केबुलकारबाट प्रभावित क्षेत्रका बासिन्दालाई शेयर


२४ कार्तिक २०७५, शनिबार
kebulkar 1

पर्वत, २४ कात्तिक । पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ ।

kebulkar 1

पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन लिमिटेडले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो ।

प्रदेश नं ४ कै उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुन लागेको केबुलकारमा स्थानीयवासीले तीन अर्ब शेयर अधिकार पाउने भएका छन् ।

घाँटीछिनाबाट पञ्चासेसम्मको केबुलकारको दूरी झण्डै ८.५ किलोमिटर हुने भएको छ । जसको लागत रु १० अर्ब अनुमान गरिएकोमा ३० प्रतिशत स्थानीयवासीले शेयर हाल्न पाउने भएका छन् ।

पञ्चासेको प्रभावित क्षेत्र पर्वतको मोदी गाउँपलिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले शेयर अधिकार पाउने भएका हुन् ।

अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् ।

त्यस्तैगरी पर्वततर्फबाट चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ ।

पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नका लागि केबुलकार निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

केबुलकार निर्माणका लागि विस्तृत सर्वेक्षणको काम भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । निर्माण कम्पनीले दिएको जानकारीअनुसार पञ्चासेसम्म पुग्ने केबुलकार आगामी चार वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष शर्माले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७