निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै


६ कार्तिक २०७५, मंगलवार
hospital1

कैलाली, ६ कात्तिक । सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ ।


धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ ।

अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा रहेको छ ।

त्यस्तै वातानुकूलीत क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवा रहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले जानकारी दिए ।

निजी क्षेत्रकै लगानीमा गत असारदेखि धनगढी– ५ मा ‘निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा आएको छ ।

रु पाँच करोड बढीको लगानीमा सञ्चालनमा आएको उक्त अस्पतालले २५ श्ययाबाट सेवा शुरु गरेको र आगामी दिनमा अस्पताललाई ५० श्ययामा विस्तार गर्ने लक्ष्य रहेको अस्पतालका सञ्चालक तीर्थराज पन्तले जानकारी दिए ।

अस्पतालले निकट भविष्यमै किड्नी डाइलाइसिस मेशिन र सिटीस्क्यान सेवा विस्तारका लागि योजना अघि सारेको जनाएको छ । निसर्ग अस्पतालमा सघन उपचार कक्ष (आइसियु), नवजात शिशु उपचार कक्ष (एनआइसीयु), बाल सघन उपचार कक्ष (पिआइसीयु), कृत्रिम श्वास प्र्र्रश्वास प्रणाली (भेन्टिलेटर), अत्याधुनिक प्याथोलोजी र डिजिटल एक्सरे सेवा रहेको छ ।

यसअघि धनगढीमा निजी क्षेत्रकै लगानीमा मिर्गाैला रोगको विशेष उपचारका लागि ‘सिपी’ अस्पताल र आँखाको विशेष उपचारका लागि ‘धनगढी नेत्रालय’ (आँखा अस्पताल)सञ्चालनमा आइसकेका छन् ।

अस्पताल स्थापनासँगै गुणस्तरीय तथा थप उपचारका लागि अब यस क्षेत्रका सर्वसाधारणले काठमाडौँ, भारतलगायत विभिन्न ठूला शहरमा गई चर्को मूल्यमा उपचार गर्नुपर्ने बाध्यता हट्ने भएको छ । साथै अस्पताल स्थापनाले यस क्षेत्रको विकासमा समेत टेवा पुग्ने भन्दै यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

 रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७