मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा


१ कार्तिक २०७५, बिहीबार
modi hydropower

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु भएको छ ।

modi hydropower

कूल विद्युत् उत्पादन क्षमता १४.८ मेगावाट रहेको आयोजनाबाट अहिले दैनिक १४ दशमलव ८ मेगावाट नै विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ ।

यसअघिका वर्षमा वर्षायाममा पनि बढीमा ११ मेगावाटसम्मको आसपासमा विद्युत् उत्पादन हुने गरेकामा यस वर्ष विद्युत गृहमा प्रयोग भएको पूरानो कुलर हटाएर नयाँ कुलर परिवर्तन गर्ने, समय समयमा सरसफाइ गर्ने र नयाँ यन्त्र फेरेपछि उत्पादन पूर्ण क्षमतामा हुन थालेको जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए ।

‘हामीले यस वर्ष एउटा कुलर फेरेका छौँ, त्यसैले नै विद्युत् उत्पादन बढेको छ ।’
कुनै कुनै बेला घटबढ हुने भए पनि अधिकांश समयमा क्षमतानुसार नै दिएको छ । अर्को वर्ष अर्को कुलर पनि फेर्ने योजना छ ।

यस पटक केन्द्रीय बोलपत्रानुसार झण्डै ३५ लाखको लगानीमा कुलरलगायत अन्य सामान फेरिएको केन्द्र प्रमुख शाहले जानकारी दिए । यसअघि कुलेखानी र मध्यमस्र्याङ्दी आयोजनामा गरेर १६ वर्ष काम गर्नुभएका शाह आफैँले विद्युत गृहका सामान्य खालका मर्मत गर्दै आएका छन् ।

एक वर्ष अगाडि केन्द्र प्रमुख बनेर आएका शाहले मोदीखोला जलविद्युत् आयोजनामा आइपर्ने सामान्य मर्मत र सम्भारका लागि अन्य आयोजनाका प्राविधिक बोलाउनुपर्ने बाध्यता हटेको र समस्या आउनासाथ आफैँले नेतृत्व गरेर समाधान गर्ने गरेका कारण पनि विद्युत् उत्पादन घट्ने समस्या हट्दै गएको बताए ।

मोदीखोला जलविद्युत् आयोजनामा बर्खा याममा दुई वटै युनिटबाट तथा हिउँदमा एउटा मात्र युनिटबाट विद्युत् उत्पादन हुने गरेको छ । मोदीमा पानीको बहाव कम हुँदा झण्डै माघदेखि एउटा मात्र युनिट चल्न सक्ने पानीको क्षमता रहने कारण विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।

शाहका अनुसार एउटा टर्बाइनबाट तीन मेगावाटभन्दा कम विद्युत् उत्पादन हुने अवस्था आएपछि दुवै टर्बाइनका लागि प्रयोग भएको पानी एउटा मात्र टर्बाइनमा खसालेर विद्युत् उत्पादन गरिएको छ ।

सन् २००० (विसं २०५७ तिर) मा निर्माण भएको यो आयोजना यस क्षेत्रकै पूरानो हो । यसपछि पर्वतमा १० मेगावाट क्षमताको तल्लो मोदीखोला ‘ए’ सञ्चालनमा आएको छ भने २० मेगावाटको तल्लो मोदीखोलाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७