साना–तिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन : प्रधानमन्त्री


२ कार्तिक २०७५, शुक्रबार
kp oli1 1

काठमाडौं, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिएका छन् ।

kp oli1
प्रधानमन्त्री केपी शर्मा ओली

दशैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, ‘यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनु हुँदैन भन्नेमा हामी हरेक क्षण सजग हुँदै आएका छौँ । हामी आमजनताको विश्वास र अपेक्षालाई शिरोपर गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौँ ।’

उनले भनेका छन्, ‘देशमा रहेका काम गर्न सक्ने उमेर समूहका युवा जनसङ्ख्याको प्रधानता समृद्धिको एउटा प्रमुख आधार हो तर यो उमेर समूहको जनसङ्ख्या रोजगारको खोजीमा विदेशी भूमिको समृद्धिका लागि अहरोत्र खटिरहेको छ । सरकार यो अवस्थाको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील छ ।’

दशैँ पर्वले नेपालको विविध भाषा, संस्कृति, परम्परा र विभिन्न स्थानमा रहेका नेपालीबीच भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्ने माध्यम बनेको बताउँदै देशविदेशमा रहेका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले चाडपर्व सामाजिक र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले देशको सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान गर्न प्रेरणा प्राप्त हुने विश्वाससहित सामाजिक विकृति एवम् विसङ्गतीविरुद्धको विजय गर्न सक्ने क्षमता सबैमा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले खुशीयालीको पर्वका रूपमा रहेको विजयादशमीले सबैमा नयाँ उत्साह एवम् उमङ्ग, जोश तथा जाँगर थप्दै समुन्नत नेपाल र सुखी नेपाली बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

उनले लामो राजनीतिक सङ्घर्षको युग पार गरेर देशले विकास र समृद्धिको युगमा प्रवेश गरेको उल्लेख गर्दै संविधानले व्यवस्था गरेअनुसारका स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक संस्थाहरु क्रियाशील भई देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक–आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको जनाएका छन् ।

वर्तमान सरकार राजनीतिक स्थिरतासँगै देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कार्यरत रहेको र देशलाई आर्थिक–सामाजिक रुपान्तरणको बाटोमा तीव्र गतिका साथ अग्रसर गराउन जनताले दिएको अभिभारा आफूहरुले शिरोपर गरेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७