एउटा गुमेको देश ‘सिक्किम’ को पीडादायी कथा

-बि एस दास

७ अप्रिल १९७३ को मध्याह्न । म लन्च खाँदै थिएँ । विदेश सचिव केवल सिंहको फोन आयो । उनले मलाई तुरुन्त आउन भने । म हतारहतार फरेन अफिस पुगें । उनले बडो हार्दिकतापूर्वक मेरो स्वागत गरेर भने, ‘तपाईंलाई तुरुन्तै सिक्किम सरकारको जिम्मेवारीमा पठाइँदै छ ।

सिक्किम प्रशासन ‘कोल्याप्स’ भएको छ र चोग्याल ( सिक्किमका राजा) ले हाम्रो सहयोग खोजेका छन् । त्यहाँका जनता प्रजातान्त्रिक प्रणालीको माग गर्दै सडकमा उत्रेका छन् । तपाईं जतिसक्दो चाँडो पुगेर जिम्मेवारी सम्हाल्नुपर्नेछ । त्यहाँको स्थिति फेरि सामान्य बनाउनुपर्नेछ र जनताको मागलाई ध्यानमा राखेर राजनीतिक समाधान खोज्नुपर्नेछ । यो अलि कठिन ‘असाइनमेन्ट’ हो । तपाईं त्यो अवस्था सम्हाल्न सक्नुहुन्छ र तपाईंको कूटनीतिक क्षमतामाथि हामीलाई विश्वास छ ।’

चिनियाँ प्रतिक्रियाबारे उनले मलाई सचेत हुन पनि भने । भारतीय सेना सतर्क अवस्थामा थियो । उनले सफलताका लागि मलाई शुभकामना दिए । विदेश मन्त्रालयमा एक दिनको बि्रफिङपछि ९ अपि्रलमा म ग्यान्टोक पुगें । मेरो नियुक्तिलाई रेडियो र अखबारहरूले प्रमुख समाचार बनाइसकेका थिए । समाचारमा उनीहरूले ‘ सिक्किम लाई भारतले लिएको’ उल्लेख गरेका थिए ।

सिक्किमका राजधानी गान्तोक

सिलिगुडीबाट एयर फोर्सको हेलिकप्टर चढेर म ग्यान्टोक पुगें । हेलिप्याडको दुवैतर्फ चोग्यालविरोधी प्रदर्शनकारी थिए, जसको नेतृत्व काजी लेन्डुप दोर्जीले गरेका थिए । भारतको राजनीतिक कार्यालयका सुधीर देभारे, सिक्किम का मुख्यसचिव, प्रहरी कमिस्नर र भारतीय सेनाका प्रतिनिधि सबैले मेरो स्वागत गरे ।

समारोह नै गरी मलाई ड्यासमा बसाइयो । पहिले देवानहरू बस्ने घरमा मेरो बसोबासको प्रबन्ध गरिएको थियो । त्यहाँसम्म म हिँडेरै गएँ । त्यो लामो र थकाइ लाग्ने हिँडाइ थियो । तर, त्यो अनेकन रहस्यहरूले भरिएको रोमाञ्चकारी अनुभव पनि थियो । मेरो लामो करियरमा यसरी स्वागत पाएको यो नै पहिलो अवसर थियो ।

अर्को दिन मैले चोग्यालसँग भेट्न समय मागें । उनका सचिवले मलाई जानकारी गराए कि उनले आफ्ना ज्योतिषसँग परामर्श गरेपछि शुभअवसर पारेर भेट्नेछन् । भारतीय प्रधानमन्त्रीले सिक्किम सरकार चलाउन मलाई प्रतिनिधिका रूपमा खटाएको भए पनि चोग्याल त्यहाँका शासक थिए र संविधानतः म उनका लागि नियुक्त भएको व्यक्ति थिएँ । उनले अर्को दिन मलाई भेटे, जुन दिन उनका ज्योतिषले शुभदिन ठहर्‍याएका थिए ।

हाम्रो भेटघाट अप्ठ्यारो र रूखो खालको थियो । कूटनीतिक स्कार्फ आदानप्रदानको सामान्य औपचारिकतापछि चोग्यालले भने, ‘मिस्टर दास, कृपया नोट गर्नुहोस्- सिक्किम गोवा होइन, जहाँ तपाईं प्रशासक बन्न आउनुभएको छ । हामी स्वतन्त्र छौं, तपाईंको सेवा मेरो सरकारलाई सहयोग गर्न लिइएको हो । यसमा कुनै असमझदारी नहोस् ।’

त्यसपछि उनले दिल्लीले आफूलाई कसरी खराब व्यवहार गर्‍यो र कसरी आफूप्रति अन्याय गरियो भनी गाली गर्न सुरु गरे । काजी लेन्डुप दोर्जीका मानिस कसरी सिक्किम को परिचय ध्वस्त गर्न गुन्डागर्दीमा उत्रिए भनी उनले असन्तुष्टि व्यक्त गरे । उनले मलाई दिल्लीलाई यो बताउन भने कि, ‘दिल्लीको असली मित्र सडकमा आतंक र हिंसा मच्चाउँदै हिँड्ने गुन्डाहरू होइनन्, ममात्र हुँ ।’

भारतीय सेनाका मानार्थ मेजर जनरल भए पनि यही सेनाले अनादर गर्दा उनी हैरान भएका थिए । भारतीय सेनाले सबै प्रहरी चौकीहरू नियन्त्रणमा लिएको थियो । ‘म यो अपमानका लागि भारतीय सेनालाई कहिल्यै माफ गर्न सक्दिनँ,’ उनले भने ।

अन्ततः उनले यो पनि भने, उनी ‘प्रशासक’ को मेरो पद स्विकार्न सक्दैनन् । मैले कूटनीतिक भाषामा भनें- सायद ‘प्रमुख कार्यकारी’ भनेर यसको नाम फेर्न सकिएला । चतुर व्यक्ति भए पनि उनले यसमा सूक्ष्म अन्तर बुझेनन् ।

‘प्रमुख कार्यकारी’ले स्वतः सरकार प्रमुखको पद जनाउँछ, जसले सबै कार्यकारी शक्ति आफूसँग राखेको हुन्छ । यो कुरा विचार नगरेरै उनी यसमा राजी भए । र, मैले यसमा विदेश सचिवको सहमति पाएँ । यसरी प्रशासकको नियुक्ति लिएर गएको म सिक्किम को प्रमुख कार्यकारी भएँ, यसअघि चोग्यालले शासकका रूपमा प्रयोग गरेका सबै शक्तिका साथ सरकारको नेतृत्व गर्न पुगें । न्यायिक शक्तिचाहिँ अझै उनीसँगै थियो, आखिरमा सिक्किम को उच्च न्यायालयपछि अपिल सुन्ने उनी नै थिए ।

चोग्याललाई भेटेर निस्केपछि म सिधै शंकर बाजपेयीलाई भेट्न इन्डिया हाउस गएँ । बेलायती शासकहरूले २० औं शताब्दीको सुरुतिर बनाएको यो भवन बेलायती शक्तिको प्रतीकजस्तो थियो, जहाँ भुटान र सिक्किम हेर्ने गरी सर क्लाउडे ह्वाइट सन् १९०४ मा पहिलो राजनीतिक अफिसरका रूपमा बसेका थिए । त्यहाँ पिउन बस्दा हामीले स्वतन्त्रता प्राप्तिपछिको सरकारले गरेका गल्तीहरू सच्याउन सक्छौं भन्ने थोरै अनुभव गर्‍यौं ।

मैले केवल सिंहबाट प्राप्त गरेको निर्देशन के थियो भन्नेबारे शंकर जान्न चाहन्थे । मैले सानो डायरीमा केही प्रमुख बुँदाहरू टिपेको थिएँ । यी कुनै पनि बुँदाहरूले अन्तिम उद्देश्यको संकेत दिएका थिएनन् । इन्दिरा गान्धीको विशेषता के थियो भने, साधारणतया उनी स्वयं कुनै राजनीतिक प्रतिबद्धतामा बाँधिन चाहन्नथिन् । उनको दृष्टिकोणसँग मिल्ने के निष्कर्ष निकाल्ने भन्ने काम उनी आफ्ना निकट सल्लाहकारलाई छाड्थिन् । (इन्दिराको) एउटा निर्देशनमा शंकर र म मुस्कुरायौं, ‘ सिक्किमेली जनताको आकांक्षाको हामीले समर्थन गर्नैपर्छ र चोग्याललाई उनीहरूको शोषण गर्न दिनु हुँदैन ।’

वास्तवमा भविष्यमा गरिने सबै योजना बनाउने मुख्य निर्देशन यही थियो र श्रीमती गान्धीको सोचाइसँग मिल्ने उत्तर पनि यसैले दिन्थ्यो । ‘विलय’ भन्ने शब्द कहीं कतै उल्लेख गरिएको थिएन । पर्दापछाडि बसेर हामीलाई नियन्त्रण गर्ने केवल सिंहले पनि यो शब्द कहिल्यै उच्चारण गरेनन् । तर शंकर र मलाई नभनिएका यी कुराहरू थाहा थियो । यसले हामीलाई एकताका लागि सक्षम बनायो र हामीले त्यही प्राप्त गर्‍यौं, जुन हामीले प्राप्त गर्नु थियो ।

बिस दासले लेखेको पुस्तक

चीन र पाकिस्तानको द्वैषपूर्ण हमला दिल्लीमाथि भयो । अमेरिकालगायत पश्चिमा देशहरूले पनि गम्भीर आलोचना गरे, जसले हामीमाथि ठूलो दबाब उत्पन्न गर्‍यो । रुसी महासंघले संयम अपनाउन आग्रह गरेको थियो, बाँकी सबैले भारत साम्राज्यवादी भएको भन्दै प्रहार गरेका थिए ।

सिक्किम सँग जोडिएको भुटान सिक्किम लाई मन पराउँदैनथ्यो । यो सब हुँदा ऊ चुपचाप थियो तर पनि उसलाई लागेको थियो कि भुटानलाई अलग पारिएको छ । ७५ प्रतिशत सिक्किम ेली नेपाली मूलका थिए तर नेपालचाहिं भारतको सबभन्दा ठूलो आलोचक थियो ।

तिब्बत हुँदै आएका चिनियाँहरू नाथुला सीमाको दायाँतर्फ तैनाथ थिए । नाथुला कुनै बेला भित्री तिब्बतमा बेलायती राजनीतिक र आर्थिक प्रभुत्व जमाउने मुख्य नाका थियो । ऐतिहासिक प्रमाणका आधारमा सिक्किम ले तिब्बतमा परेका दुई भूभागमाथि दाबी गरेको थियो ।

त्यो चीनले ओगटेको थियो । पूरै सिक्किम नै चिनियाँ साम्राज्यको एउटा भाग हो भन्ने चीनको दाबी थियो । सिक्किम सरकारको पतनपछि भारतको राजनीतिक उपस्थिति बढेकोप्रति चीनले चासो राखेको थियो । आफूप्रति अन्तर्राष्ट्रिय प्रतिक्रिया त्यति साह्रो आलोचनात्मक होला भनेर भारतले पहिले सोचेको थिएन ।

मुख्य मुद्दाहरू चाँडो सुल्भिmयोस् भन्ने भारत चाहन्थ्यो । जस्तो कि, एक व्यक्ति एक मतका आधारमा ताजा निर्वाचन । विपक्षीको यस्तो मागप्रति चोग्याल अति असहिष्णु थिए । ७५ प्रतिशत नेपाली मतदाता भएको ठाउँमा चुनाव भयो भने आफ्नो नेतृत्वको भुटिया शासनको अन्त्य हुन्छ र आफूले सबै शक्ति गुमाउँछु भन्ने उनलाई थाहा थियो ।

सिक्किम को अवस्था सामान्य बनाउन, कुनै खास घटनाबिनै यसको प्रशासन चलाउन, अदालतमाथि नियन्त्रण गरिराखेका चोग्याल समर्थकबाट कर्मचारीतन्त्रलाई छुट्कारा दिलाउन दिल्लीले मलाई निर्देशन दिएको थियो ।

चोग्यालकी अमेरिकी श्रीमती होप कुकको अमेरिकासँग निकट सम्बन्ध थियो, जसले एक सम्प्रभु र स्वतन्त्र देशकी रानीको दाबीलाई समर्थन गर्दै आएको थियो । प्रशासनलाई पुनः सामान्य अवस्थामा ल्याउन र सबै कार्यालयहरूलाई चुस्त बनाउन मलाई खासै समय लागेन । प्रहरीहरू ड्युटीमा फर्के । चोग्याल निर्वाचन गराउन राजी भए पनि एक व्यक्ति एक मतको कुरामा भने मैले उनलाई मनाउन सकिनँ ।

भारतीय प्रतिनिधिका रूपमा राजनीतिक अधिकारी र उनको प्रमुख कार्यकारीका हिसाबले हामीले बदलिएको यो समयमा सम्झौतामा आउन उनलाई सुझायौं । अन्ततः ८ मे १९७३ मा चोग्याल र काजी लेन्डुप दोर्जीबीच सम्झौता भयो । चोग्यालको वंश जारी राख्ने र अन्य सबै जातिलाई न्याय दिने भारतले सुनिश्चितता दियो । मैले काम थालेको एक महिनामा भएको यो सम्झौताले चोग्यालको भाग्य निर्धारण गर्‍यो ।

वरिष्ठ आईएएस अधिकारी आरएन सेन गुप्तालाई निर्वाचन आयुक्त बनाइयो । उनी र मेरा तीनजना डेपुटीहरू केएम लाल, डी मानवलन र जेएन सन्याल बसेर मतदाता सूची संशोधन गरे र निर्वाचनको मिति घोषणा भयो । कर्मचारीतन्त्रको शीर्षतहका अधिकांश चोग्यालका बफादार मानिस हुन् भन्ने थाहा पाएर पनि मैले तिनलाई नचलाउने निर्णय गरें ।

दरबारका मुख्य सबै खेलाडीलाई हटाउन दिल्लीको ठूलो दबाब थियो । मैले यो मुद्दालाई खासै ठूलो रूपमा लिइनँ र केवललाई आश्वस्त बनाए कि ती सबैलाई म सफलतापूर्वक सम्हाल्न सक्छु । सिक्किम ेलीको मनोविज्ञान बुझेकोले मैले त्यसो भन्न सकेको थिएँ । मैले चोग्यालका सुरक्षा प्रमुख कर्मा तोप्देनलाई समेत जोगाइदिएँ र उनलाई कोलकाताको सिक्किम टे्रडिङ कर्पोरेसनमा पठाइदिएँ । पछि उनी मंगोलियाका लागि भारतीय राजदूतसम्म भए ।

८ मेको सम्झौता लागू भएपछि र धेरै कुराहरू व्यवस्थित गर्न थालेपछि अन्तर्राष्ट्रिय आलोचना मत्थर भएर गयो । रानी भएर बस्ने महत्त्वाकांक्षा पालेकी होप कुकले पनि महसुस गरिन् कि उनी चोग्यालकी श्रीमतीभन्दा बढी केही थिइनन् । उनले सिक्किम छोड्ने निर्णय गरिन् । चोग्यालले यस्तो कठिन समयमा उनको साथ आवश्यक भएको भन्दै उनलाई मनाउन खोजे, तर उनले मानिनन् । १४ अगस्त १९७३ मा उनी गइन् । उनका अन्तिम शब्दहरू थिए, ‘मिस्टर दास, कृपया मेरो श्रीमान्को हेरविचार गरिदिनुहोस् । निर्वाह गर्न मसँग अब कुनै भूमिका छैन ।’

होप कुक धेरैका लागि एउटा पहेली थिइन् । केही उनलाई सीआईए एजेन्ट भन्थे । सत्य के थियो कसैलाई थाहा थिएन । तर चोग्यालको भारतविरोधी छवि निर्माण गर्नमा उनी प्रमुख थिइन् । उनले स्कुलका पाठ्यपुस्तक परिवर्तन गरी कथा र कार्टुनका माध्यमबाट भारतविरोधी रूप देखाइन् । केही ब्युरोक्र्याट्स र युवाहरूलाई संगठित गरिन् । तिनले विदेशबाट आउनेहरूलाई सम्पर्क गर्थे र सिक्किम स्वतन्त्र देश हो र भारतले यसको परिचय समाप्त पारिरहेको छ भनेर प्रचार गर्थे । उनी विदेशीहरूसँग भारतको मजाक उडाउँथिन् । उनी भारतविरोधी तत्त्वहरूको सम्पर्कमा थिइन् भनेर आशंका गरिएको थियो ।

नरम मिजासकी शाही दुलही र रिसका बेला जसलाई पनि जे पनि भन्न सक्ने उनको दुइटा रूप थिए । चोग्यालको धेरै पिउने बानीले उनलाई क्रुद्ध बनाउँथ्यो र ती दुईको झगडा परिवार र नजिकका साथीभाइका लागि नौलो थिएन । तर भारतले सिक्किम माथि हस्तक्षेप गरेर लिएपछि उनले लडाइँ हारेको अनुभव गरिन् र बुद्धिमत्तापूर्वक सिक्किम छाडिन् ।

एक व्यक्ति एक मतको सिद्धान्तमा आधारित भएर ताजा निर्वाचनको तयारी सुरु भयो । यही कुरालाई ध्यानमा राखेर मतदाता नामावली फाइनल भयो । चुनावअघि चोग्याल दक्षिण सिक्किम को भ्रमणमा जान चाहेका थिए, जहाँ नेपाली मूलका बासिन्दाको बाहुल्य थियो । त्यो क्षेत्रको वातावरण उनका लागि बडो प्रतिकूल थियो र मैले उनलाई यस्तो भ्रमणमा नजान सुझाएको थिएँ । तर उनले मानेनन् । उनले मलाई पनि सँगै लैजान चाहे । उनी देखाउन चाहन्थे कि शासक उनी हुन् र म दिल्लीको प्रतीक हुँ, उनको प्रमुख कार्यकारी, जो उनको अधीनमा छ ।

गुम्बाहरूको प्रमुखसमेत भएका नाताले उनले त्यो क्षेत्रका गुम्बाहरूबाट भ्रमण सुरु गरे । पहिलेका भ्रमणहरूमा लामाहरू सडकमा उनको स्वागतार्थ लाइन लागेर उभिएका हुन्थे । यसपटक ती अनुपस्थित थिए । छुट्टै पूजाको समारोह आयोजना गर्दा उनले थाहा पाए कि गुम्बामै उनले पकड गुमाइसकेका छन् ।

यो ठूलो झट्का थियो । तर यसभन्दा पनि खराब त अझै हुन बाँकी थियो । उनले आफूविरुद्ध अपमानजनक नाराहरू सुने, आफ्ना तस्बिरमा जुत्ताका माला लगाइदिएका देखे र भीडले आफूलाई धम्क्याएको सुने । एउटा शासकका रूपमा उनले आफ्नो चमक गुमाएका थिए । उनका आँखामा आँसु भरियो । मेरो हात समातेर उनले भने, ‘आफ्ना जनताका लागि मैले धेरै गरें र अहिले यसरी मेरो अपमान गरिँदै छ । किन ?’

मसँग जवाफ थिएन । कुल जनसंख्याको जम्मा १४ प्रतिशत भुटियाहरू थिए । तर कृत्रिम तरिकाले बनाइएको समानुपातिक प्रतिनिधित्वको आडमा शक्तिको दुरुपयोग भएको थियो । म आफैंले गहिरो दुःख अनुभव गरें । शान्ति र कल्पनातीत सुन्दरताले भरिपूर्ण एउटा सानो हिमाली अधिराज्य षड्यन्त्र र शोषणको केन्द्र बनेको थियो ।

कुनै पनि हिंसा अथवा समस्याबिना निर्वाचन सम्पन्न भयो । चोग्यालले समर्थन गरेको नेसनलिस्ट पार्टीले ३२ मध्ये जम्मा एक सिट जित्यो । यो पार्टीमा अधिकांश भुटियाहरूमात्र थिए । नवगठित संसद्का सदस्यलाई शपथग्रहणका लागि भनियो । उनीहरूले चोग्यालको नाममा शपथ खान अस्वीकार गरे । त्यसैले चोग्यालका ठाउँमा ‘भगवान्’ को नाम राखियो । त्यसपछि उनीहरूले चोग्यालले संसद्मा सम्बोधन गर्ने चलनलाई पनि मानेनन् । धेरै मनाएपछि उनीहरू चोग्यालको उद्घाटन भाषण मलाई पढ्न दिन राजी भए । त्यो भाषणमा चोग्यालले सिक्किम को अलग राजनीतिक र सांस्कृतिक परिचयको व्याख्या गरेका थिए ।

८ मेको सम्झौताका आधारमा बनेको नयाँ संविधानअनुसार मैले सभामुखको नाताले संसद्को अध्यक्षतामात्र गर्नुपरेको थिएन, सिक्किम को मन्त्रिपरिषद्को अध्यक्षता पनि मैले नै गर्नुपरेको थियो । त्यो परिषद्को नेतृत्व काजी लेन्डुप दोर्जीले गरेका थिए, तर नयाँ व्यवस्थाअनुसार मुख्यमन्त्री पदको व्यवस्था गरिएको थिएन । त्यसो हुनाले मुख्यमन्त्रीको भूमिकामा पनि म नै थिएँ ।

नयाँ व्यवस्थाका निम्ति मस्यौदा गरिएको अन्तरिम संविधान एकदमै विरोधाभासपूर्ण थियो । म मन्त्रिपरिषद्को अध्यक्ष थिएँ, सभामुख थिएँ र कार्यकारी प्रमुखसमेत थिएँ । मैले चाहेमा सभासदलाई फिर्ता बोलाउन पनि सक्थें । चाँडै सिक्किम कंग्रेसका केही नेताहरूले नवनिर्वाचित राष्ट्रिय संसद्का लागि मुख्यमन्त्री र सभामुखको पद चाहियो भनेर कानेखुसी गर्न थाले ।

चोग्याल समर्थक भन्न थालेका थिए कि प्रधानमन्त्रीको पद नराखे सिक्किम को अलग पहिचान हराउँछ । चोग्यालविरोधी आन्दोलन सुरु हुनुअघि चोग्यालले शिडलोन (प्रधानमन्त्रीजस्तै) नियुक्त गरेका थिए । वरिष्ठ आईएफएस अधिकारी आईएस चोपडाले यो पद लिएका थिए तर उनी अन्तिमसम्म बस्न सकेनन् ।

दिल्लीले पनि उनलाई शिडलोनका रूपमा मान्यता दिन अस्वीकार गर्‍यो । पहिलो चरणमा हारेकाले चोग्यालले नयाँ सरकारमा शक्ति र पद चाहनेहरूलाई भड्काउन सक्थे । यता मलाई पनि काजी लेन्डुप दोर्जीको प्रमुख भएर मन्त्रिपरिषद् अध्यक्ष बन्न अप्ठ्यारो लागिरहेथ्यो । सरकारका वास्तविक नेता दोर्जी थिए ।

त्यतिबेलै काजी लेन्डुप दोर्जीले भारतसँग सन् १९४७ देखि मागिएको ‘घनिष्ठ राजनीतिक र आर्थिक गठजोड’ बिना अहिले उनको पार्टीले प्राप्त गरेको उपलब्धि गुमाउन सकिन्छ भन्ने महसुस गरे । काजी आशंकित थिए र साँच्चै सही पनि थिए । चोग्याल र नेसनलिस्ट पार्टीले सिक्किम को शासनमा साँच्चिकै कठिन समस्याहरू सिर्जना गरे । त्यसपछि काजी र उनका वरिष्ठ अधिकारीहरूले भारतसँग गठजोडका लागि प्रस्ताव गरे । त्यसमा भारतीय राज्यले पाउने अधिकार र सेवा पाउनुपर्ने उल्लेख थियो ।

भारत सरकारले सन् १९४७ मा भएको गल्ती सुधार्दै यो लिखित अनुरोधलाई स्वीकार गर्‍यो । भारतलाई यस्तो प्रस्ताव गर्नुअघि संसद्बाट संकल्प पास गर्नुपर्ने प्रावधान राखिएको थियो । यो संकल्प सिक्किम एकीकरणको दिशामा इन्दिरा गान्धीको संकल्पको एक कदम थियो ।

चोग्यालले यसको निहितार्थ बुझे । उनले यस विषयमा मसँग छलफल गरे । जब म उनको प्रमुख कार्यकारी थिएँ, सरकार प्रमुख र सभामुख पनि थिएँ, त्यसैले उनले यसको विरोधको साधन मलाई बनाउन चाहेका थिए । उनले यस्तो प्रस्तावको वैधतामाथि प्रश्न उठाउन प्रमुख व्यक्तिहरू र महिला वकिल मित्रसँग परामर्श गर्दै थिए ।

मैले उनलाई उनको विरोधको अर्थ के हुन्छ भन्नेबारे स्पष्टसँग बताइदिएँ । एक स्वतन्त्र राज्यको रूपमा सिक्किम को कुनै कानुनी हैसियत थिएन । मैले उनलाई यो सम्झना गराइदिएँ कि उनी भारतका अरू राजा-रजौटाहरूकै समान हैसियतमा थिए, भारतीय सेनाका मानार्थ मेजर जनरल थिए र उनी सदैव बृहत् भारतीय राजनीतिक प्रणालीका अंग थिए । साथै एक व्यक्ति एक मतका आधारमा चुनिएको राष्ट्रिय संसद्लाई यसप्रकारको संकल्प पारित गर्ने अधिकार हुन्छ । मैले उनलाई आफ्नै हैसियतप्रति पनि सावधान बनाएँ । ८ मेको सम्झौताले उनलाई संवैधानिक प्रमुख बनाएको थियो र भारतले उनका वंशजलाई पनि यो हैसियत दिने आश्वस्त पारेको थियो ।

मैले उनलाई यो पद जोगाइराख्न पनि सुझाएँ । किनभने सिक्किम एक स्वतन्त्र देश कहिल्यै बन्न सक्दैन, किनभने बेलायती पालामा समेत यो भारतद्वारा संरक्षित थियो । सिक्किम को आफ्नै हितका लागि, यसको शान्ति र समृद्धिका लागि सिक्किम कंग्रेसले माग गरेअनुसारको भारतसँगको निकट सम्बन्ध नै सही उपाय हो ।

सिक्किमको सांस्कृतिक परिचयको सधैं संरक्षण गरिनेछ र चोग्याल वंशको पनि । उनले मेरो कुरा सुने तर कुनै प्रतिक्रिया दिएनन् । तर जब उनले १९७४ जुलाईमा सिक्किमको भारतीय प्रणालीभित्र रहेर भारतसँगको निकट राजनीतिक र आर्थिक सम्बन्धको महत्त्व बुझेर सहयोगका लागि मलाई भेटे, त्यतिबेला निकै ढिला भइसकेको थियो ।

संसद्मा एकजनाको विरोधबाहेक सजिलै संकल्प प्रस्ताव पारित भयो । सिक्किम भारतको एउटा सहयोगी राज्य बन्यो । काजी लेन्डुप दोर्जी मुख्यमन्त्री बने । सभामुख पनि नियुक्त गरिए । अन्ततः १९७५ मा सिक्किम भारतमा विलय भएपछि मेरो पदलाई पुनःसंरचना गरी गभर्नर बनाइयो । मेरा उत्तराधिकारीका रूपमा आएका बीबी लाल त्यहाँका गभर्नर बने ।

सुरुमा सहयोगी राज्य बनेर पछि भारतमा सिक्किम को विलय हुनु चोग्यालले सन् १९७५ मा नेपाल गएका बेला लिएको गलत सल्लाहको परिणाम हो । नेपालका राजाको राज्याभिषेकमा भाग लिन गएका बेला उनले चिनियाँहरूलाई भेटेका र त्यतिबेला गरेका केही गम्भीर राजनीतिक टिप्पणीले ग्यान्टोकको सरकार र भारत दुवैसँग उनको असमझदारी बढायो । त्यसैले सिक्किम कंग्रेसले चोग्याल हटाउन र भारतमा गाभिन माग गर्‍यो । यसका लागि जनमतसंग्रह गरियो र त्यसमा निकै अन्तरले हारेपछि चोग्याल अन्तिमपटक पराजित भए, आफ्नै अधिराज्य गुमाए ।

थोन्डुप नामग्याल (चोग्याल) धेरै हिसाबले अद्वितीय व्यक्तित्व थिए । सिक्किम को अलग पहिचान रहेको देखाउन उनी कहिल्यै हिच्किचाएनन् । आफ्नो राज्य गुमाउने प्रतिकूल अवस्थामा पनि उनले आफ्नो मर्यादाविपरीत कुनै सम्झौता गरेनन् । दूरदृष्टि नभएका भनेर उनलाई भन्न सकिन्छ तर एक अलग देशका रूपमा सिक्किम को आफ्नो संकल्पलाई उनले कहिल्यै डगमगाउन दिएनन् । एकपटकचाहिँ उनले आफ्नो हार स्वीकार गरे र आत्महत्या प्रयाससमेत गरे ।

उनले आफ्ना उत्तराधिकारी, जेठा छोरालाई दुर्घटनामा गुमाए । होप कुक उनलाई छाडेर दुई सन्तान लिई अमेरिका फर्किसकेकी थिइन् । यो सबै सहन निकै गाह्रो थियो । बम्बईमा १९७९ मा उनी मलाई भेट्न आएका थिए । भने, ‘मिस्टर दास, मैले तपाईंको सल्लाह सुनेको भए हुने रहेछ ।’ उनी उपचारका लागि अमेरिका गएका थिए, कहिल्यै फर्केनन् । क्यान्सरले बिते ।

सिक्किम को कथा तीनजना महिला इन्दिरा गान्धी, होप कुक र काजी लेन्डुप दोर्जीकी बेल्जियन श्रीमतीको प्रतिष्ठाको लडाइँसँग पनि जोडिएको छ । प्रधानमन्त्रीकी श्रीमती हुन् उनले काजीसँग बिहे गरेकी थिइन् । काजी फगत् मोहरामात्र थिए, उनलाई आफ्नो महत्त्वाकांक्षाका लागि प्रयोग गर्ने कजिनी नै थिइन् । काजीलाई भेट्नुअघि उनी टर्कीका कमाल अतातुर्क र चीनका चाउ एनलाईसँग पनि नजिक थिइन् भनेर उनी आफैं सुनाउँथिन् । उनले नेपाली नरबहादुर (खतिवडा) लाई छोरा बनाएर आन्दोलनमा उतारेकी थिइन् । चोग्याल र होप कुक यिनलाई घृणा गर्थे ।

अमेरिकी र बेल्जियन महिलाहरूले विध्वंसात्मक भूमिका निर्वाह गरे । सिक्किम ेली राजनीतिका मुख्य खेलाडी चोग्याल र काजीलाई आफ्नो महत्त्वाकांक्षाका लागि आफूअनुकूल प्रयोग गरे । सिक्किम को पहिचान कायमै राख्ने भन्ने ठूलो मुद्दालाई प्रजातान्त्रिक प्रक्रियाबाट सानो बनाउँदै जानुपर्नेमा उनीहरूका गलत कामका कारण आफ्नै संरक्षकको पतन निम्त्याए । यो जसरी भयो, त्यो दुःखद कुरा हो । ८ मेको सम्झौता भारतसँग सिक्किम को विलयको दिगो प्रक्रिया हुन सक्थ्यो । खासमा हामीले सिक्किम भारतमा त्यसरी नै मिलाउन चाहेका थियौं, जसरी अरू राज्यलाई मिलाइएको थियो ।

सिक्किम को नयाँ परिचयको योजनाकार इन्दिरा गान्धी थिइन् । अति भावुक हुनाका बाबजुद उनले निर्णय प्रक्रियामा कुनै भावुकता देखाइनन् । आफ्नो लक्ष्य प्राप्तिका लागि उनी निर्दयी बन्न सक्थिन् । उनीजस्तो अर्को कोही हुन सक्दैन ।

सिक्किम भारतको भाग हो भन्ने स्वीकार गरी चीनले नाथुलामा भारत-चीनको व्यापार नाका खुला गर्नु पनि भारतले चालेको कदमको परिणाम नै हो । भुटानलाई उसको संयुक्त राष्ट्रसंघीय सदस्यता ‘स्पोन्सर’ गर्न इन्दिरा गान्धी आफैं गइन् । चीनले भुटान र सिक्किम लाई आफ्नो हातका दुई औंला भनेर देखाइरहेका बेला ती दुवैले चीनको आधिपत्य-दाबीबाट छुट्कारा पाए । यो मेरो सौभाग्य हो कि यो दुवै मुद्दामा मैले मुख्य भूमिका निर्वाह गर्न पाएँ ।

नेपाल, भुटान र सिक्किम को हिमालय शृंखला भारतीय सुरक्षाका बाह्य परिधि हुन् भन्ने मान्यता त्यसैकारण स्थापित भयो, जसलाई चीनलगायत विश्व समुदायले मान्यता दिएको छ ।

(केभी राजनले सम्पादन गरेको प्रकाशित पुस्तक ‘दी एम्बासडर्स क्लबः दी इन्डियन डिप्लोम्याट एट लार्ज’ मा दासले आफ्नो सिक्किम अनुभव लेखेका छन् । त्यसको अनुवादित अंश )

प्रतिक्रिया दिनुहोस्