भ्रष्टाचारीविरुद्ध आक्रामक बन्दै अख्तियार

सांसद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म फन्दामा


२८ आश्विन २०७५, आईतवार

काठमाडौं, २८ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो समय निकै सक्रिय र आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ ।

first

समाजमा भ्रष्टाचारजन्य गतिविधि खुल्लेआम बढिरहेका बेला पनि अख्तियारको आँखा सबैतिर पुग्न नसकिरहेको गुनासो बढिरहेका बेला अख्तियारले आफ्नो कार्वाहीको गति बढाएको छ ।

ठेकेदार कम्पनी पप्पु कन्ट्रसनका मालिक बाबु–छोरालाई पक्राउ गर्दै आफ्नो सक्रियता र गति बढाएको अख्तियारको पछिल्लो निशानामा काठमाडौं टोखा नगरपालिकाका प्रशासकीय अधिकृतदेखि प्रहरीका इन्स्पेक्टरसम्म परेका छन् ।

नेपाली चाड दशैं भित्रिएपछि अख्तियारको सक्रियता थप बढेको हो । दशैंको समयमा पैसाको अभाव बढि देखिने र यहि समयमा बढि भ्रष्टाचारजन्य गतिविधि हुने सम्भावना देखिएका कारण पनि आफूहरु चनाखो बनिरहेको अख्तियारका एक अधिकारी बताउँछन् ।

अख्तियारले पछिल्लोपल्ट आज ( आइतबार) टोखा नगरपालिकाका प्रशासकीय प्रमुख कृष्णप्रसाद सेवेदीलाई एक लाख घुससहित पक्राउ गरेकोे छ । यस्तै सुर्खेतका एक प्रहरी इन्स्पेक्टर र जवानलाई पनि घुससहित पक्राउ गरेको छ ।

अख्तियारको सुर्खेत कार्यालयले इलाका प्रहरी कार्यालय सुर्खेत बावियाचौरका इन्स्पेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछानेलाई १५ हजार घुससहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगको सुर्खेत कार्यालयका निमित प्रमुख जंगबहादुर डाँगीले जानकारी दिएका छन् ।

यता एक लाख घुससहित पक्राउ परेका टोखा नगरपालिकाका प्रशासकीय अधिकृत सुवेदीमाथि पनि अनुसन्धान अगाडि बढिसकेको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताएका छन् । उनले योजनाको अन्तिम विल भुक्तानी वापत एक लाख घुस लिएको जनाइएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्तालाई ५ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारको पोखरा कार्यालयले सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई असोज २४ गतते कार्यालयबाटै पक्राउ गरेको थियो । कार्यलयमै सेवाग्राहीसँग ५ लाख घुस लिँदै गर्दा थापालाई रङ्गेहात पक्राउ गरिएको थियो । सहन्यायाधिवक्ताल थापाले एक मुद्दालाई पुनरावेदनका लागि सर्वाेच्च अदालतमा नलैजाने शर्तमा घुस लिएको खुलेको बताइएको छ ।

उक्त दिन अख्यितार प्रमुख आयुक्त नवीनकुमार घिमिरे पनि पोखमै थिए । अख्तियारले यसअघि (असोज १९ गते) दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोप्राइटर हरिनारायण प्रसाद साह रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । उनीहरुको मुद्दा छानविनकै प्रक्रियामा छ ।

कन्ट्रक्सनले अर्बौको विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन शुरु गरेको थियो । छानबिनका क्रममा भ्रष्टाचार गरेको पाइएपछि विशेष अदालतमा मुद्दा दायर गर्नु परेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिएका छन् ।

प्रोपराइटर रौनियार संघीय समाजवादी फोरमका सांसद हुन् । रौनियार पर्सा–३ बाट निर्वाचित भएका थिए । भ्रष्टाचार मुद्दा दायर भएसँगै कानूनी रुपमा उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

पप्पु कन्स्ट्रक्सन देशभरी झण्डै तीन दर्जन पुल जिम्मा लिएको छ । काम भने धेरैतिर अलपत्र पारेको छ । अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको पाइएको छ ।

सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको थियो । सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँ बराबरको आयोजना अलपत्र पारेको छ ।

सांसद समेत रहेका रौनियारको नाममा पप्पु कन्स्ट्रक्सन छ । जटही–जनकपुर सडक खण्डको कमला नदीमाथि निर्माण गर्नुपर्ने पुलको पनि म्याद सकिएको छ । कमला नदीमाथि पुल बनाउन उसले ३४ करोडको ठेक्का पाएको थियो ।

२०६८ सालमा शुरु गरी २०७३ साउन मसान्तमा निर्माण सक्नुपर्ने थियो । उक्त अवधिमा निर्माण सम्पन्न नहुँदा सरकारले एक वर्ष पुनः समय थप गरेको छ ।
गुणस्तरहीन निर्माणका कारण कतिपय पुलले बाढीको स–साना भेललाई पनि थेग्न सकेका छैनन् ।

रौतहटको लालवकैया पुल गत वर्ष असारमा आएको बाढीबाट क्षतिग्रस्त बन्यो । यो पुल हस्तान्तरण नहुँदै क्षतिग्रस्त बनेको थियो । कमसल बनाएका कारण उक्त पुलमा क्षति पुगेको भन्दै पुल विभागले प्रतिवेदन बनायो । उक्त पुलमा पप्पुको कमजोरी देखिएकाले विभागले पुनर्निर्माण गर्न लगाएको थियो ।

हात परेका अधिकांश आयोजना वर्षादेखि अलपत्र छन् । एउटै आयोजना सम्पन्न नभएको सडक विभागले जनाएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पनि उसैले पाउने भएको छ ।

खरिद ऐनअनुसार कम अंक कबोल गरी पाँच सडक खण्ड र एक भवन बाहेक पप्पुले अत्याधिक संख्यामा पुलकै आयोजना ठेक्का लिएको छ । यो कम्पनीले जेभीमा गरेको निर्माण कम्पनी ४० पुगेका छन् ।

पप्पुले मात्रै काम गरेका कम्पनी डेढ दर्जन छन् । पुलको निर्माणको बढी ठेक्का पाएको पप्पुले राष्ट्रिय राजमार्गमा सात पुलको काम लिएको छ । यसमध्ये पाँचको निर्माण अवधि सकिए पनि कार्य सम्पन्न भएको छैन । अन्य दुईको पनि निर्माणकै चरणमा छ । स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा पप्पुले लिएको छ । यसमध्ये १८ वटाको निर्माण अवधि सकिएको छ ।

तर निर्माण कार्य सम्पन्न भएको छैन । अन्य आठको निर्माण कार्य समेत शुरु भएको छैन । विभागका अनुसार पप्पुले हात हालेका अधिकांश पुल अलपत्र छन् । उसले राजधानीको टेकु, डल्लु र तीनकुनेको पुल निर्माणको जिम्मा पाएको छ । टेकुमा निर्माण सम्पन्न भए पनि पुल स्वीकृत भएको छैन ।

यो पुल सञ्चालनमा सडक विभागले रोक लगाएको छ । २०७१ पुसमा ठेक्का पाएको वाग्मती पुलको निर्माण अवधि सकेर पनि हालसम्म निर्माण सम्पन्न भएको छैन । गत असार मसान्तमा निर्माण अवधि सकिए पनि हालसम्म यो पुलको निर्माण २० प्रतिशत मात्रै सकिएको छ ।

घिमिरे आएपछि बढ्यो सक्रियता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नविनकुमार घिमिरे आएसँग अख्तियारको गति बढेको छ । उनले भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताइरहेका बेला उनको सक्रियता देखिन थालेको हो ।

करीब एक महिनाअघि अख्तियारको प्रमुख बनेका घिमिरे देशको आर्थिक समृद्धिको सपनामा भ्रष्टाचारजन्य गतिविधि वाधक भइरहेको बताउँदै यसलाई रोक्न कार्यालयले विभिन्न योजनाहरु अगाडि बढाइरहेको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७