर, तपाईले युद्धका कुराहरु लेखी रहनु भएको छ । तपाईले लेख्नु भएको युद्धका कुराहरुमा सर्वसाधारणले कस्तो सन्देश लिने ?
मानव सभ्याताको विकासक्रममा, दास युगको शुरुवातसँगै युद्धको शुरुवात भएको देखिन्छ । युद्धले नकारात्मक शिक्षा मात्र दिदैन । युद्धले चेतनाको विकास पनि गराउँछ ।

दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकी ध्वस्त मात्र भएन निर्माण पनि भयो । युद्ध साहित्य लेखन युद्धको पक्षपाती मात्र होइन । युद्धमा भएका राम्रा र नराम्रा पक्षहरुलाई युद्ध साहित्यमा समेटेर लेखिने गरिन्छ । त्यसैले युद्ध साहित्य आम मान्छेका लागि चेतनाको जग पनि हो ।

Naresh kangmang Rai 2
नरेश काङमाङ

तपाई पूर्व बेलायती सैनिक समेत हुनुहुन्छ । सैनिक जीवनमा रहेकाले नै यस्ता सिर्जना आएको हो भन्न कतिको सकिन्छ ?
पूर्व सैनिक भएको कारणले युद्ध साहित्य लेखनमा सक्रिय रहँदै आएको धेरै अर्थमा सहि हो ।

 सैनिक जीवन र साहित्य क्षेत्र फरक विधा हो । तर, पनि तपाईले सैनिक जीवनबाट युद्ध साहित्यमार्फत आफूलाई परिचित गराउनु भयो, कसरी सम्भव भयो ?
-बेलायती सेनामा भर्ती हुनु अगाडि साहित्यको विद्यार्थी नै थिए । सेनामा आवद्ध भएर पनि साहित्य लेखनलाई निरन्तरता दिईरहें । युद्ध साहित्य नेपाली साहित्यमा नयाँ विषय हो ।

युद्ध साहित्यमार्फत आफूलाई परिचित गराएको केहि मात्रामा सहि होला तर, उत्पीडनको पक्षमा पनि कलम चलाउँदै आएको छु भन्ने लाग्छ । लेखनबाट साँस्कृतिक आन्दोलनलाई टेवा पु¥याउँदै आएको पनि छु । निरन्तरता र सक्रियताले सम्भावनाको अपेक्षा गर्ने हो ।

तपाई पहिचान पुरस्कारको संस्थापक समेत हुनुहुन्छ । पहिचान पुरस्कार कस्तो पुरस्कार हो ?
-पहिलो विषय नेपाली राजनीतिमा पहिचानलाई जातिवादको बिल्ला भिराइयो । तर, पहिचान जातिवाद होइन । बंश निरन्तरताको राजनीति र रहेक क्षेत्रमा हस्तक्षेप चाँहि जातिवाद होला ।

नेपाली राजनीतिमा मात्र हैन प्रज्ञा प्रतिष्ठानमा पनि जातिवादको निरन्तरता हुँदै आएको छ । जसरी पहिचान शब्दलाई गाली गरियो आमरुपमा, साहित्यको माध्यमबाट केन्द्रीकृत साहित्य लेखनलाई सच्याउने अभियान पनि हो । हजार बर्ष अघिदेखि भारतमा लेखिएको साहित्यलाई कपि पेष्ट गरे जस्तो हो नेपाली साहित्य ।

त्यो प्रकारको नेपाली साहित्य लेखनको अभ्यासलाई मात्र गजबको खाँटी नेपाली साहित्य भन्ने बुझाई छ । तर, नेपाली साहित्यको मौलिकता के त ? भन्ने प्रश्न आउँछ । बिभिन्न जातजातिको सँस्कृति र उनीहरुले भोग्दै आएको जीवन नै नेपाली साहित्यको मौलिकता होला । नेपाली साहित्यको मौलिकतालाई बचाएर लैजाने अभियान हो पहिचान पुरस्कार । यो अभियानले मात्र नेपाली साहित्य विश्व साहित्यको दाँजोमा पु¥याउन सकिन्छ भन्ने आश पनि हो ।

पहिचानलाई धेरैले जातिवादको रुपमा पनि व्याख्या गर्छन् । त्यसैले तपाईले स्थापना गर्नु भएको पहिचान पुरस्कारलाई जातिसँग जोडेर धेरैले व्याख्या गर्ने गर्छन् । यसमा तपाई के भन्नुहुन्छ ?
माथि पनि भनें पहिचान शब्दको विषयमा । पहिचान भनेको जातिवाद होइन । एउटा बिषयको उठान गरौं, गायत्री मन्त्रले केको ब्याख्या गर्छ ? त्यो आम नेपालीलाई बुझाउन र प्रष्ट्याउन सके त्यो सबैको मन्त्र हुन सक्छ । तर, त्यसको ब्याख्या अरुलाई नगरी दिए त्यो सीमित धर्मलम्बी र जातिले मात्र बुझ्दछ । त्यसको केन्द्र जात हुन्छ ।

म राई भएकाले मुन्दुमको ब्याख्या अन्य समुदायलाई पनि गर्नु पर्दछ । यदि गरिएन भने त्यो ‘कम्युनल’ हुन्छ । त्यो जातिवाद हुन्छ होला । जो कम्युनल रुपमा राष्ट्र चलाउँछ, कम्युनिटी मान्दैन उसले लगाएको गलत आक्षेप हो । एउटा उदाहरण हामीले राजन मुकारुङको फेरिंदो सौन्दर्यलाई पहिचान पुरस्कार प्रदान गर्दा कृतिका लेखक मुकारुङलाई किरात सँस्कार अनुसार फेटा लगाई दियौ । किनकी उहाँ किरात राई हुनुहुन्छ ।

पोहोर साल यज्ञशको भुइँयालाई पुरस्कार दिंदा पण्डितहरुबाट गायत्री मन्त्र पाठ गराई ताम्रपत्रमा पशुपतिनाथको नक्शा बनाई यज्ञशलाई दियौ । किनकी यज्ञशजी ब्राह्मण हुनुहुन्छ । अब जातिवाद भनेको के हो ? कास्ट प्लस इजम् इजिकल्टु कास्टिजम् हुन्छ ? कुतर्क गर्नेहरुले जे पनि भन्छन् । कुतर्कको जन्म बिना तर्कको अस्तित्व रहँदैन । ती कुतर्कहरुलाई सलाम र सम्मान छ ।

Naresh Kangmang Rai

तपाइले प्रकाशन गर्नु भएको सिर्जनामा विशेष गरेर युद्धलाई जोड दिनु भएको छ । विशेष गरेर युद्ध साहित्यलाई विश्वमा परिचित गराउने योजना र उद्देश्य लिनु भएको छ । विश्व मानचित्रमा युद्ध साहित्यको अवस्था के छ ? अव कस्तो बनाउने लक्ष्य लिनु भएको छ ?

सन् १८५३ देखि १८५६ क्रिमियन युद्ध भयो । त्यहि समयबाट विश्वमा युद्ध साहित्य लेखनको शुरुवात भएको पाउन सकिन्छ । सन् १८५४ मा बेलायतका कवि लोर्ड टेनिसनले ‘द चार्ज अफ द लाईट ब्रिगेड’ शीर्षकको कविता लेखें ।

त्यो बेलादेखि युद्ध साहित्य लेखनको शुरुवात भयो । विश्वमा युद्ध साहित्य लेखन निरन्तर रुपमा भईरहेको छ । सन् २०११ मा नरेश काङमाङ राईको ‘वार इज लाईक टियर्स’ कविता ‘हिरोज’ कविता संग्रहमा समावेश भयो । २०१५ मा ‘फियरलेस वरिवर’ प्रकाशित भयो । केहि मात्रामा सेलिङ पनि भयो । बेलायतको कमर्सियल प्रकाशन हाउस ओलमपियाले प्रकाशन गरेको कृति हो ।

उक्त कृति ‘जेम्स टाईट ब्लाक बुक प्राइज’ का लागि नोमिनेसन पनि भएको थियो । बेलायतमा ब्यक्तिगत नोमिनेसनमा पठाउन पाइँदैन । प्रकाशन हाउसले मात्र पठाउन पाउँछन् । यो त भयो मेरो कुरो । सन् २०१२ मा मार्क ओएनले ‘नो ईजी डे’ लेखे । ओसामा विन लादेनलाई ड्रोन एटेक्ट गरी मारेको विषयमा लेखेका छन् ।

सन् २०१२–२०१३ मा वेस्ट सेलिङ भयो । जुन पुस्तक प्रकाशन भएको पहिलो हप्तामा २ लाख ५३ हजार प्रति सेल भयो । लेखकले रोयल्टी ६.८ मिलियन अमेरिकन डलर पाएको थियो । तर उक्त रोयल्टीमा अमेरिकाले हस्तक्षेप गर्‍यो । अब योजना चाँहि एउटा कथा संग्रह अंग्रेजीमा निकाल्ने रहेको छ ।

तपाई हाल कथा लेखनमा हुनुहुन्छ । अहिले लेख्दै गर्नु भएको कथा युद्धसम्बन्धी नै हो ?
तपाईले भन्नु भएको विलकुल सहि हो ।

बाँकी जीवन कसरी बिताउने योजना बनाउनु भएको छ ?
पहिले रहरमा लेख्न थालियो । त्यसपछि एडिक्सन जस्तो भयो । अहिले आएर दायित्व पनि भएको छ । त्यसैले बाँकी अवकाश प्राप्त घाइते जीवन लेखनमा नै बिताउने छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७