रामवीरको राजीनामा अस्वीकृत, वामदेवले सचिवालय वैठकमा भने, ‘मलाई सत्तामोह जागेको होइन’


५ कार्तिक २०७५, सोमबार
bam ram

काठमाडौं, ५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामवीर मानन्धरले पार्टी सचिवालयमा पेस गरेको राजीनामा अन्ततः अस्वीकृत भएको छ ।

bam ram

आज (सोमबार) बसेको नेकपा सचिवालय बैठकले उनको राजीनामा अस्वीकृत गरेको हो । बैठकले उनको राजीनामा अस्विकृत गरेपछि नेकपाको आन्तरिक द्वन्द्व अन्त्य भएको दाबी गरिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार दिउँसो ३ बजेदेखि साढे ४ घण्टा बसेको बैठकमा गौतमले आफ्नो धारणा राखेका थिए । ‘पार्टी केन्द्रदेखि टोलसम्म एकता गराउनमा मेरो पनि महत्वपूर्ण भूमिका छ ।

एकतालाई पूर्णता दिन पनि सचिवालय नेतृत्वबीच एकता अपरिहार्य छ’, उनको भनाइ उद्धृत गर्दै स्रोतले जानकारी दियो, ‘यस्तो अवस्थामा काठमाडौं क्षेत्र ७ का सांसद मानन्धरको राजीनामा अस्वीकृत गर्ने निर्णयमा मेरो सहमति छ ।’

उनले थपे, ‘पार्टीभित्रै मानन्धरको राजीनामालाई मेरो सत्तामोह भएको आरोप लगाउँदै मविरुद्ध भएका टिका टिप्पणीप्रति असहमति जनाउँछु ।’

गौतमले यति कुरा राखेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले यो समय आपसमा शंका उपशंका गरेर कमजोर हुने नरहेको बताए । उनले केन्द्रबाट प्रारम्भ पार्टी एकीकरणलाई गाउँपालिकाका वडासम्मै पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।

उनले पार्टीभित्रको एकतामा असन्तुष्ट देशी र विदेशी शक्तिको डिजाइनमा नपर्न नेतृत्वसँग सांकेतिक रूपमा आग्रह दाबी स्रोतको छ ।

पार्टी एकीकरण प्रक्रियाअन्तर्गत जिल्ला कमिटीको पूर्णता, जनवर्गीय संगठनको एकता, केन्द्रीय कमिटीअन्तर्गतका विभाग, समिति र कमिटीहरूको पुनर्गठन, महानगरपालिकादेखि गाँउपालिकाका वडा एकाइसम्म सबैलाई पूर्णता दिनु पर्ने अवस्थामा केन्द्रीय नेतृत्वबीच एकता अपरिहार्य रहेको गौतमले दाबी गरेका छन् ।

सचिवालय बैठकले आगामी १२ र १३ गते बस्ने स्थायी कमिटीको एजेन्डा तय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालबाट व्यक्त असहमतिपत्रबारे सोमबारको बैठकमा छलफल हुने जानकारी पार्टीका प्रवक्ता नेता नारायणकाजी श्रेष्ठले दिएका छन् ।

उनले भने, ‘आजबाट विधिवत् रूपमा मानन्धरको राजीनामा र वामदेवजी चुनावमा जाने प्रसंग अन्त्य भयो ।’

सचिवालयका अर्का एक नेताले भने, ‘नेता गौतमले पार्टीले कुनै पनि विषयमा उपयुक्त निर्णय लिँदै एकता प्रक्रिया सहज रूपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो ।’

सचिवालयले पार्टी एकता र सरकारको समीक्षाबारे पनि सोमबारको बैठकमा छलफल गर्ने जानकारी उनले दिए । सोमबारको बैठकमा वरिष्ठ नेता नेपालको असन्तुष्टि, सरकार र पार्टी नेतृत्वको समीक्षा जस्ता जटिल विषय रहेको उनले बताए ।

रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल सोमबार चीन भ्रमणमा जाँदैछन्। कात्तिक ८ गतेदेखि १३ सम्म गते भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीले नेपाल भ्रमण गर्ने जानकारी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दिएका छन् ।

येचुरीको भ्रमणअघि नै कम्तिमा पनि जिल्ला कमिटीको एकीकरण प्रक्रियालाई पूर्णता दिनुपर्ने विषयमा नेतृत्वबीच गम्भीर भएको दाबी स्रोतले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७