सशस्त्र प्रहरी परिवार महिला संघको देउसी, गणदेखि गुल्मपतिलाई रकम बुझाउन आइजीपीको उर्दी


२२ कार्तिक २०७५, बिहीबार
apf deusi

काठमाडौं, २२ कात्तिक । सशस्त्र प्रहरी बलको मुख्यालयमा मंगलबार कुकुर तिहारका दिन देउसीभैली कार्यक्रम गरिएको थियो । सशस्त्र प्रहरी परिवार महिला संघको ब्यानरमा गरिएको उक्त दिनको देउसी भैली कार्यक्रम रमाइलोका लागि र स्वेच्छिक रुपमा दान दिने उद्देश्यले गरिएको नभई जबर्जस्ती असुलीका लागि गरिएको सन्देश गएको छ ।

apf deusi

पदको आडमा रकम उठाउन गरिएको थियो भन्ने कुरा रकम तोकेर दिन उर्दी जारी गरिएकाले पुष्टी गरेको छ । स्रोतका अनुसार आइजीपी शैलेन्द्र खनालले पत्नी अध्यक्ष रहेको सशस्त्र परिवार महिला संघको देउसीभैलीका लागि हरेक गुल्म र गणलाई रकम तोकेर दिन उर्दी जारी गरेका छन् । गणलाई ३० हजार र गुल्मलाई १५ हजार रुपैयाँ दिन उर्दी जारी गरिएको थियो ।
त्यसैगरी डीआइजी र एआइजीलाई १० हजारका दरले अनिवार्य दिनुपर्ने दर तोकिएको थियो । एसपी एसएसपीहरुलाई कम्तीमा ५ हजार सबैले दिनुपर्ने बाध्यात्मक निर्देशन आइजीपी खनालले जारी गरेका थिए । देउसीभैलीमा हेडक्वाटर र बाहिर गण गुल्मपतिहरु पनि उपस्थित थिए । यसरी अनिवार्य रकम तोक्नु भनेको एक किसिमको चन्दा नै हो । देउसीभैली त इच्छा अनुसार दान गर्ने हो, गण र गुल्मका प्रमुखले त्यो रकम सिपाहीको रासनमा घोटाला नगरी दिन नसक्ने स्रोत बताउँछ ।

apf dusi 1


गण र गुल्ममा सिपाहीको रासनमा अनियमितता नगरी हाकिमका श्रीमतीहरुको देउसीभैलीलाई कसरी पैसा दिन सक्छन् ? सशस्त्रका आइजीपीले हाकिमका श्रीमतीहरुको क्लवलाई सिपाहीको गाँस काटेर भने पनि चन्दा देऊ भनेको अर्थमा लिइएको छ ।
सशस्त्र प्रहरी बल गृहमन्त्रालयको एउटा विभाग हो, सशस्त्रका हाकिमका श्रीमतीहरुको महिला संघ गैरसरकारी संस्था हो, गैरसरकारी संस्थाले अनुमति नलिई चन्दा उठाउन पाउँछ ? यसरी रकम तोकेर हाकिमका श्रीमतीको क्लवलाई चन्दा माग्दा प्रमुख जिल्ला अधिकारीको अनुमति लिने कानुन छ । तर त्यो कानुनको बर्खिलाप चन्दा उठाउने काम सशस्त्र प्रहरी बलकै परिसरमा भएको छ । र, महानिरीक्षक शैलेन्द्र खनालकै नै यस्तो काम गरेका छन् ।

‘सशस्त्र प्रहरी बलकै परिसरमा गैरसरकारी संस्थाको देउसीभैलीमा सबै अधिकृतलाई अनिवार्य उपस्थित हुन र यति रकम अनिवार्य हाल्नुपर्ने र देशभरका गुल्म र गणपतिले सिपाहीको रासनमा घोटाला गरेर भए पनि बुझाउनुपर्ने भन्नु मनोरन्जन हो कि ? देउसीभैलीका बहानामा असुली हो ?’ सशस्त्रभित्रै यो प्रश्न उठेको छ । आइजीपीको श्रीमती अध्यक्ष भएको महिला संघलाई उनले भनेअनुसार नदिए भोलि सरुवा बढुवामा असर पर्ने भएकाले आफ्ना सन्तानको खुसी खोसेर भए पनि हाकिमहरु दिन बाध्य छन् ।
देउसी भैली खेल्नुलाई संस्कृति जोगाउनका लागि सामान्य रुपमा लिन सकिन्छ । देउसी भैली कार्यक्रममा उठेको रकम विपन्न परिवारका बालबालिकाहरुको शिक्षा दिक्षामा खर्च गरिने कुरा सो अवसरमा जानकारी गराइएको थियो । यो उद्देश्य राम्रो हो । तर स्वेच्छिक हुनुपर्छ । बाध्यता पारिनुहुन्न । यसरी उठाइएको रकम विगतमा कति उद्देश्यअनुसार खर्च गरियो र कति मोजमस्तीमा दुरुपयोग गरेको छ भन्ने कुरा पारदर्शी गराएको पाइँदैन । त्यसकारण यो बर्ष उठाइएको रकम सदुपयोग हुने कुरामा आशंका उत्तिकै छ ।

देउसीभैलीमा सशस्त्र प्रहरी महिला संघका अध्यक्ष सरिता कँडेल खनालले उनका श्रीमान आइजीपी शैलेन्द्र खनाललाई माला लगाएको र उनले श्रीमतीलाई माला लगाइदिएको दृश्य पनि धेरैले पचाएका थिएनन् । यसअघिका सिंहबहादुर श्रेष्ठ र आइजीपी दुर्जकुमार राईले महिला संघका नाममा संगठनमा चन्दा लाद्ने काम गरेका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७