‘मेरो गाडी मन्त्री बन्ने बाटोतिर जाँदैन, त्यो मेरो बाटो होइन’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया जारी छ । तर, ३ जेठ २०७५ मा पार्टी एकताको घोषणा हुदै गर्दा जुन कार्यतालिका बनाइएको थियो । त्यो अनुरुप हुन सकेको छैन । पार्टी कमिटि अहिले चलायमान छैन । नेता तथा कार्यकर्ताहरु विजनेशविहिन भएका छन् । नेकपाको सरकार छ । तर, जनअपेक्षा अनुरुप काम नभएको भन्दै आलोचना सुरु भएको छ । किन यसो भइरहेको छ त ? नेकपाका स्थायी कमिटी सदस्य एवं प्रभावशाली युवा नेता योगेश भट्टराईसँग शन्तराम बिडारीले गरेको कुराकानी :-

योगेश भट्टराई

अहिले नेकपाको सांगठनिक गतिविधिमा सुस्तता आयो, नियमित रूपमा सामूहिक बैठक र छलफलहरू हुन छाडे नि, किन यस्तो भएको ?
– जेठ ३ गते पार्टी एकीकरण भएयता औपचारिक रूपमा स्थायी कमिटी र केन्द्रीय कमिटीबाहेक नेकपाका कुनै कमिटीहरू बनेका छैनन् । प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रीय, नगर र गाउँ कमिटीहरू र जनसंगठनहरूका पनि सोही ढंगले एकीकरण र एकीकृत कमिटी बन्नुपर्ने अवस्था छ ।

यसरी हेर्दा दुईवटा पार्टी मिलाएर करिब १० लाख मान्छे पार्टीका विभिन्न कमिटीमा संगठित हुनुपर्ने थियो । तर, आज ती करिब १० लाख मान्छेहरू कमिटीविहीन छन् ।

जब १० लाख मान्छेहरू कमिटीविहीन छन् र बनेका केन्द्रीय कमिटी र स्थायी कमिटीहरूको समेत नियमित बैठक बसेका छैनन् र पार्टीमा छलफलहरू भइरहेका छैनन् । यही कारणले स्वाभाविक हो पार्टी केही हदसम्म सुस्ताएको छ । पार्टीमा गति पैदा भएको छैन भन्ने कुराले त्यसबाट देखिन्छ ।

० कहिलेबाट गति लिन्छ त ?
– अब हामी छिट्टै नै पार्टीको यो खालको संगठनात्मक स्थितिलाई अन्त्य गर्छौं । र, सबै पार्टी सदस्यलाई पार्टी कमिटीमा आबद्ध गराउँछौं । पार्टीका तहगत कमिटीहरू छिट्टै बनाउँछौं । मोर्चा संगठनहरू सबै बनाउँछौं । र, आउने एक–दुई महिनाभित्र सबै १० लाख मानिसलाई कुनै न कुनै पार्टी कमिटीभित्र समेटिसकेका हुन्छौं ।

त्यसपछि यो हिउँद अवधिभरिमा नेपाल कम्युनिस्ट पार्टीले यो देशमा एउटा तरंग ल्याउँछ, गतिविधि गर्छ । साथै, यो अवधिमा सरकारद्वारा विनियोजित विकास बजेटहरूको कार्यान्वयन हुन्छ । पार्टीको सांगठनिक एकताको प्रक्रिया पनि अगाडि बढ्छ । र, दुवै काम सँगसँगै अगाडि बढ्दै जाँदा यो बीचमा हामीलाई जति घाटा भएको छ, त्यसको क्षतिपूर्ति हुने गरी हामी अगाडि बढ्छौं ।

० पार्टी एकता हुँदा जुन खालको उत्साह र उमंग नेता–कार्यकर्तामा पैदा भएको थियो, पछिल्लो समय त्यो उत्साह किन मर्दै गएको होला ?
– नयाँ बच्चा जन्मिएको दिन त्यो क्षण जति खुसीको क्षण हुन्छ, पछिपछि त्यो क्रमशः घट्दै जान्छ । सधैं त्यस्तै र त्यत्तिकै खुसी भइरहनुपर्छ भन्ने छैन ।

ठीक यसैगरी दुई कम्युनिस्ट पार्टीका बीचमा एकता भएर जुन ढंगले नेपाल कम्युनिस्ट पार्टी बन्यो, त्यो धेरै ऐतिहासिक थियो । हामीले बृहत् ऐतिहासिक एकता गरेका थियौं  यो नेपाल राष्ट्रको आवश्यकता हो, नेपाली जनताको चाहना हो । आजको विश्व कम्युनिस्ट आन्दोलनलाई नेपालबाटै एउटा नयाँ दिशा दिने एउटा महत्वपूर्ण घटना पनि हो । यो काम जब हामीले गरेका छौं भने आज दुनियाँका कम्युनिस्टहरू नेपालतिर नजर लगाइरहेका छन्, नेपाललाई नमुना मानिरहेका छन् । यो हामी सबैका लागि खुसीको कुरा हो ।

सँगसँगै हाम्रा केही कमजोरी अवश्य पनि भएका छन् । ती कमजोरीलाई सच्याउँदै हामी आगामी दिनमा अगाडि बढ्नेछौं । मलाई विश्वास छ, पार्टी सधैं संगठनात्मक शून्यतामा रहँदैन । यो स्थितिलाई हामी तोड्छौं । सरकारबारे भएका कतिपय गुनासाहरूलाई हामी गम्भीरतापूर्वक सुन्छौं । ती गुनासालाई हटाउने कोसिस गर्छौं । भएका राम्रा कामहरूको प्रचार गर्छौं । र, यसरी फेरि पार्टीले एउटा नयाँ तरंग र जनविश्वास पैदा गर्ने काममा हामी एकताबद्ध भएर लाग्छौं ।



० नवसंगठन र कमिटीहरूका एकीकरणका लागि जुन खालका कार्यदलहरू बनेका थिए, कार्ययोजनाहरू पनि अघि सारिएका थिए तर अहिले त्यो कार्ययोजनाअनुसार किन काम हुन सकेन ?
– कार्यदलहरू बनेका छन् । कार्यदलहरू सचिवालयले बनाएको हो । ती कार्यदल बन्ने प्रक्रियाहरू पनि कतिपय सवालमा अपारदर्शी छन् । स्वाभाविक हो, अपारदर्शी ढंगले भएका कामहरूले राम्रो परिणाम ल्याउन सक्दैन । त्यसकारण नै हामीले विगत केही समयदेखि पछिल्ला दिनहरूमा पार्टी अध्यक्षद्वयको गम्भीरताका साथ ध्यानाकर्षण गर्दै आएका छौं । पार्टी स्थायी समितिको बैठक डाक्न भनेका छौं । पार्टी केन्द्रीय कमिटीको बैठक डाक्न भनेका छौं । ती बैठकहरू आयोजना हुने क्रममा यो बीचमा भएका सरकारको कामहरूको समीक्षा पनि हामी गर्छौं ।

पार्टीका आन्तरिक कामहरूको पनि समीक्षा गर्छौं । यसमा पार्टीकै वरिष्ठ नेताहरूको कतिपय सवालमा असहमति छ । हामीले सार्वजनिक सञ्चारमाध्यमहरूबाट त्यो सुनिरहेका छौं कि असहमतिहरू कति जायज छन्, कति नाजायज छन्, त्यो पनि हामीले छलफल गर्नुपर्यो । उययुक्त ठाउँहरूमा नै त्यो छलफल हुन्छ । र, पार्टीले यो निराशाको जो अवस्था हो, त्यसलाई तोड्दै एउटा उत्साह, स्फूर्तिको वातावरण बनाएर हामी अगाडि बढ्छौं ।

० सातवटा प्रदेशका २८ जना नेतालाई दिइएको जिम्मेवारी पनि विवादमुक्त हुन सकेन, पहिले बनाएको मापदण्ड तोडेर जिम्मेवारी दिइयो भन्ने छ, यो विषय अब समाधान भइसकेको हो कि फेरि उठाउनुहुन्छ ?
– अहिले पार्टी सचिवालयको निर्णय भनेर पार्टीका प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरू जसरी तोकिएका छन्, त्यो निर्णय एउटा अन्तरिम व्यवस्था मात्र हो, स्थायी निर्णय होइन ।

जब त्यो निर्णय पार्टी स्थायी कमिटीमा र केन्द्रीय कमिटीमा आउँछ र त्यहाँ छलफल गरेर त्यसमा आवश्यक संशोधन वा हेरफेर अथवा त्यसैलाई अनुमोदन गर्ने अवस्था सिर्जना हुन्छ, त्यसपछि मात्र त्यो निर्णय स्थायी हुन्छ । त्यसैले, अहिले यो निर्णय कामचलाउ निर्णय हो । कामचलाउ निर्णयबाट एउटा दीर्घकालीन र आमअपेक्षाअनुसारको परिणाम नआउने स्वाभाविक हो ।

० तपाईंहरूजतिको जिम्मेवार नेताहरूले पार्टीका अधिकांश असन्तुष्टि सामाजिक सञ्जालमार्फत पोख्ने गर्नुहुन्छ, किन यसो भएको, त्यो कुरा पार्टीमा पो राख्नुपर्ने होइन र ?
– हामी कति कुराहरू सामाजिक सञ्जालमा र सार्वजनिक सञ्चारमाध्यमहरूमा भन्ने र कति कुराहरू पार्टीमा भन्ने भन्ने कुरामा सचेत छौं । त्यसलाई छुट्ट्याएर हेर्नुपर्छ । सामाजिक सञ्जालमा भन्न नहुने कुराहरू भनिँदैन, भन्नु पनि हुँदैन ।

त्यसले पार्टीको एकतालाई खण्डित गर्न, कार्यकर्ताहरूमा भ्रम पार्न सक्छ । त्यसमा हामी सचेत छौं र सँगसँगै एउटा लोकतान्त्रिक पार्टी हुनुको नाताले पार्टीभित्रका आन्तरिक विषयवस्तुहरू, छलफलहरू, पार्टीभित्र भएका वादविवादहरू, निर्णयहरूलाई सार्वजनिक बहसको विषय बनाउने कुरासँग आत्तिनुहुँदैन । त्यो सार्वजनिक बहसको विषय हुन्छ ।

किनभने, पाटी नै एउटा सार्वजनिक संस्था हो । जनता, पार्टी सदस्य र नेताहरूप्रति त्यसको जवाफदेहिता छ । उत्तरदायित्व छ भनेपछि राजनीतिक संस्था वा सार्वजनिक संस्थाका निर्णयहरू, सार्वजनिक ठाउँहरूमा बहस–छलफल हुन्छन् । त्यसलाई अस्वाभाविक रूपमा लिनुहुँदैन ।

सवाल यति मात्र हो, छलफल नगर्ने नाममा पार्टीमा निरंकुशता र सर्वसत्तावाद हावी हुँदै जाने र छलफल गर्ने नाममा पार्टीमा अराजकता र अनुशासनहीनताको अवस्था सिर्जना हुने, यी दुबै प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । फेरि पनि पार्टी अहिलेका लागि होइन, आउने पुस्ताहरूको भविष्यको निम्ति यो पार्टी हो । त्यसैले, पार्टीप्रति र यसको एकताप्रति हामी संवेदनशील छौं । विशेषगरी पार्टीका दुवै अध्यक्षले पार्टी एकताको संवेदनशीलतालाई उच्च महत्वका साथ ख्याल गर्नुहुनेछ भन्ने हामी अपेक्षा राख्छौं ।


० केही दिनअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र तपाईंको सामाजाकि सञ्जालमा दोहोरी नै चल्यो, नेताहरूको यो दोहोरीलाई कार्यकर्ताहरूले राम्रो मानेनन्, खासमा भएको के हो ? स्पष्ट पारिदिनुहुन्छ कि ?
– खासमा त्यस्तो केही होइन । उहाँसंग मेरो त्यस्तो नराम्रो केही छैन र वादप्रतिवाद गर्नुपर्ने आवश्यकता म ठान्दिनँ । उहाँले के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो । म उहाँसँग जुध्न जानुपर्ने, लड्न जानुपर्ने, उहाँसँग पौंठेजोरी खेल्नुपर्ने आवश्यकता मलाई छैन ।

० तर दुईपटक त तपाईं र उहाँको मज्जाले नै दोहोरी चल्यो त ? कहिले माकाफुईंको प्रसंग चल्यो भने कहिले सत्ता अन्धो हुन्छ भन्ने प्रसंग चल्यो, यो कसरी सिर्जना भयो ?
– मैले पछिल्लो पटक पोष्ट कसैप्रति इंगित छैन । मैले त सैद्धान्तिक कुरा गरेको हो । कहिलेकाहीँ सत्ताले मान्छेलाई अन्धो बनाउँछ, सत्ताले मान्छेलाई एकोहोरो बनाउँछ ।

यही अन्धो र एकोहोरोपनले नै दुनियाँमा ठूल्ठूला नचाहिँदा लडाइँहरू पनि भएका छन् । महाभारताको युद्धदेखि अन्य युद्धहरू पनि सत्ता र शक्तिको दम्भकै कारण भएका छन् । त्यो कुराबाट हामी सचेत हुनुपर्छ । नत्र कहिल्ेकाहीँ सत्ता र शक्तिले निर्माण मात्रै गर्दैन, ध्वंस पनि गर्छ । ध्वंसको दिशातिर हामी नजाऔं भनेर मैले सबै साथीहरूलाई अपिल गर्न चाहन्छु ।

० तपाईं पनि मन्त्री बन्ने चर्चा धेरैपटक चल्यो, तर मन्त्री बनाइएन, अहिले अधिकांश मन्त्रीहरू बदनाम भएका र विवादमा परेको देख्दा अहिले बरु मन्त्री नभएर ठिकै गरिएछ भन्ने लागेन ?
– कुनै मन्त्रीहरूको बारेमा पनि मेरो केही पनि टिप्पणी छैन । मन्त्री बन्ने कुरा मेरो लाइन होइन । मेरो गाडी त्यतातिर जाँदैन । मेरो गाडीको बाटो त्यतातिर छैन ।

० नेकपाले नेतृत्व गरेको दुई तिहाइको सरकार छ, घोषणापत्र एकातिर छ, जनताको इच्छा आकांक्षा अर्कोतिर छ, तर यति बेला पनि किन यो सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको होला ?
– सरकारबारे धेरै कुरा मन्त्रीहरूले वा सरकारसँग नजिक भएका साथीहरूले नै बताउन सक्नुहुन्छ । दैनिक सरकारका क्रियाकलापहरूहरू मेरो संलग्नता छैन । यो हाम्रो पार्टीको सरकार भएको नाताले सरकारको राम्रा अथवा नराम्रा कामको जस अथवा अपजसको भागीदार म पनि हुन्छु । यो सरकारले कतिपय असाध्यै राम्रा र ऐतिहासिक कामहरू पनि गरेको छ ।

चाहे त्यो नेपाल भारतको सम्बन्धको मामिलामा होस् वा चाहे त्यो नेपाल र चीनबीच प्रोटोकलमा भएको हस्ताक्षर होस्, चाहे अरू दुनियाँका अन्तर्राष्ट्रिय शक्तिहरूसँगको सम्बन्ध र सम्पर्कलाई अझै जीवन्त ढंगले अगाडि बढाएको कुरामा होस्, यस्ता कतिपय ऐतिहासिक उपलब्धि यो सरकारको पालामा हामीले प्राप्त गरेका छौं ।

हिजोको भन्दा आज भ्रष्टाचारका मुद्दाहरू सार्वजनिक सञ्चार माध्यममा कम भएका छन् । त्यसको मतलब हिजोभन्दा आज सुशासनको स्थिति सुदृढ भएको भन्ने नै ठान्नुपर्छ । राजस्व संकलनको स्थिति हेर्ने हो भने अर्थमन्त्रीले भनीरहनुभएको छ, झन्डै हामी विगत वर्षको तुलनामा ३७ प्रतिशत जति राजस्व वृद्धि गरेका छौं ।

त्यो पनि सुशासनबिना सम्भव हुने कुरा होइन । मौलिक हकसम्बन्धी कानुनहरू हामीले तयार गर्यौं । ती सर्वसम्मत ढंगले बनेका छन् । पक्ष प्रतिपक्ष सबै मिलेर हामीले बनाएका छौं । त्यो धेरै महत्वपूर्ण कुरा हो ।

अब हामी यो सरकार बनेपछि तिनै तहमा नयाँ सरकार बनेको छ । ती सरकारहरूलाई स्थापित गर्ने काममा हाम्रो पार्टी लागिरहेको छ । त्यसको भौतिक संरचना निर्माणदेखि लिएर प्रशासनिक संरचना निर्माणदेखि लिएर त्यसका कानुनी संरचना निर्माणदेखि लिएर धेरै मात्रामा संघीय शासन प्रणालीका पूर्वाधार विकास गर्ने कुरामा अहिलेको सरकारले एकपछि अर्को महत्वपूर्ण निर्णय गर्दै आएको छ । कर्मचारी समायोजनदेखि अरू कतिपय सन्दर्भमा राम्रो काम गर्दै आएको छ ।


० तर यही सरकारले अत्यन्त विवादास्पद पात्रहरूको नियुक्ति गर्नेदेखि लिएर निर्मला पन्तको बलात्कार तथा हत्याजस्तो अपराधको तथ्य पत्ता लगाउन नसकेर चौतर्फी आलोचना पनि खेपेको छ ?
– हो, यस्ता केही समस्याहरू छन् । केही कमजोरीहरू पक्कै पनि भएका छन् । विभिन्न व्यक्तिहरूको नियुक्ति गर्ने सन्दर्भमा होस् अथवा शान्ति सुरक्षाको स्थितिलाई अझै मजबुत पार्ने अवस्थामा होस् । तर, यसो भनेर यो सरकार सम्पूर्ण हिसाबले फेल भएको छैन । सरकारको दिशा सकारात्मक छ । त्यो सही दिशा पक्रिँदापक्रिँदै पनि कतिपय कमजोरीहरू, असफलताहरू हुन सक्छन् । त्यो एकदुईवटा विषयमा असफलता भयो भनेर सिंगो परीक्षमा नै फेल भयो भन्न सकिँदैन । प्रयत्न सही गरेको छ कि छैन, हामीले त्यो हेर्ने हो ।

प्रधानमन्त्रीको प्रयत्न सकारात्मक छ । मन्त्रीहरू पनि आमहिसाबले सही नै काम गरिरहेका छन् भन्ने म ठान्छु । र, अब जनस्तरबाट आएका र मिडियामा आएका गुनासा केही पनि होइन भन्ने पनि म ठान्दिनँ । ती गुनासाहरूलाई, आलोचनाहरूलाई हाम्रो सरकारले गम्भीरतापूर्वक लिनुपर्छ, त्यसलाई सच्याउनुपर्छ, सुधार्नुपर्छ ।

यति मात्रै म भन्न चाहन्छु कि नेपालमा अनेक सरकारहरूको अभ्यास भयो । यो सरकारचाहिँ एउटा अन्तिम विकल्प हो । यसको अर्को विकल्प छैन अब । यो सरकार असफल भयो र अर्को कुनै पार्टीको सरकार आएर यो देशमा फेरि गर्छ भन्ने मलाई लाग्दैन । यो अन्तिम विकल्प हो । यदि यो लोकतान्त्रिक विकल्प असफल भयो भने मुलुकमा हामीले नचिताएको डरलाग्दो राजनीतिक प्रलय हुन सक्छ । त्यसकारण, यो सरकारलाई कुनै पनि सर्तमा असफल हुने छुट छैन ।


० सरकारको कामगराइ हेर्दा पार्टी र सरकारबीच समन्वय नमिलेको जस्तो देखिन्छ नि ?
– पार्टी र सरकारको बीचमा राम्रो समन्वय र राम्रो सम्वन्ध चाहे जति मात्रामा हुन सकेको छैन । यो यथार्थ हो । त्यसले नै कतिपय समस्याहरू उत्पन्न गरेका छन् ।

त्यसकारण, हामीले स्थायी कमिटीको बैठकमा पार्टी र सरकारबीचको सम्बन्ध, सरकारको समीक्षाबारे पनि छलफल हुनुपर्छ भनेका थियौं । तर, दुर्भाग्यवश विभिन्न कारणले कात्तिक १२ र १३ गते बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । अब जहिले बैठक होला, त्योबेला हामी यो छलफल गर्छौं । मैले पार्टी अध्यक्षहरूलाई समय घर्किनुअगावै हामी सचेत होऔं, नत्र समय बलवान् हुन्छ भनेको छु ।

पछिल्लो समय वामदेव गौतमलाई चुनाव उठाउने कुरा आयो, फेरि त्यत्तिकै सेलायो, यसबारे तपाईंको के भनाइ हो ?
– त्यसमा मेरो केही पनि प्रतिक्रिया छैन । किन वामदेव गौतम चुनाव उठ्न लाग्नुभएको थियो ? किन उहाँलाई उठ्नू भनिएको थियो ? मैले सुनेअनुसार पार्टी अध्यक्षहरूले नै उहाँलाई उठ्न भन्नुभएको थियो रे ! पार्टीको सचिवालयममा नै छलफल भयो रे !

वामदेव गौतम कहीँ न कहीँ चुनाव लड्ने भनेर उहाँहरूले छलफल गर्नुभएको रहेछ । किन त्यो छलफल गर्नुभयो ? किन वामदेव गौतम उठ्नुपर्ने ? किन फेरि नउठ्नुपर्ने ? यो विषय पार्टीको स्थायी समितिमा कहिले पनि छलफल भएको छैन । तसर्थ, आफूले नजानेको, नसुनेको, नबुझेको र आफूलाई थाहा नभएको विषयमा नबोल्नु नै राम्रो हुन्छ जस्तो लाग्छ ।
बुधबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्