उपत्यकामा नयाँ २० बस थपिंदै


९ कार्तिक २०७५, शुक्रबार
sajhabus

काठमाडौं, ९ कात्तिक । काठमाडौं उपत्यकामा साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ ।

sajhabus

काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो ।

काठमाडौँ महानगरपालिकाको पाँच करोड र ललितपुर महानगरपालिकाको एक करोड लगानीमा बस भित्र्याउन लागिएको हो । व्यवस्थापक पाण्डेयले भने, ‘नयाँ बस पनि यसअघि साझाले भित्र्याएको जस्तै आधुनिक र सुविधा सम्पन्न हुनेछन् ।’

यसअघि जस्तै भारतीय कम्पनी अशोक लेल्याण्डको बस दुई महिनाभित्र काठमाडौँ भित्र्याउने लक्ष्य छ । बस आएपछि दर्ता भएर सडक निर्धारण हुने बताइएको छ ।

देशभर सञ्चालित विभिन्न यातायात सेवा प्रदायकमध्ये साझा यातायातमा सरकारी लगानी सबैभन्दा बढी छ । साझामा ९० प्रतिशतभन्दा बढी शेयर सरकारी र स्थानीय निकायको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले स्थानीयवासीलाई सेवा दिन साझाको शेयर खरिद गरिरहेको व्यवस्थापक पाण्डेयले बताए ।

उनले भने, ‘स्थानीय निकायले साझामा केही लगानी गर्ने र आफ्नो क्षेत्रमा साझाका बस गुडोस् भन्ने चाहिरहेका छन् ।’ काठमाडौँ र ललितपुर महानगरपालिका तथा गोदावरी र महालक्ष्मी नगरपालिकालगायतले साझाको शेयर खरिद गरेका छन् ।

उपत्यकामा अहिले १० वटा सडकमा साझाका ४७ बस चलेका छन् । लामो दूरीमा काठमाडौँबाट बाग्लुङ र कुस्मासम्म बस सञ्चालनमा छ । केही महिना पहिलेदेखि अपाङ्गमैत्री बस समेत सञ्चालन गर्दै आएको साझाले ई टिकट शुरु गरिसकेको छ ।

विसं २०१८ मा शुरु भएको साझाको सेवा लामो समयसम्म ठप्प भएपछि विसं २०७० बाट फेरि सुविधा सम्पन्न बससहित सेवा सञ्चालनमा ल्याएको थियो । धेरै यातायात कम्पनीले साझाले जस्तै यात्रुलाई सुविधा दिने गरी सेवा चलाएका छन् । साझा यातायातको व्यवस्थापनमा मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बस समेत शुरु गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७