अब काठमाडौंबाटै कतारको भिसा, कागजात पेस गरेको २४ घण्टामै भिसा


२१ कार्तिक २०७५, बुधबार
qatar 1

काठमाडौं, २१ कातिक । कतार धेरै नेपाली श्रमिकको गन्तव्य देश हो । तर, रोजागारीका लागि कतार जान पनि कम झण्झट व्यहोर्नु परिरहेको छैन युवाले ।

qatar 1

तर अब कतार जानका लागि हुने गरेको झण्झट विस्तारै हट्ने भएको छ । नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ ।

कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको योजनाको एक हिस्सा अन्तर्गत काठमाडौंमा भिसा सेन्टर खोल्न लागिएको काठमाडौंस्थित कतारी राजदूतावासले जानकारी दिएको छ ।

कतार सरकारले आफूले कामदार ल्याउने आठ वटा मुलुकमा २० वटा भिसा सेन्टर खोल्न लागेको छ । काठमाडौंबाटै भिसा प्रक्रिया हुने भएपछि आजाद भिसाका नाममा हुने ठगी रोकिने, भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाटै हुने, भिसा प्रक्रियामा बिचौलियाको भूमिका नहुने दूतावासले जनाएको छ । त्यसैगरी, पारिवारिक भिसाको कागजात प्रमाणीकरण पनि काठमाडौंबाटै हुने दूतावासको भनाइ छ ।

आवश्यक कागजात पेस गरेको २४ घण्टाभित्रै भिसा उपलब्ध हुने दूतावासले जनाएको छ । नियुक्तिका क्रममा कामदारबाट शुल्क असुल्ने परिपाटी रोक्न यो कदम चालेको कतार सरकारको भनाइ छ ।

आप्रवासी कामदारसँग नियुक्तिका सिलसिलामा कुनै शुल्क लिन नहुने अन्तर्राष्ट्रिय श्रम संगठनको नियममा आफ्नो मुलुक प्रतिबद्ध रहेको कतारको भनाइ छ ।

कतारमा काम गर्न जाने आप्रवासीको भिसा शुल्क, हवाई टिकट लगायतसबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने नियम रहे पनि कामदारसँग स्रोत मुलुकका बिचौलियाले शुल्क असुलिरहेको र त्यसलाई रोक्न भिसा सेन्टर प्रभावकारी हुने नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले बताएका छन् । ‘भिसा सेन्टर खुलेपछि कामदारलाई निकै सजिलो हुन्छ,’ उनले भने ।

भिसा सेन्टर खुले पनि भिसा भने कतारबाटै जारी हुनेछ । भिसासम्बन्धी सबै प्रक्रिया काठमाडौंबाट हुन्छ । काठमाडौंमा भिसा सेन्टर खोल्ने तयारीका लागि आएको कतारी प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र सरोकारवाला निकायसँग समेत भेट गरेको छ । मन्त्री विष्टले भिसा सेन्टर खोल्नुअघि दुई देशबीच श्रम समझदारीको पुनरावलोकन गर्नुपर्नेमा जोड दिएको मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७