तस्विरमा पूर्वको धार्मिक पर्यटकीयस्थल पाथीभरा

काठमाडौं, १२ कातिक । नेपाली महान चाड दशैं सकिना साथ पूर्वको धार्मिक पर्यटकीयस्थल पाथीभरामा आन्तरिक तथा बाह्रय पर्यटकको भीड बढ्न थालेको छ ।

अहिलेको मौसम ज्यानले थेग्नेसम्मको चिसो मात्र हुने र मौसम समेत खुल्ला हुने भएका कारण पाथीभरामा पर्यटकको आवागमन बाक्लिँदै गएको स्थानीयले जानकारी दिएका छन् । अहिले नेपालमा विभिन्न जिल्लाबाट मात्र होइन, भारतका विभिन्न ठाउँ र तेस्रो मुलुकका पर्यटकहरु समेत स–परिवार पाथीभरा मन्दिर दर्शनका लागि आइरहेका छन् ।

पाथीभरा माताको मूर्ति

पाथीभरा दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण पनि सर्वसाधरणहरु सबैखाले कष्ट भुलेर भए पनि पाथीभरा दर्शनका लागि आउने गरेका छन् ।

भक्तजनले चढाएको भेटी

पाथीभरा मन्दिरको दर्शन नेपालका हिन्दू धर्मावलम्बीहरुको एउटा महत्वपूर्ण मनोकांक्षा हो । वरिपरी हिमाल, बीचमा थुम्को । चुलीसम्म भरिएको पाथी जस्तै डाँडा भएकाले यसलाई पाथीभरा भनिएको किवंदन्ती छ ।

त्रिशुल चढाउने ठाउँ

पूर्वको ताप्लेजुङ्गमा रहेको पाथीभरा मन्दिर नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा पनि चर्चित छ । यो मन्दिरमा बर्षेनी नेपाल तथा भारतबाट एक लाख बढी भक्तजनहरुका दर्शन गर्न आउने गरेको पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले जनाएको छ ।

भक्तजनले पूजाआजपछि बालेको अगरबत्ति

समुन्द्री सतहबाट ३ हजार ७९४ मिटर उचाइमा रहेको यो मन्दिर परिसरबाट विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमाल आँखै अगाडि देख्न सकिन्छ । त्यस्तै ८ हजार मिटरभन्दा अग्लो कुम्भकर्ण हिमाल र मकाल हिमालु पनि देख्न सकिन्छ । यो समय मौसम सफा हुने भएकाले हिमाल हेर्नलाई उपयुक्त मौसम मानिन्छ ।

भक्तजनका लागि राखिएको दान पेटिका । यस दानपेटिकाबाट पनि ठूलो रकम जम्मा हुने गरेको छ

आगन्तुकको व्ययस्थापन
ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको चाप बढ्दै गएपछि मन्दिरमा पूजाआजा गर्न तथा खान–बस्नको व्यवस्थापन केहि असहज हुने गरे पनि सामान्यतया ः खान बस्न र पूजाआज नगरी फर्किनु पर्ने अवस्था भने छैन ।

लहरै रुपमा झुण्ड्याइएका घण्टीहरु

दर्शनार्थीको चाप बढेको बेला आगन्तुकको सुविधाका लागि स्थानीय होटल व्यवसायी र मन्दिर व्यवस्थापन समितिले विभिन्न पहल गर्दै आएका छन् ।

लहरै रुपमा झुण्ड्याइएका घण्टीहरु

अहिले दैनिक स्वदेशी तथा विदेशी गरी सयौंको संख्यामा दर्शनार्थी मन्दिरमा पूजा गर्न आउन थालेको जनाउँदै पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका उपाध्यक्ष रणबहादुर कार्की भन्छन्, ‘यहाँका झण्डै दुई दर्जन जति होटलले ४ सय हाराहारी पर्यटक तथा तीर्थालुलाई व्यवस्थापन गरिरहेका छन् ।’

मन्दिर आसपासमा भक्तजनले टाङ्गेका धागो

दशैं तिहारको समयमा धेरै मानिस फूर्सदिलो हुने र फूर्सदिलो समय घुमफिर र तीर्थाटनमा बिताउन चाहने हुँदा यहाँ आगन्तुकको बढी चाप हुने कार्की बताउँछन् ।

भक्तजनले टाङ्गेका धागो

दर्शनार्थी बढेसँगै होटल र गाडीमा लगानी बढ्यो
ताप्लेजुङको मुख्य आम्दानी के हो ? अधिकांश जिल्लाबासीले दिने जवाफ हो, अलैंची । अनि गलैंचा, छुर्पी र चिराइतो । तर, यी बाहेक आम्दानीको स्रोत थपिएको छ, पाथीभरा देवी दर्शन गर्न आउने आगन्तुक पनि ।

भक्तजनले बलिका लागि ल्याएको बाख्राको पाठो

पाथीभराले जिल्लाको परिचय मात्र दिएको छैन, पछिल्लो समय पर्याप्त आम्दानी समेत दिएको छ । वार्षिक अढाई लाख दर्शनार्थी जिल्ला भित्रने गरेका छन् । ती दर्शनार्थीले होटलदेखि घरेलु सामानमा समेत खर्च गर्छन् । सदरमुकाम–सुकेटार हुँदै पाथीभरा क्षेत्रमा खोलिएका चिया पसलदेखि किराना पसल दर्शनार्थीमै निर्भर छ ।

पाथीभराबाट देखिएको कञ्चनजंघा, कुम्भकर्णलगायतका हिमाल

होटल व्यवसायी संघ अध्यक्ष दिनेश खवास भन्छन्, ‘प्रत्यक्ष–अप्रत्यक्ष पाथीभरा जिल्लावासीको आम्दानी बनेको छ । पाथीभरा भएकैले धेरैको घरमा बिहान बेलुकीको चुलो बल्छ ।’ सामान्यतः एक जना दर्शनार्थीले एक दिनमा औसतमा २ हजार खर्च गर्ने गरेको पाइन्छ ।

विहानी पख देखिएको कुम्भकर्ण हिमालको रमाइलो दृष्य

गाडीभाडा र होटलको मात्र । यी बाहेक दर्शनार्थीले इच्छाएर गरेको किनमेलको तथ्यांक कहीं कतै छैन । दर्शनार्थीलाई लक्षित गरी सबैभन्दा बढी होटल र सवारी साधनमा लगानी गरेको पाइएको छ ।

४ करोड लगानी गरेर मेवाखोला हिल रिसोर्ट सञ्चालन गरेका सुरेश मादेन भन्छन्, ‘होटलमा लगानी गर्नुको मुख्य कारण पाथीभरा नै हो ।

गोब्रेसल्लाको रुख

सायद, पाथीभरा नहुँदो हो त मैले मात्र होइन, अधिकांशको होटलमा लगानी कम नै हुन्थ्यो होला ।’ पाँच सयदेखि पाँच हजारको कोठामा सिजनमा दर्शनार्थीले नै भरिने सञ्चालक मादेनले जानकारी दिए । दर्शनार्थी बोेकेको पिकअपदेखि स्कर्पियो गाडी सदरमुकाममा गुड्न थालेको छ ।

फूल फूलेर रमाइलो देखिएको घना जङ्गल क्षेत्र

तानपा–५ का पूर्ण कुमार गुरुङले भने, ‘आरामदायी यात्रा गर्न दर्शनार्थीले गाडी खोजेको पाए । त्यही भएर लगानी गरी स्कर्पियो गाडी खरिद गरे ।’ होटल तथा गाडीमा लगानी बढेसँगै रोजगारीको अवसर खुल्न थालेको छ । सुकेटारका रुद्र तिवारीले भने, ‘वर्षौं विदेशमा पसिना बगाइयो । तर घरलाई होटलको आकार दिएसँगै आम्दानीको स्रोत बन्यो ।’

फूल फूलेको रुख । यस्ता फूलहरुले यहाँको यात्रामा रोमाञ्चकता थप्ने गरेको छ ।

तिवारी थप्छन्, ‘मःम, चाउमिन, थुक्पा र चियाको आम्दानीमा सन्तुष्ट छु । घर व्यवहारदेखि छोराछोरीको पढाइ खर्च कटाएर वार्षिक १० लाख जति बचत हुन्छ ।’ पाथीभरा क्षेत्र विकास समितिका अनुसार पाथीभरा जिल्लावासीको भाग्य र भविष्यसँग जोडिएको छ । सेताम्मे हिमालदेखि राताम्मे लालीगुराँसको अवलोकनसँगै अध्ययन गर्नका लागि उपर्युक्त मानिन्छ ।

शिलामा पनि भगवानको आस्था ।

कसरी पुग्ने पाथीभरा ?
ताप्लेजुङको पाथीभरा पहाडी राजमार्ग छिचोल्दै जानु पर्ने भए पनि उति सकस भोग्नु पर्दै अहिले ताप्लेजुङ सदरमुकामसम्म नै कालोपत्रे सडक भएका कारण पनि ताप्लेजुङ पाथीभरा पुग्नका लागि तीर्थालुले खासै दुःख झेल्नु पर्दैन । मन्दिर भन्दा डेढ–दुई घण्टाकोपैदल यात्राको दूरीसम्म गाडी पुग्ने गरेका कारण पनि त्यति सकसपूर्ण छैन ।

यात्राका क्रममा बाटोमा भेटिएको जङ्गली फूल

फेरि पाथीभरा जति उचाइमा भए पनि यात्रुमा एक किसिमको यात्रा गर्ने शक्ति प्राप्त हुने गरेको विश्वासका कारण पनि मसिना बालबच्चा काखी च्यापेर हिंडिरहेका तीर्थालुको लस्करले यो कुरा पुष्टि गर्छ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा जाने पर्यटकको यात्रा सहज बनाउनका लागि स्थानीय नेपालस् सेनाले पदमार्गको स्तरोन्नतिको काम गरिदिएको छ ।

यात्राका क्रममा बाटोमा भेटिएको जङ्गली फूल

पाथीभरा मन्दिर जाने तीर्थयात्रीलाई पैदलयात्रा गर्न सहज होस् भन्ने उद्देश्यले काफ्लेपाटीभन्दा माथिको भागको पैदलमार्गको स्तरोन्नति नेपाली सेना गरिदिएको छ ।

झोलुङ्गे पुल

यहाँस्थित रणभिम गुल्मले पहिलो चरणमा नमुना स्वरुप ३०० मिटर बाटोमा ढुङ्गा छाप्ने काम गर्दै बाटोलाई थप चौडा बनाई दिएको छ । सेनाका जवान परिचालन गरी पदमार्ग व्यवस्थित गरिएपछि तीर्थालुको पैदल यात्रा धेरै सहजपूर्ण बनेको छ ।

दुबैतिर जङ्गल र बीचमा पाथीभरा जाने ढुङ्गे पदमार्ग

यसैबीच पदमार्गमा फोहर व्यवस्थापन गर्ने र अखण्ड दीप जडान गर्ने समेत तयारी भएको सेनाले जनाएको छ । वार्षिक लाखौंको संख्यामा दर्शनार्थी पुग्ने पाथीभरा मन्दिरमा जान सदरमुकामदेखि तल्लो फेदीसम्म यातायातको व्यवस्था रहेको छ ।

सोभन्दा माथि मन्दिरसम्मको पैदलयात्रालाई सहज बनाउन बाटो स्तरोन्नतिको भएको हो । पछिल्लो समय यहाँ केवुल कार सञ्चालनको सम्भाव्यता अध्ययन समेत भइरहेको छ । तर, केवुलकार सञ्चालनको विषयमा विभिन्न दृष्टिकोणमा छलफल भएका छन् ।

दर्शनाथी

कतिपयले पाथीभरा मन्दिर विकट स्थानमा भएकै कारण यस्को महत्व समेत बढिरहेको तर्क गर्ने गरेका छन् । तर पाथीभरा पुग्न कुनै झण्झट भने छैन । झापाको विर्तामोडदेखि ट्याक्सी वा बस चढेर ताप्लेजुङ्ग सदरमुकामसम्म एकै दिनमा सजिलै पुग्न सकिन्छ ।

पर्दमार्ग मर्मत गर्दै नेपाली सेना । फाइल फोटो

तराईको सम्म स्थानदेखि पहाडको नागबेली बाटोहरु, इलामको चियाको थुम्को, कृषि क्षेत्रको प्रगति, पाँचथरको पौरख र ताप्लेजुङ्गबासीको अतिथि सत्कार सबैको स्वाद केहि घण्टामै लिन पाउने भएका कारण पनि यहाँको यात्रा रोमाञ्चक हुने गर्दछ । ताप्लेजुङको तोङवा तान्दै सुकुटीको स्वाद लिनुको मज्जा यहाँ आएका धेरैको जिब्रोमा गढ्ने गरेको छ ।

पैसाको प्रवन्ध
ताप्लेजुङ्गको पाथीभरा पुग्नका लागि नेपालको पश्चिमी जिल्लाका पर्यटकीय र धार्मिकस्थलको भ्रमणका लागि जस्तो बढी पैसा खर्च गर्नु पर्दैन । तुलनात्मक रुपमा सुगम जिल्ला भएका कारण पनि यातायातका साधनमा पनि उति धेरै पैसा खर्च हुँदैन ।

पाथीभरा हिंडेका तीर्थालु ताप्लेजुङ्गमा । फाइल फोटो

काठमाडौंबाट एक जना व्यक्ति ताप्लेजुङको पाथीभरासम्म पुग्न तीनदेखि चार हजार गाडी भाडा बोक्दा पर्याप्त हुन्छ भने खान बस्नका लागि दुई हजार हाराहारी खर्च भए पुग्छ । अझ सामुहिक रुपमा जाँदा केहि सस्तो समेत पर्न जान्छ । आफ्नै गाडीमा जान चाहनेहरुका लागि त खर्चको मात्र थप कम भएर आउँछ ।

प्रतिक्रिया दिनुहोस्