जन्ड वेश्याको वक्तव्य


१ कार्तिक २०७५, बिहीबार
Binod Bikram KC 2

विनोद विक्रम केसी

Binod Bikram KC 2
विनोद विक्रम केसी

तिमी जैरीहरूको जस्तो
शरीर
मेरो अन्तिम सत्य होइन

हरेक दिन खेल–तमासामा सरिक हुन्छु म
तर तिमीहरू जस्तो
होइन म खेलौना कसैको

हतकडी जस्तो आलिंगन
पिंजडा जस्तो प्रेम
झ्यालखाना जस्तो दाम्पत्य

बन्धन, साँघुरोपन र कैद
तिमीहरूका
हावा, अन्न र पानी हुन्
जीवन निर्वाहका लागि थप–
तिमीहरू पतिदेवका लातहरू खान्छौ

तिमीहरू जस्तो
पिशाचका चरणमा
दासीझैं घोप्टो परेर सहस्र नर्कमा जाकिने जातकी होइन म
नर्कै भए पनि
म यसकी साम्राज्ञी हुँ
र, उत्रिन्नँ कहिल्यै निःसर्त नग्नतामा म

नियत र स्वार्थका हिसाबले
मेरा ग्राहकहरू
खुद्रा पतिहरू हुन्
तिमीहरूका पतिहरू
थोक ग्राहकहरू हुन्

त्यो जग्गे हो या काँडे तारबार ?
फाँसीको तख्ता हो या शुभकार्यको मण्डप ?
पञ्चैबाजा किन निकालिरहेको हुन्छ
एकोहोरो शंखध्वनि ?
घोप्टे जुँगा भएको त्यो मान्छेको ओठमा दौडिरहेको हुन्छ
कालो न कालो मुस्कान
त्यो जल्लाद हो या अरू नै कोही ?
त्यो वरमाला हो या फूलहरू पहिरिएको डोरी ?
सिन्दूरको धर्काे कोरेपछि उसका आँखा
किन बलात्कारीका जस्ता घातक देखिन्छन् ?

तिमीहरूलाई स्वास्नी र
मलाई वेश्या बनाउने
सिस्टम एउटै हो
संसार एउटै हो
शास्त्रहरू उनै हुन्

जैरी हो,
हामी यसभन्दा धेरै लायक थियौं 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७