गोर्खाहरु समक्ष ब्रिटिश गृहमन्त्रीद्वारा क्षमायाचना


१० कार्तिक २०७५, शनिबार
javid गोर्खाहरु समक्ष ब्रिटिश गृहमन्त्रीद्वारा क्षमायाचना

काठमाडौं, १० कार्तिक (एजेन्सी)। ब्रिटिश गृहमन्त्री साजीद जावीदले ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा बोल्दै गोर्खाहरुसँग क्षमायाचना गरेका छन् ।

उनले ब्रिटेनमा आवासीय भीसाका लागि आवेदनमा केही भूतपूर्व गोर्खा सैनिकका नातेदारहरू लगायत दिएका चारसय भन्दा बढी मानिसहरूलाई डिएनए परीक्षण गर्न बाध्य पारिएको स्वीकार गर्दै क्षमायाचना गरेका हुन् ।

उनले मन्त्रालयले गरेको एक पुनरावलोकनले कम्तीमा ४४९ जनालाई आनुवंशिक (डिएनए) परीक्षण गर्न बाध्य पारिएको समेत बताए । डिएनए परीक्षण गर्न बाध्य पारिएकाहरूमध्ये ५१ जना ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकका परिवारका सदस्यहरू तथा र ब्रिटिश सरकारका लागि काम गरिसकेका अफगान नागरिकहरू रहेको पनि उनले बताए ।

‘यस्तो कामबाट प्रभावित सबैसँग म क्षमायाचना गर्न चाहन्छु । डिएनए परीक्षण गर्ने काम जहिले पनि बाध्यात्मक नभै स्वेच्छिक हुनुपर्दछ ।’, उनले भने,‘ त्यो अस्वीकार्य हो र यस सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको निर्देशन अस्पष्ट वा गलत थियो ।’

ब्रिटिश गृह मन्त्रालयले आप्रवासीहरूलाई डिएनए परीक्षण गर्न बाध्य पार्ने काम गलत भएको भन्दै चार महिना अघि त्यसको पुनरावलोकन सुरु गरेको थियो ।

बिबिसिका अनुसार उनले त्यसरी डिएनए परीक्षण गर्न बाध्य पारिएका मानिसहरूलाई ब्रिटिश सरकारले क्षतिपूर्ति दिने पनि जनाए । तर त्यस्तो रकम कति हुनेछ भन्ने चाहिँ उनले खुलाएका छैनन्।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७