कांग्रेस नेता ओलीको फ्यान, भन्छन् ‘उहाँसँग देश समृद्ध बनाउने स्पष्ट भिजन छ’


२२ कार्तिक २०७५, बिहीबार
oli gurung

काठमाडौं, २२ कात्तिक । प्रतिपक्षी दल नेपाली कांग्रेसका अधिकांश नेताहरु सत्तारुढ दल र सो दलबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गरिरहेका हुन्छन् ।

oli gurung

तर, सोही प्रतिपक्षी दल कांग्रेसका एक नेता टेकबहादुर गुरुङ्ग भने प्रधानमन्त्री ओलीका फ्यान देखिएका छन् । प्रधानमन्त्री ओलीको फ्यान मात्र नभई उनको कामबाट प्रभावित समेत छन् । पूर्वमन्त्री समेत रहेका टेकबहादुर गुरुङ आफू प्रधानमन्त्री केपी शर्मा ओली ठूलो फ्यान भएको खुलमखुल्ला बताउन पछि पर्दैनन् ।

‘उहाँ मेरो फ्यान हो । म पनि ओलीको फ्यान हुँ । अहिले ओली सरकारको विरोध गर्नुको कुनै औचित्य छैन’, गुरूङले थप्छन्, ‘कांग्रेसले पनि अहिले विरोध गर्न ुहुँदैन । यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न दिनुपर्छ ।’

बुधबार राति रिपोर्टर्स क्लब नेपालले गरेको देउसी भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

‘ओलीजीसँग स्पष्ट भीजन छ । विकास र समृद्धिको खाका उहाँसँग छ । उहाँले रेल र पानीजहाज दुवै चलाउनु हुन्छ । उहाँले गरेको कामको म उच्च मूल्याङ्कन गर्छु’, प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिएका उनले भने, ’विकास र समृद्धितर्फ मुलुक अघि बढ्नुपर्छ । र, भ्रष्टाचार अन्त्य हुनुपर्छ, यसमा ओली सफल हुनुपर्छ ।’

त्यस्तै उनले वर्तमान श्रममन्त्री गोकर्ण विष्टले पनि राम्रो काम गरेको भन्दै प्रशंसा गरे । वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्री विष्टले व्यवस्थित् गर्ने काम गरेको भन्दै उनले खुलेर प्रशंसा गरे । ’मैले सुरु गरेका कतिपय कामहरु पूरा भएका थिएनन्’, गुरूङले भने, ‘तर, उहाँले गरेर देखाउनुभयो । मैलेभन्दा राम्रो काम उहाँले गर्नुभयो ।’

कांग्रेस पार्टी अब एक भएर अघि बढ्ने उनले विश्वास दिलाए । ’अब अनेकता पनि एकतामा परिणत हुन्छ । गुट उपगुट अन्त्य हुन्छ ’, उनले भने, ’सभापति देउवाजी र बरिष्ठ नेता पौडेलजीबीच अब कुरा मिल्छ । यसमा कुनै शंका छैन । मुलुक समृद्धितर्फ बढिरहेको छ । अब हाम्रो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७