स्वास्थ्य सचिवको अनियमिततामा अख्तियार मौन


३० आश्विन २०७५, मंगलवार
dr puspapandit

काठमाडौं, ३० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीको संरक्षणमा ब्यवस्थापन महाशाखाबाट उपकरण मर्मतमा भएको अनियमितता र सरुवा बढुवामा उनले गरेका अपारदर्शी क्रियाकलापका बारेमा संसदीय समितिमै प्रश्न उठिरहेको छ । ४५ शैयाको अस्पताल समेत बनाउन अनुमति दिन नमिल्ने काठमाडौं नेशनललाई ३ सय शैयाको अस्पतालको स्वीकृति सचिव चौधरीले गरेको भ्रष्टाचारको ज्वलन्त उदाहारण हो ।

dr puspapandit
डा. पुष्पा चौधरी, विशाल पण्डित र ललन साह


प्रधानमन्त्री कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्वास्थ्य मन्त्रालयमा भएको अस्पतालको स्वीकृृति, सरुवा बढुवा र खरिदमा भएको अनियमितताका बारेमा तदारुकताका साथ छानबिन गर्न सकेको छैन । २ हजार, ५ हजार रुपैयाँ घुस खानेलाई पक्राउ गर्ने अख्तियारले उपकरण मर्मतमा महालेखा परीक्षकको कार्यालयले नै औंल्याएको अनियमिततामा गम्भीरतापूर्वक छानबिन हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारी नै बताउँछन् । अख्तियारले उपकरण मर्मतका क्रममा भएको अनियमितताबारे बल्लबल्ल छानबिन सुरु त गरेको छ । तर त्यसलाई गम्भीररुपमा छानबिन गर्न नसकेको गुनासो छ ।
उपकरण मर्मतका क्रममा भएको अनियमितताबारे अख्तियारले छानबिन सुरु गरेपछि रातारात ब्यवस्थापन महाशाखा प्रमुख रमेश अधिकारीलाई मन्त्रालयमा तानेर मोहम्मद दाउदलाई पठाएकी थिइन् । दाउद उपकरण मर्मतमा भएको अनियमितताबारे बयान दिन अख्तियारमा गइसकेका छन् । उपकरण मर्मतका क्रममा ठेकेदार विशाल पण्डितको सचिव चौधरीसँग सेटिङ भएको समाचार बारम्बार आइरहेको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार पनि अख्तियारले उपकरण मर्मतमा भएको अनियमतितामा गम्भीरतापूर्वक छानबिन गर्ने अपेक्षा गरिएको थियो । तर उपकरण सप्लाईका क्षेत्रमा सबैतिर प्रभाव पार्न सफल ठेकेदार पण्डितले अख्तियारमा समेत आफ्नो पहुँच रहेकाले केही नहुने भन्ने गरेका छन् । अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे आएपछि उपकरण मर्मत नै नगरी एक बर्षमा १४ करोड रुपैयाँ भुक्तानी लिने पण्डित जस्तालाई पनि कारबाही हुने अपेक्षा स्वास्थ्य क्षेत्रमा गरिएको छ ।
जसरी निर्माण सम्पन्न नहुँदै पुल भत्किएपछि पप्पु कन्ष्ट्रक्सनका संचालक सांसद हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियार विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ, त्यसैगरी स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा उपकरण मर्मत नै नगरी बार्षिक १४ करोड घोटाला गर्ने पण्डित जस्तामाथि कारबाही हुने अपेक्षा गरिएको छ । तर अख्तियारको छानबिन सुस्त भएकाले कतै उपकरणका ठेकेदार पण्डितको प्रभावमा अख्तियार परेको त होइन भन्ने आशंकालाई बल पुगेको छ ।
संसदीय समितिमा स्वास्थ्य सचिवलाई नै राखेर सरुवा बढुवामा पैसाको कारोबार हुने गरेको, पैसा नआउने भएपछि १२ औं तहको दरबन्दी खाली भएको महिनौंसम्म पनि प्रक्रिया अगाडि नबढाएकोबारेमा प्रश्न उठिसकेको छ । तर अख्तियारले सचिव डा. चौधरीको बारेमा खुलेआम सरुवामा पैसा असुली गरेको कुरा आए पनि चासो देखाएको छैन । कर्मचारी सरुवा नीति नियम र मापदण्ड विपरीत भएको प्रतिवेदन त महेन्द्र श्रेष्ठको छानबिन समितिले नै दिएको थियो ।
मापदण्ड अनुसार ४५ शैयाको अस्पताल समेत बनाउन नमिल्ने काठमाडांंैं नेशनललाई ३ सय शैयाको अस्पताल बनाउन दिएको स्वीकृति दिने क्रममा ठूलो आर्थिक लेनदेन गरेको आरोप सचिव चौधरीमाथि लाग्दैआएको छ ।
मुख्यसचिवको साथ पाएपछि..
स्वास्थ्य सचिव डा. चौधरीले खरिदार स्तर(अहेब, सीएमए) नर्सदेखि महाशाखा प्रमुखहरुको सरुवामा पैसा माग्न मन्त्रालयमा शाखा अधिकृत प्रेम दुवादेखि ब्यवस्थापन महाशाखामा हेल्थ हसिस्टेन्ट ललन साहलाई राखेको कुरा त साँघुले बारम्बार आइरहेको छ । सचिवले सरुवामा ५–१० हजार रुपैयाँ समेत घुस लिने गरेको कुरा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पनि सूचना पाएका छन् । यसअघि पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री हुँदा सचिवले असहयोग गरेका कारण उनले सुधार गर्न खोजेका कतिपय कुराहरु गर्न नसकी उपेन्द्र यादव मन्त्रीका रुपमा आएका थिए । यादव आएपछि स्वास्थ्य सचिव चौधरीले मन्त्रालयका महाशाखा प्रमुखमा सबै नेपाली कांग्रेसका निकट प्रमुखहरु ल्याएको आरोप छ ।
पूर्वस्वास्थ्य मन्त्री निकट डा. विकास देवकोटा, मोहम्मद दाउद त्यसका उदाहरण हुन् । सरकार नेकपाका अध्यक्ष केपी ओलीको नेतत्वको छ, तर स्वास्थ्यमा कांग्रेसको रजगज चलिरहेको छ । गोविन्द केसीको अनसनमा स्वास्थ्य सचिव चौधरीले सरकारलाई नै बदनाम गर्ने काम गरिन् । स्वास्थ्य मन्त्रालयका उच्च कर्मचारीहरुले केसीको आन्दोलनको समर्थनमा सामाजिक संजालमा पोष्ट गर्दा पनि सचिव चौधरीले कुनै एक्सन नलिई अराजकतालाई मलजल गरेकी थिइन् । अर्थमन्त्री डा. युवराज खतिवडाले ओली सरकार गठन हुनासाथ अनावश्यक विदेश भ्रमणमा रोक लगाए । तर स्वास्थ्य सचिव चौधरीलाई त्यो रोकले कुनै अर्थ राखेन । उनी पटक पटक विदेश भ्रमणमा गइन् । उनको विदेश मनोनयनको निर्णय पेश हुनासाथ उही दिन मुख्यसचिव लोकदर्शन रेग्मीले तदारुकता साथ पास गरिदिन्थे । तर अरु मन्त्रालयका सचिवको विदेश मनोनयन आयो भने अर्थमन्त्रालयको निर्देशन भन्दै उनले एक सातासम्म पनि झुलाएर राख्ने गरेको आरोप लाग्ने गरेको छ ।
स्वास्थ्य सचिव चौधरीले आफूमात्र होइन, आफ्ना प्रियपात्र तथा घुस संकलक ललन साहलाई जर्मनी र सिंगापुर सयरमा पठाएकी छन् । यसअघि पद्मा अर्यालको कार्यकालमा सचिव चौधरीले सरुवा लगायतका धेरै काममा असहयोग गरेको सूचना पाएका प्रधानमन्त्री केपी ओलीले उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्न खोजेका थिए, तर तिनै रेग्मीले उनलाई महिला सचिव विवाद हुन्छ भनेर रोकेका थिए । औषधि ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक सुनिल शर्मा लगायतका बदनामहरुलाई हटाउन खोज्दा पनि मुख्यसचिवमार्फत् नै सचिव चौधरीले उक्त प्रस्ताव प्रधानमन्त्री ओलीसम्म पुग्न नदिएको कुरा आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७