बजारमा भन्दा संस्थानको चामल महँगो भएपछि बिकेन


१८ कार्तिक २०७५, आईतवार
chamal
सांकेतिक तस्वीर

धनगढी, १८ कातिक । खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो ।

chamal

सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात रहेको कार्यालयका कर्मचारी परे रावलले जानकारी दिए । ‘बजारमा सस्तोमा चामल पाउँदा संस्थानको चामल बिक्री हुन सकेको छैन’, उनले भने ।

बजारमा मोटो चामल प्रतिकिलो रु ३८ मा बिक्री भइरहेको छ भने संस्थानले रु ३९ तोकेको छ । संस्थानले सोना मन्सुली चामल प्रतिकिलो रु ४८ तथा जिरा मसिनो चामल रु ६२ बिक्री गरिरहेको छ ।

बंगलादेशी चामल बिक्री भएन

विसं २०७२ मा गएको भूकम्पपछि पीडितको सहयोगका लागि भन्दै बङ्गलादेश सरकारले नेपाललाई उपलब्ध गराएको बङ्गलादेशी उसिना चामल बिक्री हुन सकेको छैन ।

झापाको बिर्तामोडस्थित खाद्य संस्थानको कार्यालयबाट उक्त चामल धनगढीको खाद्य संस्थान हुँदै बाजुरामा आपूर्ति गरिएको थियो । बिक्री हुन नसक्दा कोल्टी डिपोमा सो चामल एक हजार क्विन्टल मौज्दात रहेको डिपोका प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए ।

‘बङ्गलादेशी चामल बिक्री हुन नसक्दा तीन वर्षमा तीन पटक बिक्री मूल्य घटाउनु परेको छ’, उनले भने । शुरुवातमा उक्त चामलको मूल्य प्रतिकिलो रु ४१, त्यसपछि रु ३९ तोकिएकामा हाल बिक्री मूल्य रु ३२ तोकिएको छ ।

यसैबीच नेपाल खाद्य संस्थान धनगढीले यस वर्ष नयाँ धान खरीदको व्यवस्था नगर्दा धानको उचित मूल्य पाउन नसकेको किसानले गुनासो गरेका छन् । संस्थानले धान खरीदको व्यवस्था गर्न सक्दा व्यापारीको मूल्यमा एकाधिकार रहेका कारण समस्यामा परेको किसानले बताएका छन् ।

खाद्य संस्थान धनगढी कार्यालयका प्रमुख प्रेमनारायण भण्डारीले नयाँ धान खरीदको व्यवस्था यथाशीघ्र गर्नका लागि संस्थानको केन्द्रीय कार्यालयसँग निरन्तर समन्वय भइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७