निलम्बित एसपी विष्टलाई बर्खास्त गरिंदै


१ कार्तिक २०७५, बिहीबार
sp bista

काठमाडौं, १ कात्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणका कारण विवादित बनेका एसपी डिल्लीराम विष्ट बर्खास्तीमा पर्ने भएका छन् ।

sp bista

किशोरीको बलात्कारको घटना अनुसन्धानमा चरम लापर्वाही गरेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले तत्कालीन एसपी डिल्लीराज विष्टलाई सेवा बर्खास्त गर्नका लागि आवश्यक पहल थालेको स्रोतले जानकारी दिएको छ ।

आइजीपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापर्वाही गर्ने एक जना प्रहरीलाई बर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएका छन् । प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिवस्तरीय निर्णयबाट हुन्छ ।

‘आइजिपी सर्वेन्द्र खनालले विष्टलाई बर्खास्त गर्न गृहमा पत्र पठाउनु भएको छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘सार्वजनिक विदा खुलेकै दिन निर्णय हुन्छ ।’

प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा बनाएको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापर्वाही गरेको प्रतिवेदन पेश गरेको थियो ।

सरकारद्धारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरी भूमिका सन्तोषजनक नरहेको भन्दै खोट देखाएको थियो ।

विष्टमाथि घटनामा प्रमाण नष्ट गरेको आरोप छ । उनी अहिले निलम्वनमा परेका छन् । आइजीपी खनाल कञ्चनपुर पुगेर घटनास्थलको अवलोकन र स्थानीयसँग छलफल गरेका थिए ।

निर्मलाका आमा–बाबु पनि काठमाडौं आएर छोरीको हत्यारा खोजी दिन खनालसँग आग्रह गरेका थिए । गत साउन १० गते घरबाट साथीको घर हिंडेकी निर्मलाको शव ११ गते उखुवारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७