दशैंको मुखमा पूर्व सांसदद्वारा आत्महत्या

सन्तानलाई आशिर्वाद दिने बेला किन रोजे रुवाउने बाटो ?


३० आश्विन २०७५, मंगलवार
samsad

मोरङ, ३० असोज । एक पूर्व सांसदले दशैंको मुखमा आत्महत्या गरेका छन् । पूर्व राष्ट्रिय पञ्चायत सदस्य (पूर्व सांसद) कर्णबहादुर धिमालले दशैंको मुखमा आत्महत्या गरेपछि परिवारको दशैंको उल्लासमय वातावरण शोकमा परिणत भएको छ ।

samsad

७० वर्षे धिमालले शनिबार राति बुइँगलमा पासो लगाएर आत्महत्या गरेका हुन् । गत शनिबार मध्यराति बिरामी बोक्न गाउँतिर जाँदा एम्बुलेन्स चालकले बेलबारी नगरपालिका–२, लालभित्तीमा एउटा शव सिकुवामा तन्द्रङ्ग झुण्डिरहेको अवस्थामा देखे ।

उक्त शव थियो पूर्व सांसद धिमालको । धिमालले आफू जीवितै हुँदा अस्पताललाई शरीर दान दिने घोषणा गरेका रहेछन् । तर, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनको मृत शरीर लिन मानेन र परिवारजनलाई नै फर्काइ दियो ।

दशैंका बेला टाढा-टाढा रहेका परिवारजनको भेटघाट र मिलन हुने गर्छ । तर, यस्तो चाडबाडको मुखमा पूर्व सांसद जस्तो सचेत व्यक्तिले किन आत्महत्या गरे होलान् ? दशैंमा आफ्ना सन्तानलाई आशिर्वाद दिनुपर्ने बेलामा धिमालले आखिर किन सन्तानलाई रुवाउने बाटो रोजे ?

धिमालको आत्महत्यापछि यस्तो प्रश्न उठ्नु स्वाभाविकै हो । उनले एक्लोपनका कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।

नजिकबाट धिमाल
कर्णबहादुर झापा–मोरङमा बसोबास रहेको आदिवासी जनजाति समुदाय धिमाल जातिका अग्रणी व्यक्ति हुन् । उनी राजतन्त्र समर्थक राजनीतिकर्मी हुन् । पञ्चायत ढलेपछि उनी केही वर्ष राप्रपाको केन्द्रीय सदस्य समेत भए । ०५० सालदेखि भने उनी राजनीतिक रुपमा निस्क्रिय र स्वतन्त्र थिए ।

वि.सं. ०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा धिमाल मोरङबाट विजयी बनेका थिए । त्यसबेला धिमालले आफू पञ्च भएता पनि कांग्रेस र कम्युनिस्टको भोटले चुनाव जितेको चर्चा मोरङमा हुने गरेको छ ।

रापंस बनेपछि धिमाल राष्ट्रिय पञ्चायतको सामाजिक समितिको सभापति समेत बने । ०३६ सालको जनमत संग्रहमा उनले पञ्चायतलाई जिताउन किसान पञ्चभेला समितिको सभापति भएर भूमिका खेलेका थिए ।

१६ वर्षको उमेरदेखि निर्दलीय पञ्चायतको राजनीतिक कार्यकर्ता बनेका धिमाल नेपाल किसान संघको मोरङ जिल्ला उपसभापतिसम्म बने ।

०३१ सालमा हरैंचा गाउँ पञ्चायतको वडा सदस्य बनेका उनी ०३५ सालमा हरैंचाको उपप्रधानपञ्च समेत मनोनित भए ।

०२१ सालदेखि ०२३ सालसम्म महेन्द्र प्रावि, भगवति प्रावि आदिमा श्रमदानस्वरुप अध्यापन गरेका धिमालले आइएसम्मको अध्ययन गरेका थिए ।

उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचत हुनुभन्दा पहिले स्थानीय महेन्द्र प्रावि र सुकुना प्राविको सहयोग समितिको सदस्य तथा मोरङ साझा संस्थाको सञ्चालक समितिको सदस्य समेत बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७