राजधानीमा २० लाख बढी गाडीको चाप, ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण

काठमाडौं, १७ कात्तिक । काठमाडौँ उपत्यकामा ११ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइछ ।

विशेषगरी देशका अन्य १३ अञ्चलमा दर्ता भएका २० लाखभन्दा बढी गाडीको चाप समेत राजधानीमा परेकाले व्यवस्थापकीय पक्ष कठिन बनेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त बताउँछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४-०७५ मा मुलुकभर ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन् । तीमध्ये वाग्मती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४१३ सवारीसाधन दर्ता भएको छ । मुलुकभर दर्ता भएकामध्ये ३६ दशमलव ४० प्रतिशत सवारीसाधन वाग्मतीमा गुड्ने गर्छ ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक पन्तले वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनमध्ये ९७ प्रतिशत निजी सवारी रहेको बताए । बाग्मतीमा दर्ता भएका गाडीमध्ये ९० प्रतिशत उपत्यकामा गुड्दा ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण हुने गरेको उनी बताउँछन् ।

वाग्मतीमा दर्ता भएका सवारीसाधनमध्ये ९ लाख २१ हजारभन्दा बढी मोटरसाइकल मात्रै छ । बस र ट्रक ४८ हजार २४२, पावर टिलर र डोजरको संख्या १३ हजार ५५३ छ । यसैगरी कार र जीपको संख्या एक लाख ४२ हजार ३३१ छ भने टेम्पो र माईक्रोबस ६ हजार ३३० दर्ता भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला समयमा अत्याधिक रुपमा निजी सवारी भित्रिएको र देशका ७७ वटै जिल्लाबाट गाडी काठमाडाैंमा आउने र बाहिर दर्ता भएका सवारीसाधन समेत काठमाडौँमै चल्ने हुँदा ट्राफिक व्यवस्थापन थप जटिल बन्ने गरेको छ ।

सडक विभागको तथ्याङ्कमा उपत्यकाको सडक दुई हजार १४ किलोमिटर छ । एक लेनको ६६० किमी, दुई लेन २३९ किमी र चार लेनको सडक १९३ किमी छ ।

उपत्यकामा एक जना ट्राफिक प्रहरीले औषत ८१४ वटा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसैगरी एक जना ट्राफिक प्रहरीले एक दशमलव ५ किमी सडकको ट्राफिक व्यवस्थापन गर्नुपर्ने अबस्था रहेको प्रहरी वरिष्ठ उपरीक्षक पन्त बताउँछन् ।

काठमाडौँ उपत्यकामा दैनिक करिव १० लाख सवारी गुड्छन् । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा एक हजार ४०० ट्राफिक प्रहरीले काम गर्दै आएका छन् । ट्राफिक व्यवस्थापनमा प्रविधियुक्त नगरेसम्म प्रभावकारी हुन नसक्ने निष्कर्ष प्रहरीको छ ।

उपत्यकामा विभिन्न पूर्वाधार निर्माण तथा खाल्डाखुल्डीका कारण सडकको अबस्था कमजोर छ भने सबै क्षेत्रमा आकासे पुल बन्न सकेको छैन । व्यक्ति सडकबाट हिंड्ने अबस्था हटाउन सकिएको छैन ।

ट्राफिक संकेतहरुको समेत अभाव छ । पुलमुनी सडक खोल्न सकिएको छैन । फुटपाथ, खाल्डाखुल्डी र पोल व्यवस्थापन हुन नसक्दा ट्राफिक व्यवस्थापन हम्मेहम्मे पर्छ ।

निजी सवारी दिनप्रतिदिन बढ्दै गएको र तीन पाङग्रे सवारीको प्रयोग, आधुनिक प्रविधिको कमी तथा नागढुंगा, कोटेश्वरमा प्रहरीले नै अभिलेख राख्नुपर्ने अबस्थाले जाम बढ्दो रहेको प्रहरीको निष्कर्ष छ ।

पार्किङको अभाव, मोटर ग्यारेजलाई व्यवस्थापन गर्न नसक्नु, चक्रपथ बाहिर पार्किङको व्यवस्था गर्न नसक्नुले चुनौती कायमै छ । ट्राफिक ज्ञानको कमी र व्यक्ति कै धारणामा परिवर्तन हुन नसकेकाले ट्राफिक शिक्षालाई विद्यालय तहबाटै जोड्नुपर्ने माग प्रहरीको छ ।

‘यहाँ ६० वटा गाडी ल्याउनु र ६० जना बोक्ने एउटा गाडी ल्याउनुमा निक्कै फरक पर्छ’, प्रहरी वरिष्ठ उपरीक्षक पन्तले भने, ‘यसतर्फ ध्यान जानुपर्छ ।’

स्मार्ट लाईट, सिसी टिभीको व्यवस्था, डिजिटल अभिलेख प्रणाली, जिपिएसको प्रयोग र ट्राफिक चिल्ड्रेन पार्क बनाउन सके ट्राफिक व्यवस्थापन सहज हुने अनुमान प्रहरीको छ ।

नीजि तथा साना एवं पुराना र तीन पाङ्ग्रे सवारीलाई निरुत्साहित गर्नेतर्फ ध्यान दिनुपर्ने प्रहरीले ठम्याई छ । उक्त विषयसमेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत ट्राफिक प्रहरीले प्रतिवेदन बुझाएको छ ।

नेपालमा विसं १९५८ सालमा राणा प्रधानमन्त्री वस्र शमशेरको पालामा पहिलो पटक कार भित्रिएको थियो । त्यसबेला रामदलबाट ट्राफिक नियन्त्रणको काम थालिएको थियो । विसं २०५९ मा बल्ल आएर उपत्यकाको १० स्थानबाट ट्राफिक बत्तीको व्यवस्था शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्