दशैंमा पनि कांग्रेसमा गुटबन्दीकै खेल, संशाक निवासमा पौडेल समूहको भेला


१ कार्तिक २०७५, बिहीबार
ramchandra

काठमाडौं, १ कात्तिक । सबैको घरमा दशैंको रौनक छाएको छ । सबै नेपाली आफन्तजनसँग भेटघाटमा व्यस्त छन् ।

ramchandra

तर, नेपाली कांग्रेसका शीर्ष नेताहरुमा भने आफन्तजनसँग भेटघाट र भलाकुसारी गर्ने भन्दा पनि पार्टीभित्र शक्ति आर्जन गर्ने र पकड बनाउनेकै ध्याउन्न छ । यसको उदाहरणको रुपमा पौडेल समूहको भेलालाई लिन सकिन्छ ।

कांग्रेस महामन्त्री डा. सशांक कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भेला गरेका छन् । उक्त भेलालाई कांग्रेस नेताहरुले अनौपचारिक छलफलको संज्ञा दिएका छन् । तर, छलफलमा विधान मस्यौदाबारे गम्भिर कुराकानी भएको जनाइएको छ ।

भेलामा नेता पौडेल, महामन्त्री कोइराला, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, दीपक खड्का, प्रदीप पौडेललगायत सहभागी थिए ।

एक सहभागीका अनुसार वरिष्ठ नेता पौडेल भोलिबाट चारधाम तीर्थयात्रामा जाने तय भएकाले अनौपचारिक छलफल राखिएको हो । ‘उहाँले म १२ गते फर्किन्छु । विधानबारे छलफल गर्दै गर्नुहोला तर, हतारमा कुनै निर्णयमा नपुग्नुस् भन्नु भएको छ’ उनले भने ।

आफू फर्किएपछि धेरै नेताको सहभागितामा छलफल गरेर साझा धारणा बनाउने उनको प्रस्ताव थियो । छलफलमा नेता बडूले विधान संशोधन मस्यौदा समितिमा भएका छलफलबारे ब्रिफिङ गरेको जनाइएको छ ।

नेता प्रदीप पौडेलले भने पार्टी सभापतिलाई पदाधिकारी मनोनयनको अधिकार दिने भए क्रियाशील सदस्य वा क्षेत्रीय प्रतिनिधिबाट चुन्नुपर्ने धारणा राखेका थिए ।

एक नेताका अनुसार यो भेला कुनै निर्णय गर्नुभन्दा पनि विधानबारे भएको छलफलबारे जानकारी गराउनु उद्देश्यले गरिएको थियो । यसअघि पौडेल समूहका भेला कहिल्यै महामन्त्री सशांकको निवासमा भएको थिएन । अधिकांश भेला पौडेल निवास बोहोराटार वा पार्टी प्यालेसमा हुने गरेको थियो ।

यो पटक निवासमा भेला गरेर महामन्त्री कोइरालाले आफूलाई पौडेल समूहका नेताका रुपमा प्रस्तुत गरेको विश्लेषण नेताहरुको छ । यद्यपि उनले यसबारे सोमबारको छलफलमा मुख खोलेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७