नेपाल-अमेरिका एक्सप्रेस
कविता
भर्खरै छुट्यो नेपाल–अमेरिका एक्सप्रेस
एकपाथी मेरो नेपाली हृदय बोकेर
यात्रुहरूलाई टन्न भरेर
यो दिल्ली, लण्डन हुँदै पुग्छ वासिंगटन
क्षणभरमै आइपुग्छ फर्केर फेरि मेरो देश !
जहा“बाट पनि चढ्न मिल्छ
बिर्तामोड, गोलबजार, महेन्द्रनगर, काठमाडौं
घरघरबाटै मनमनबाटै सामान भरे हुन्छ
भर्खरै छुट्यो नेपाल–अमेरिका एक्सप्रेस
एकपाथी मेरो नेपाली सत्व बोकेर !
जबरजस्ती कोचेर चोमोलोङ्मालाई सगरमाथाको बाकसमा
प्रतिरोधहीन नेवार ‘मा’, मगर ‘मोई’, किरात ‘यमा’ मैथिल ‘माई’हरूलाई
‘आमा’ उलिन्काठमा सजाएर
डोको भरिभरि रोदी, देउडा, धाननाचहरू कोचेर
खर्पन भरिभरि लवज भरेर
रातविरात साँझ या प्रभात हरेक प्रहरमा
खेपका खेप ‘लोड’ गरिरहेछौं हामी
नेपाल–अमेरिका एक्सप्रेसको मालडिब्बामा
र भिखारीको निज्र्यान तस्बीर झैं तमासा बनिरहेछ
लण्डनको संग्राहलयमा
मेरो बस्तीको अनन्त शृंगार !
र हरपटक फर्किएर नेपाल–अमेरिका एक्सप्रेस झारिरहेछ
मेरो बस्तीमा हरेक बिहान
‘माउण्ट एभरेस्ट’ ‘मम्मी’ र ‘ड्याडी’हरू
ओर्लिरहेछन् एक्सप्रेसबाट हरेक साँझ
बहुराष्ट्रिय पिपलमेट कम्पनीहरूसँगै
‘डान्स क्लब’ र ‘ब्रेक डान्स’हरू
पत्रकारका लागि ‘न्युज’
विद्वानका लागि ‘भ्युज’हरू
युवाका लागि ‘इन्टरटेन्मेन्ट’
नेताहरूका लागि ‘डकुमेन्ट’हरू !
बिना ऐया–आत्था
बिना हिच्किचाहट
बिना प्रतिरोध
आत्मिक सत्वको मृत्युहरूमा जूठो पनि नबारी
ह्दय भरिभरिको समस्त सुगन्ध, समस्त परिचय
नेपाल–अमेरिका एक्सप्रेसमा सगौरव ‘लोड’ गरेर
हामी सिर्जना गरिरहेछौं एउटा परजीवी देश
हामी रचिरहेछौं बिना पूर्वाग्रह
राष्ट्रिय सहमतिमा आफ्नै मृत्युको इतिहास
हामी चलाइरहेछौं लगातार राष्ट्रिय प्रतिरोध ‘मुभमेन्ट’ †
यसरी नै क्रमशः खरानी हुँदो छ
मेरो सम्पूर्ण परिचय
मेरो देशको आत्मिक अस्तित्व !
ऊ… फेरि छुट्न लाग्यो नेपाल–अमेरिका एक्सप्रेस
एकपाथी नेपाली ह्दय बोकेर
यो दिल्ली, लण्डन हु“दै पुग्छ वासिंगटन… !
(प्रकाशोन्मुख ‘गहुँगोरो अफ्रिका’ कविता संग्रहबाट)