पहिलो चुम्बन
कविता
–विनोदविक्रम केसी
गोली लागेको पंक्षीको
पखेँटाझै
फड्फडिरहेको छ मुटु
बाघको मुखबाट उम्किएको
मृगझैं
तुफानी वेगमा दौडिरहेछ रगत
भर्खर खनेको बाटोमा
गुडिरहेको थोत्रो लोकलबसका
पाटपुर्जाझैं
खन्द्रयाङ खन्द्रयाङ बजिरहेका छन्
अंग प्रत्यंग
जेठको धुपमा
घाँस काँट्न हिँडेकी
कन्दराकी युवतीको अनुहारझैं
राँक्किएका छन् ओठ
सफा र शान्त छ आकाश
तर, अचानक शिरमा खस्छ चट्याङ
र,
फूल, मह, मदिरा र संगीतको घोलमा डुबेर
बेहोस हुन्छ पर्यावरण
यो एक मिनेट, बस् एक मिनेट
दिनभरि चन्दनझैं घोटिएको
मजदुरको रातको निद्राजस्तो
यो एक मिनेट
मेला गएकी आमा
साँझ घर फर्कँदा
दूधे शिशुको मुहारमा
फक्रने इन्द्रकमलजस्तो
यो एक मिनेट
यो एक मिनेटमा
मैले खारेको
प्रेमको बाहखरीमार्फत
सम्मानको बाहखरीमार्फत
बुझेको छु मैले–
मान्छेलाई गुलाब किन चाहिन्छ ?
कहिले चाहिन्छ ?
मान्छेलाई बन्दुक किन चाहिन्छ ?
कहिले चाहिन्छ ?