दसैंमा तलब नपाएपछि गाउँपालिकामा तालाबन्दी


५ कार्तिक २०७५, सोमबार
karmachari

लहान, ५ कार्तिक । सिरहाको नरहा गाउँपालिकामा कार्यरत कर्मचारीले चालु आर्थिक वर्षको साउनदेखि तलव नपाएको भन्दै आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । दसैं जस्तो चाडमा थप रकम त परको कुरा तीन महिनाको तलवसमेत नपाएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको गाउँपालिका, ४ बर्छवास्थित स्वास्थ्य चौकीका इञ्चार्ज बिन्देश्वर यादवले बताए । ‘गाउँपालिकामा पटक पटक धायौं, आज भोलि गर्दागर्दै दसैं बित्यो’ उनले भने ।

नरहा गाउँपालिकाअन्तर्गत चार वटा स्वास्थ्य केन्द्रमा कार्यरत ३० जना, कृषि, पशुका कर्मचारी तथा गाउँपालिकाका पाँच वडामा कार्यरत अधिकृतदेखि सचिवसम्म एक सय १७ जनाले तलव नपाएको कृषितर्फका प्राविधिक सहायक धनिकलाल साहले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झाका अनुसार पछिल्लो ३१ असारमा हुनु पर्ने दोस्रो गाउँ सभा खिचातानीले हुन नसक्दा कर्मचारीलाई तलव खुवाउन समस्या भएको हो । ‘गाउँ सभाले गरेको निर्णयअनुसार खर्च गर्ने शीर्षक र रकमको अख्तियारी कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाएपछि मात्र निकासा हुन्छ’ झाले भने ‘कार्यापालिकामा भएको खिचातानीले गाउँ सभा नहुँदा दसैंमा तलव खुवाउन सकिएन ।’

गाउँ सभा नहुँदा कर्मचारीको तलवबाहेक दैनिक कार्यालय सञ्चालन गर्न कठिन भएको छ । गत २४ असोजमा १३ सदस्यीय गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको नाममा रहेको बक्यौता रकम भुक्तानी गर्ने निर्णय गरेको झाले बताए ।

कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७५÷०७६ को गाउँ सभा नहुँदासम्म योजना तथा कार्यक्रममा समायोजन हुने गरी प्रमुख प्रशासकीय अधिकृत तथा लेखापालको नाममा अख्तियारी दिई भुक्तानी दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए ।

कार्यपालिकाको उक्त निर्णयअनुसार इन्धनको भुक्तानीदेखि कार्यालय संचालन, जनप्रतिनिधि, कर्मचारीको तलव भत्तासहित विभिन्न १५ शीर्षकको रकम भुक्तानी गरिने गाउँपालिका अध्यक्ष यादवले उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७