रानीपोखरी पुनर्निर्माण अन्योलमा, निर्माण कम्पनीको कागजात नै अपुग


२९ आश्विन २०७५, सोमबार
ranipokhari

काठमाडौं, २९ असोज । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनर्निर्माण हुने विषय फेरि अन्योलमा परेको छ ।

ranipokhari
फाइल फोटो

भूकम्प गइसकेपछि दोस्रो पटक पुनर्निर्माण गर्नका लागि काठमाडौं महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो ।

कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुबै निर्माण कम्पनीको मागअनुरुपको आशयपत्र नभएकाले पोखरी पुनर्निर्माणको काम अन्योल भएको हो ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘निर्माणको इच्छा राख्ने दुवै कम्पनीले पेश गरेका कागजात अपुग छ, त्यसैले निर्माणको जिम्मा दिनका लागि मापदण्ड पूरा गरेको हुनुपर्छ, आवश्यकता अनुरुपको हुनका लागि अर्को बोलपत्र माग गर्नुपर्छ त्यसको लागि समय लाग्छ ।’

यसअघि काठमाडौँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाइएको थियो ।

कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण कार्य शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण कार्य रोकिएको हो ।

पुनर्निर्माणको काम अन्योल भएसँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न नपाइने भएको छ । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणको लागि खुला गरिने गरिन्छ । यस मन्दिरमा दाजुभाइ नभएका दिदी बहिनी र दिदी बहिनी नभएका दाजुभाइले भाइटीका लगाउने गर्दछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७