कर्णालीमा जलयात्रा पर्यटन

‘कर्णालीले दुःख मात्र होइन, आफूसँग भएका चीज पनि बेच्नु पर्छ’

सुर्खेत, १ कात्तिक । गत शुक्रबार आठबीस नगरपालिका–१ डाव दैलेखका कर्णबहादुर रावत र उनकी श्रीमतीलाई चिया चाउचाउ नास्ता खुवाउन भ्याइ नभ्याइ थियो ।

खासै यसअघि दुई–चार स्थानीय ग्राहक आउने त्यस चिया पसलमा उक्त दिनको भीडले भने रावत दम्पती निकै दङ्ग थिए । त्यहाँ कर्णाली प्रदेश सरकार, आन्तरिक तथा विदेशी पाहुना पुगेका थिए ।

आजभोलि रावतझैँ कर्णाली नदी किनारमा रहेका अन्य होटल पसलमा पनि पाहुनाको राम्रै भीड लाग्छ । विगतभन्दा यस वर्ष त्यस क्षेत्रको व्यापार व्यवसाय पनि फस्टाएको छ ।

एक महिनादेखि कर्णाली नदी क्षेत्र र जलयात्राको सम्भावना अध्ययन गर्दै आएको नेपाल नदी संरक्षण संस्थाको टोली र केही विदेशी पर्यटक तीन दिनदेखि डावमै रहँदा स्थानीय व्यवसायीलाई रामै्र मुनाफा भएको थियो ।

डावमै पुगेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा र प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलसहितको सरकारी टोलीले सो दिन नदी संरक्षण संस्थाको टोलीसँग कर्णाली नदी किनारमै पालमा रात बितायो ।

शनिबार मुख्यमन्त्री शाहीले जलयात्राको विधिवत् उद्घाटन गरेसँगै कर्णाली नदीमा १० किलोमिटर जलयात्रा गरेका थिए । जहाँ पर्यटनमन्त्री नन्दसिंह बूढा समेत सवार थिए । उक्त दिनदेखि कर्णालीमा औपचारिक रुपमै साहसिक खेल जलयात्राको सञ्चालन भएको छ ।

मुख्यमन्त्री शाहीले उतिबेलादेखि नै जीवनरेखा मानिने कर्णाली र बङ्गलादेश जोड्ने रेशमी मार्ग कायम गर्नेतर्फ अघि बढ्ने बताए । खासगरी हिन्दू धर्मावलम्बीको राजधानी कैलाश मानसरोवरसँग जोडिएको सुवर्णभूमि कर्णालीको विकासका लागि प्रदेश सरकार गतिशील रहेको उनको भनाइ थियो ।

उनले भने, ‘अब कर्णालीले दुःख होइन, यसले आफूसँग भएको चीज बेच्नुपर्छ ।’ कर्णालीलाई डलर आम्दानीको स्रोत बनाउने र मानसिक रुपमा जकडिएको गरीबी हटाउने सोचको विकास हुन आवश्यक रहेको उनले औंल्याए ।

मुख्यमन्त्री शाहीसहितको प्रदेश सरकारको आगमनले कर्णाली नदीमा जलविद्युत् दृष्टिले मात्र नभई साहसिक खेलसमेत आकर्षण बनेको छ । सरकारको यो कामले पर्यटन प्रवद्र्धन, कर्णाली नदीको प्राचीन इतिहासको उजागर, यहाँको जलजङ्गल र जमीनको उपयोगिता एवं उत्पादनमा वृद्धि भई आर्थिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बेलायती पर्यटक टोली टेलरले कर्णाली नदीको कञ्चन पानीमाथिको जलयात्राले स्वर्गीय आनन्द प्राप्त हुनाका साथै तनावमुक्त भएको बताए ।

‘नदीभित्रको माछा, किनारास्थितका वन क्षेत्र, उत्पादनयोग्य फाँट, मानवबस्ती, सांस्कृतिक वेशभूषा र संघर्षशील जीवनका थुपै्र दृष्य कैदमात्र होइन, अध्ययन गर्ने अवसर मिल्दो रहेछ’, उनले भने, ‘अब यो अनुभव र अनुभूतियुक्त तस्वीरको सन्देश मेरो देशमा लिएर जान्छु ।’

आजभोलि सडकको छेवैमा धुँलाले पोतिएको होटेल तथा पसलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो तथा जलयात्रा गर्ने विदेशीको भीड लाग्न थालेको छ । गएको वर्ष जापानी टोलीले नदीमा जलयात्रा शुरु गरेको आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विकले जानकारी दिए ।

‘यस क्षेत्रमा अब होमस्टे सञ्चालनमा ल्याउने पहल भइरहेको छ’, वडाध्यक्ष विकले भजे, ‘यसका लागि निजी लगानीकर्ता र कर्णाली प्रदेश सरकारसँग समन्वय गर्छौं ।’ कर्णालीमा जलयात्रा गर्न र माछा मार्न विदेशी बढी आउने गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न थालेपछि अब यहाँ दूध, दही, माछा मासुको माग बढ्न थालेको छ । सोही वडाका बासिन्दा हर्कबहादुर शाहीले भारतीय जिएमआर कम्पनीले माथिल्लो कर्णालीमा ९५० मेगावाट विद्युत् निकाल्ने जिम्मा लिए पनि सो परियोजना अलपत्र पारेको आरोप लगाए ।

‘कर्णालीबाट ९५० मात्र होइन, चार हजार मेगावाट विद्युत् निकाल्ने क्षमता छ’, शाहीले भने, ‘न यहाँ विद्युत् निकाल्ने काम अघि बढेको छ न त प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा वितरण गर्ने काम नै ।’

उत्कृष्ट जलयात्रा र कायकिङ
नेपालका भोटेकोशी, त्रिशूली, गण्डकी, भेरीलगायत नदीमा साहसिक जलयात्रा गरिँदै आएको छ । कर्णाली विश्वमा जलयात्रामा पाँचाैं र कायकिङमा तेस्रो उत्कृष्ट नदीका रुपमा मानिन्छ । कर्णाली नदी जलयात्रामा मात्र सम्भाव्य नभई बहुआयामिक क्षेत्रको महत्व राख्दै आएको नेपाल नदी संरक्षण समितिका अध्यक्ष मेघ आले बताउँछन् ।

‘विश्वका धेरै देशमा कर्णाली नदी सुरक्षित, सरल, प्राकृतिक आनन्द दिने र कम जोखिम छ’, अध्यक्ष आले भन्छन्, ‘यसको प्रवद्र्धनमा कर्णाली प्रदेश सरकार अनवरत लाग्नुपर्छ ।’ कर्णालीको प्रचारप्रसार व्यापक गर्न सके यसमा जलयात्रा गर्ने स्वदेशी विदेशी पर्यटकको घुइँचो लाग्ने उनको विश्वास छ ।

पर्यटनविद् प्रेम शर्माले कर्णाली नदीको पानी र सुन्दरतामा संसारका अर्बौं मान्छेले आँखा गाडेको बताउँछन् । उनले कर्णालीलाई विश्व सम्पदाका रुपमा स्थापित गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कैलाश–बुद्ध मार्ग
नेपालको सबैभन्दा लामो नदी कर्णालीले उत्तरमा भोटे, मध्य क्षेत्रमा खस, राउटे, क्षत्रीदेखि तराईका चौधरी, थारूसमेतको रहनसहन, वेशभूषा र धर्मसंस्कृति बोकेको छ ।

नेपाल नदी संरक्षण संस्थाले अध्यक्ष आलेसहित स्वयंसेवकका रुपमा काम गर्दै आएका भूगर्भविद् बेरेन केनेटको टोलीले मानसरोवर कैलाश र बुद्धभूमि लुम्बिनी जोड्ने विकासको नमूना आवश्यक रहेको औँल्याएको छ ।

सबै खालको हावापानी र मानव बस्ती समेटिएको विविधतायुक्त यो नदीबारे
टोलीले भनेको छ, ‘कर्णाली नदी प्रदेश समृद्धिमा सहयोग पुर्‍याउने कर्णाली प्रदेशको मुख्य सम्पदा हो । यसको संरक्षण र बजारीकरण गर्न सरकारले विशिष्ट खालको योजना निर्माण गर्नुपर्छ ।’
पहिराको जोखिममा बस्ती

हिल्साबाट नेपालको हुम्ला हुँदै बगेर आउने कर्णालीसँग जोडिएको भिरालो जमीनमा मानव बस्ती छ । मूलतः तिब्बतदेखि कर्णालीको अध्ययन गर्दै आएका भूगर्भविद् बेनेटले कर्णालीका भिरालो जमीनमा रहेका बस्ती सबै जोखिममा रहेको बताएका छन् ।

‘हिमालय पर्वतदेखि महाभारत शृङ्खलासम्मका बस्ती चलायमान छन्” बेनेट भन्छन्, ‘अबको छ–सात दशकभित्र यी बस्ती कर्णाली नदीमा खस्ने प्रबल सम्भावना छ ।’ त्यसबाट सजग रहन र पूर्व सावधानी अपनाउन उनले सुझाव दिएका छन् ।

उनी भन्छन्, ‘कर्णाली प्राचीन नदी हो । यो नदी तिब्बतीय पठार हुँदै हिल्साबाट बगेर आएका सबै चीज महाभारत पर्वतमा थेग्रिएका छन् । बाटो खन्ने, जलविद्युत् आयोजना, सुरुङमार्ग निर्माणलगायत विकासका काम गर्दा भूभागको अध्ययन आवश्यक छ ।’

उनका अनुसार हिमालय पर्वत बन्नु पूर्व नै कर्णाली बग्ने शुरु गरेको अनुमान छ । कर्णालीमा करीब १५० किलोमिटर जलयात्रा गर्न सकिने जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्