सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट गुणस्तरहीन ड्राई फुड्स जफत


२३ कार्तिक २०७५, शुक्रबार
jafat

काठमाडौं, २३ कातिक । सरकारले ललितपुरको सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राई फुड्स जफ्त गरेको छ ।

jafat

तिहारमा अति आवश्यक खाद्य बस्तुको बिक्री केन्द्रको अनुगमनको कामलाई तीव्रता दिएको सरकारी टोलीले बिहिबार अनुगमनको क्रममा म्याद नाघेको भेटिएपछि सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ५२ केजी ड्राई फुड्स जफ्त गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेतृत्वको अनुगमन टोलीले मिठाईमा प्रयोग गर्ने फ्लेबर वाटर पनि गुणस्तरहिन भएको पाइएपछि जफ्त गरेको छ ।

म्याद नाघेको, उत्पादक कम्पनीको नाम समेत उल्लेख नगरिएको चाइनिज ब्रान्डका ड्राई फ्डस सो स्टोरमा भेटिएकाले जफ्त गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए ।

त्यस अवसरमा विभागले सो डिपार्टमेन्ट स्टोर परिसरमा संचालित खाद्य बस्तु बिक्री केन्द्रमा प्रयोग गरिएको गुणस्तरहिन तेल पनि नष्ट गरेको छ ।

सरकारले उपभोक्ताको हितलाई ध्यानमा राखेर तिहारको बेलामा पनि बजार अनुगमनको कामलाई तीव्रता दिएको हो ।

खाद्य बस्तु बिक्री वितरण अत्याधिक हुने भएकाले आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर सार्वजनिक विदाको दिन पनि बजार अनुगमनको कामलाई तीव्रता दिने कामलाई निरन्तरता दिइएको पनि खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताए । उनले उपभोक्तामाथि खेलबाड गर्ने उत्पादकमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।

बुधबार गुणस्तरहिन पाइएको भन्दै सरकारी अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको दुधजन्य बस्तु बिक्री वितरणमा रोक लगाएको थियो ।

खाद्य स्वच्छता अभियान अन्तरगत सरकारले चालू आर्थिक वर्षमा अत्याधिक बढि प्रयोगमा आउने खाद्य बस्तुहरु दुध, तेल, पानी, तरकारी बजारको अनुगमनको कामलाई जोड दिने वार्षिक नीति तथा कार्यक्रम नै घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७